बगरमा बस्ती, बर्खामा सास्ती « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बगरमा बस्ती, बर्खामा सास्ती


५ श्रावण २०७६, आइतबार


रुपन्देही । बुटवल पवित्रनगरकी मनकला थापा वर्षा शुरु भएदेखि राति सुत्न सक्नुभएको छैन । रेडियो, टेलिभिजन र पत्रपत्रिकामा देशभर बाढी र पहिरोले बितण्डा मच्याएका समाचार देख्दा र सुन्दा उनको मुटु काँप्छ । तिनाउ नदी किनारमै सुकुम्बासी बस्तीमा उनको घर छ ।

पोहोर साल तिनाउ नदीमा खासै ठूलो बाढी आएन । अझ अघिल्लो वर्ष भने झोलुड्गे पुल नै बगायो । “अहिले देशभरि घटना भइरहँदा दिनरात आँखा आकाशतिरै छन्,” उनले भने ।

बुटवल–११ बुद्धनगरकी कला थापालाई पनि चिन्ता बाढीकै छ । वि.सं २०७३ को बाढीले थापाको घरका दुई कोठा बगाएको थियो । बाँकी दुई कोठा तिनाउ नदीमा बाढी आएर लैजान्छ भन्ने उनलाई राम्रै हेक्का छ । विसं २०५९ सालदेखि बगरकै जग्गा भए पनि दुई लाखमा किनेर बसोबास गर्दैआएका थापा परिवारलाई यो ठाउँ छोड्न मन छैन । बाढीले पकाउने, खाने सामान बगाएपछि केही दिन निकै समस्या भएको थियो थापा परिवारलाई । त्यतिबेला बाढीले भत्काएको उनको घर अझै टालटुल गर्नै बाँकी छ । “यसपालि पनि ठूलो पानी प¥यो भने बाँकी दुई कोठा रहँदैनन्,” उनी दुःखेसो गर्छन ।

तीन वर्ष अगाडि साउन महिनामा तिनाउ नदीमा आएको बाढीले घर बगाएपछि बुटवल–११ झोलुङ्गेपथ निवासी गीता विकलाई पनि बर्खामा निकै डर लाग्छ ।

“आँखै अगाडि पुलसँगै घर बगायो, हामीले भागेर ज्यान जोगायौं तर, सामान जोगाउन सकिएन,” ७३ सालको बाढी सम्झँदै विक भन्छन् – “यसपालि यस्तो नहोस् ।” नौ जनाको उनको परिवारको तिनाउ नदीकै बगरमा दुई कोठे घर छ ।

वर्षा शुरु भएसँगै बुद्धनगरका ५५ वर्षीय नर बहादुर कनौजे पनि झस्किन्छन् । विसं २०३८ र २०७३ मा आएको बाढीको क्षति बेहोरेका कनौजे यसपालि कुनै पनि विपद् नआओस् भन्ने कामना गर्छन् । “आँखै अगाडि मानिसहरु चिच्याउँदै बगेको देखेको छु, कतिका घर बगाए, जनावर बगाए, ठूलो बस्ती तहसनहस भयो,” ३८ सालमा तिनाउ नदीमा आएको बाढी सम्झिँदै उहाँले भन्नुभयो । उहाँहरु जस्तै रुपन्देहीको तिनाउ, दानव, कञ्चन र रोहिणी नदी आसपासका बासिन्दाहरुको हरेक वर्षको चिन्ता एउटै हुन्छ, त्यो हो बाढी ।

बुटवल उपमहानगरपालिकाको तथ्याङ्क अनुसार तिनाउ नदी आसपासमा अव्यवस्थित बसोबास गर्नेहरुको सङ्ख्या झण्डै १७ हजार छ । बगरमा घर बनाएर जोखिम मोल्नेहरुहरुको सङ्ख्या हरेक वर्ष बढ्दो छ । वास्तविक सुकुम्बासी मात्र होइन बजार क्षेत्रमा घरजग्गा हुनेहरुले पनि नदी आसपासमा घडेरी किनेर राखेको पाइएको छ ।

नदीको बहावलाई नै रोक्ने गरी बगरमै वर्षौदेखि घर बनाएर बसेकाहरुलाई बर्खाभरि बाढीले पिरोलिरहन्छ । बुटवलको तिनाउ नदीको बगर बस्तीले भरिएको छ । नदी किनारमा स–साना झुप्रादेखि ठूल्ठल्ला पक्की घरहरु बनेका छन् ।

सुकुम्बासी बस्तीमै पक्की सडक र खानेपानीको व्यवस्था छ । बुटवल उप–महानगरपालिकाले अहिले नदी तटमा खासगरी जोखिमयुक्त क्षेत्रमा घर तथा कुनै पनि भौतिक संरचना निर्माणमा रोक लगाएको त छ तर, निर्माणको काम रोकिएको छैन ।

बुटवल उप–महानगरपालिका प्रशासन प्रमुख विष्णु खनालका अनुसार बुटवलमा झण्डै ४० हजार अव्यवस्थित बसोबास गर्नेहरुको सङ्ख्या छ । उपमहानगरपालिकाले नगरमा रहेका अव्यवस्थित बसोबासीहरुको अभिलेख सङ्कलन, सार्वजनिक जग्गाको संरक्षण र खाली जग्गा अतिक्रमण गर्न नदिन प्रयास थालेको उनको भनाइ छ ।

बुटवलको बुद्धनगर, हात्तीसुँड, मजुवा, प्रगतिनगर क्षेत्रमा खाली जग्गा अतिक्रमण गरेर बस्नेहरुको सङ्ख्या धेरै छ । यी क्षेत्र बाढीको उच्च जोखिममा छन् । बगरमै घर बनाएर बसोबास गरेका कारण यी क्षेत्रका नागरिकलाई हरेक बर्खामा बाढीको त्रास हुने गरेको उपमहानगरपालिकाको भनाइ छ ।

पछिल्लो पाँच वर्षमा तिनाउको बहाव क्षेत्रमा बनेका २०० टहरा बाढीले बगाइदिएको छ । वातावरणविद् इञ्जिनीयर खेटराज दाहाल तिनाउ नदी अतिक्रमण नरोकिए ठूलो आपत् आइलाग्ने चेतावनी दिन्छन् । “तिनाउ नदीको बहाव क्षेत्र नै रोकेर घर बनाइएका छन्, यसले भविष्यमा ठूलो सङ्कट निम्त्याउन सक्छ, यसलाई तुरुन्त व्यवस्थापन गर्नुपर्छ,” दाहाल भन्छन । तिनाउको बहाव क्षेत्र घट्दै गएका कारण ठूलो बाढी आएपछि घरमा पस्ने सम्भावना बढेको हो ।

सुकुम्बासीका नाममा तिनाउ नदीमा भएको मनपरीले रुपन्देहीमा विपद्को जोखिम बढे पनि स्थानीय तहले यसलाई व्यवस्थित गर्न सकेको छैन । तिनाउ बगरमा हरेक वर्ष घर थपिएका छन् । लालपूर्जा नभए पनि ठूलो मूल्यमा घरजग्गाको कारोबार हुन्छ तर, यसको नियन्त्रणका लागि स्थानीय तहले केही गर्न सकेको छैन । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले योजना बनाए पनि नियन्त्रण गर्न समस्या भइरहेको बताए । “तत्काल बस्ती अन्यत्र सार्न पनि सम्भव छैन, यसका लागि सबै पक्षको सहकार्य हुनुपर्छ,” उनले भने ।

विसं २०३८ मा तिनाउमा ठूलो बाढी आउँदा पूर्व–पश्चिम राजमार्ग जोड्ने तिनाउ पुल बगाएको थियो । त्यही तिनाउ नदी फुटेर तिनाउ र दानव बनेको थियो । बाढीले दाउरे टोलको १५० घरधुरी बगाएको थियो भने १०० भन्दा बढीको मृत्यु भएको थियो । विसं २०५४ र २०६५ मा पनि यहाँ बाढी आएको थियो । विसं २०७३ मा तिनाउ नदीमा आएको बाढीले बुटवल–१३ स्थित हात्तीसुँढको झोलुङ्गे पुल बगायो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस