परिणाम दिने गरी काम गर्नुस् : मन्त्री पुन « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

परिणाम दिने गरी काम गर्नुस् : मन्त्री पुन


१६ श्रावण २०७६, बिहिबार


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले कार्यसम्पादन सम्झौताको शुरुआत गरेर नयाँ कार्यशैली अपनाएको बताएका छन् । उनले जनताको अपेक्षालाई पूरा गर्न आफू पनि अहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिएका छन् ।

तेस्रो चौमासिक एवं वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा आज मन्त्री पुनले परिणाम आउने गरी काम नगरे कसैसँग पनि सम्झौता नगर्ने चेतावनी दिए ।

उनले प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै सरकारले अघि सारेको योजनालाई मनभित्रैबाट पूरा गर्न निर्देशन दिए । ‘अब प्रक्रिया मात्र भनेर हुँदैन, तपाईहरुले तालिका बनाएर नै काम गर्नुपर्‍यो । सरकारले अघि सारेको कामलाई सफल पार्नु हामी सबैको दायित्व हो’, मन्त्री पुनले भने, ‘काम नगर्ने हो भने पद ओगटेर मात्र बस्न कसैलाई पनि छुट छैन, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुँदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन ।’

कार्यसम्पादन कमजोर भएका र बहानाबाजी गर्ने कर्मचारीसँग आफूले कुनै पनि हालतमा सम्झौता नगर्ने उनले प्रष्ट पारे । उनले हरेक महीना मन्त्रालयमा समीक्षा बैठक राखेर कामको प्रगति विवरण लिने बताए । ‘चिनेका साथीभाइ हुन् काम गरिहाल्छन् नि भनेर मैले भन्ने अवस्था छैन, मलाई परिणाम चाहिएको छ । परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ’, मन्त्री पुनले भने ।

मन्त्री पुनले अधिकृतभन्दा माथिका कर्मचारीलाई सचिव, मन्त्री वा विभागीय प्रमुखले मन पराए पनि नपराए पनि काम परिभाषित गरेर जिम्मेवारी दिन मातहतका उच्च अधिकारीलाई निर्देशन दिए । कागजमा निर्देशन दिने र प्रगति देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्नेुपर्ने भन्दै मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजनाको हकमा आयोजनास्थलमै गएर कामको अवस्था बुझ्न र परिणाममुखी काम गर्न उनले सम्बन्धित कार्यालय प्रमुखहरुको ध्यानाकर्षणसमेत गराए ।

सो अवसरमा मन्त्रालयका ऊर्जा सचिव दिनेशकुमार घिमिरे, जलस्रोत सचिव डा सञ्जय शर्मा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले आ–आफ्नो प्रस्तुति राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस