महोत्तरी कारागार जलमग्न, कैदीरथुनुवाको बिचल्ली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महोत्तरी कारागार जलमग्न, कैदीरथुनुवाको बिचल्ली


३० असार २०७६, सोमबार


बर्दिवास । लगातार छ दिनदेखिको वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदी र थुनुवाको बिचल्ली भएको छ । गत बुधबार मध्यरातदेखि लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदीरथुनुवाको बिचल्ली भएको हो । जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको पानी निकास नहुँदा जलमग्न भएको हो । कारागार परिसर जलमग्न भएपछि कैदीरथुनुवालाई खान, बस्न र सुत्न निकै कठिनाइ भएको छ ।

विसं १९१३ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गरेको १३५ कैदी र थुनुवा राखिने क्षमताको कारागारमा अहिले ५२८ जना छन् । कारागार भुइँतल्लामा पाँच फिट पानी भरिएपछि सबै कैदी र थुनुवालाई छ तल्लामा सारिएको छ । माथि खाँदिएर बस्नुपर्दा निकै असहज भएको कैदी र थुनुवाले बताएका छन् ।

“हजुर, छ दिनदेखि न राम्ररी खान पाएका छौँ, न निदाउन”, एकजना अधबैँसे कैदीले भने, “जेल काटेर घर फर्कन्छौँ भन्ने आश नै मर्‍यो ।” कारागारका पुरुष र महिलाका दुई छुट्टाछुट्टै कक्षमध्ये पुरुषकक्षमा अहिले ४७२ र महिलाकक्षमा तीन आश्रित बालबालिकासहित ४६ गरी ५२८ कैदीरथुनुवा छन् । क्षमताभन्दा बढी कैदीरथुनुवा न्यायिक निकायले पठाएपछि उनीहरुको व्यवस्थापनमा असजिलो हुँदै आएको कारागार प्रशासनले जनाएको छ ।

“कैदीरथुनुवाको चापले समस्या पहिलेदेखि नै थियो”, कारागार प्रमुख (जेलर) मकसुधन महासेठले भने, “पछिल्लो पटक पाँच दिनदेखिको अविरल वर्षाले त अस्तव्यस्त नै भएका छौँ ।” कैदीरथुनुवा मात्र नभएर कारागारका कर्मचारी र सुरक्षाकर्मीलाई उभिनसमेत ओभानो ठाउँ नभएको कारागार प्रमुख महासेठको भनाइ छ ।

महोत्तरी र धनुषाको संयुक्त कारागार रहँदै आएको यहाँ धनुषाकै कैदीरथुनुवा बढी रहेका छन् । एक सय ६३ वर्ष पुरानो कारागार भवनले त्यसयता राम्ररी मर्मतसम्भार नपाउँदा छत तथा भित्ताका इँट्टा र सिमेन्टका टुक्रा झरिरहेर बसाइ सधैँ डरमर्दो हुने गरेको कैदीरथुनुवा बताउँछन् । कारागारमा शौचालय र खानेपानीका धारा चाररचार वटा मात्र सञ्चालनमा रहँदा दिसापिसाब गर्न र नुहाइधुवाई लागि घण्टौँ पालो पर्खनुपर्ने अवस्था रहेको कैदीरथुनुवाको गुनासो छ । सरसफाइ राम्रो हुन नसक्दा धेरैजसो कैदीरथुनुवालाई छाला चिलाउने समस्या रहेको उनीहरुको भनाइ छ ।

यसैबीच मानवअधिकार क्षेत्रमा कार्यरत इन्सेकका जिल्ला प्रतिनिधि अजयकुमार साहले कैदीरथुनुवाको बसाइ, खानपिन र उपचारसहितको प्रबन्धसँगै सुरक्षित आवासको प्रबन्धमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस