कृषि तथा पशु प्राविधिकको जागिर अन्योल भएको गुनासो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कृषि तथा पशु प्राविधिकको जागिर अन्योल भएको गुनासो


६ श्रावण २०७६, सोमबार


काठमाडौँ । ‘एक गाउँ, एक प्राविधिक’ अन्तर्गत कार्यरत कृषि तथा भेटेनरी प्राविधिकले जागिरको कुनै सुनिश्चितता नहुँदा जीवन अन्योलमा भएको गुनासो गरेका छन् ।

नेपाल कृषि तथा भेटेनरी प्राविधिक हकहित संरक्षण समितिद्वारा आइतबार सुर्खेतमा आयोजित प्रदेशस्तरीय छलफल कार्यक्रममा प्राविधिकले सो दुखेसो व्यक्त गरेका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद् निर्णयबमोजिम लोकसेवा आयोगको मापदण्डअनुसार प्राविधिकका रुपमा नियुक्त भएका आफूहरुको जीवनको स्थायित्वमा सरकारले बेवास्ता गर्दा समस्या आइलागेको समितिका कर्णाली प्रदेश सचिव यज्ञभानु पुनमगरले बताए ।

किसानको नजिकमा पुगेर सहयोग गर्ने कृषि/पशु प्राविधिकलाई वर्षेनी आर्थिक वर्षको अन्तमा आउँदा अब जागिर के हुने भन्ने भूतले खान्छ’, सचिव मगरले भन्नुभयो, निकै जोतिएर काम गर्नुपर्ने तर सुनिश्चितता नभएको करार जागिरले जीवनमा हिनताबोध पनि भइरहेको छ ।’ करार कर्मचारीले विभेदको उत्पीडन खेप्नुपरेको उनको भनाइ थियो ।

हकहित समितिका हुम्ला अध्यक्ष हीराजन शाहीले करार विभेदको पदको रुपमा दर्ज गरिएको तर्क गरे । करार कर्मचारीलाई सबैले हेपेर व्यवहार गर्ने गरेको अध्यक्ष शाहीको दुखेसो थियो ।

समिति जुम्लाका उपाध्यक्ष नन्दबहादुर शाहीले प्राविधिक कर्मचारी राज्यको भरमा परेको नभई राज्यले भरमा पारेको टिप्पणी गरे ।

त्यसैबीच, समितिका सुर्खेत जिल्ला सचिव प्रियंका विकले कृषि/पशु प्राविधिकलाई स्थानीय सरकारले केही गर्न नसक्ने जवाफ दिने गरेको बताए ।

प्राविधिक लोकेन्द्र थापाले कर्णालीका १० जिल्लामा कृषितर्फ १२४ र भेटेनरीतर्फ १६२ गरी २८६ प्राविधिकसहित देशैभरिका प्राविधिकको जागिर स्थायित्व नहुुनुले निराशा पैदा गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस