बिआरआईबाट दुवै देश लाभान्वित हुनुपर्छ : उपराष्ट्रपति पुन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बिआरआईबाट दुवै देश लाभान्वित हुनुपर्छ : उपराष्ट्रपति पुन


९ श्रावण २०७६, बिहिबार


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले चीनका राष्ट्रपति सि चिनफिङले अगाडि सारेको अवधारणा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई)मा सहभागी हुन पाउनु नेपालको लागि गौरवको विषय भएको बताएका छन् ।

चीनको यूनान प्रान्तका उपगभर्नर चाङ कुवहुयले आज ग्रीनहाउसमा गरेको शिष्टाचार भेटमा उनले भने, ‘बीआरआईमा नेपाल जोडिएको छ, यसले दुवै देशलाई उचित लाभ दिनुपर्छ ।’ उपराष्ट्रपतिले वैदेशिक लगानीका लागि नेपालमा अनुकूल वातावरण रहेको उल्लेख गर्दै चिनियाँ लगानीका लागि आग्रह गरे ।

‘हामी समृद्ध नेपाल, सुखी नेपालीको नाराका साथ आर्थिक विकासतिर अगाडि बढेका छौँ”, उनले भने, ‘नेपालको विकास र समृद्धिका लागि आन्तरिकका साथै वैदेशिक लगानीको खाँचो छ । यसमा चिनियाँ लगानीकर्ताले अधिकतम लगानी गर्ने अपेक्षा लिएका छौँ ।’ उनले कृषिको आधुनिकीकरण, पर्यटन पूर्वाधारको विकास, जडीबुटीको प्रशोधन, खनिज पदार्थको उत्खनन र भौतिक पूर्वाधार निर्माण विकासका प्राथमिकता भएको उल्लेख गर्दै यी क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

भेटमा उपगभर्नर चाङ कुवहुयले नेपालसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न पाउँदा चीन र यूनान प्रान्त खुशी रहेको बताए। उनले राष्ट्रपति सिले यूनान प्रान्तलाई दक्षिण एशिया र पूर्वी एशियाका राष्ट्रहरुसँग चीनको सम्बन्धको गन्तव्य बनाउनुपर्ने धारणा लिएको उल्लेख गर्दै सोहीबमोजिम काम भइरहेको बताए । उनले यूनान प्रान्तले नेपालमा जलविद्युत् निर्माणका लागि लगानी गरिरहेको र थप लगानी गर्न लागेको बताएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस