सङ्घीयताको रक्षाका लागि अग्रसर हुन आग्रह « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सङ्घीयताको रक्षाका लागि अग्रसर हुन आग्रह


८ श्रावण २०७६, बुधबार


जनकपुरधाम । सङ्घीय समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको पूर्णता र सङ्घीयताको रक्षाका लागि अग्रसर हुन आग्रह गरेका छन् । आज यहाँ आयोजित पार्टीको मधेश प्रदेश समितिको प्रादेशिक समायोजन घोषणासभामा उनले समुन्नत लोकतन्त्रको संस्कृति निर्माण गर्नु जरूरी रहेको बताए ।

उनले भिडभाड र तडकभडकले लोकतन्त्र, सङ्घीयता र संविधानको रक्षा हुन नसक्ने बताउँदै प्रतिबद्ध भई जनताका पक्षमा उभिनु अहिलेको आवश्यकता भएको धारणा राखे । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले लोकसेवा आयोगले सङ्घीयता विपरीत विज्ञापन गरी सङ्घीयताको जगलाई नै कमजोर बनाउने कार्य गरेको भन्दै आलोचना गरे ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मुलुकको विविधताको प्रतिविम्ब शासन र प्रशासनमा हुनु आवश्यक रहेको बताए । लोक सेवा आयोगले संसदीय राज्य व्यवस्था समितिको आदेशलाई अवज्ञा गरी संसदीय लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने षड्यन्त्र गरेको आरोप लगाउँदै पार्टीका अध्यक्षसमेत रहेका यादवले संविधानले पहिचान र सामथ्र्य गौण बनाइ सङ्घीयता कार्यान्वयन गराउने प्रयास भइरहेको चर्चा गरे ।

पार्टीका उपाध्यक्ष एवं प्रदेश नं– २ का मुख्यमन्त्री लालबाबु राउत, केन्दीय उपाध्यक्ष रेणुकुमारी यादव, मधेश प्रदेश समितिका अध्यक्ष एवं प्रदेश नं– २ का आर्थिक मामिलामन्त्री विजयकुमार यादव, समितिका मुख्य सचिव शम्भु झाले समाजवादी पार्टी नेपाललाई श्रेष्ठ पार्टी बनाउनुपर्ने खाँचौं ओल्याए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस