अस्पतालको सेवा तीनदेखि ठप्प, सेवाग्राही मर्कामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अस्पतालको सेवा तीनदेखि ठप्प, सेवाग्राही मर्कामा


२८ असार २०७६, शनिबार


अमरगढी । डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालमा खटिएका चिकित्सकमाथि आक्रमणको विषयलाई लिएर बिहीबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प भएको छ । चिकित्सकमाथि पटक–पटक आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै अस्पतालमा कार्यरत सबै चिकित्सकले आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरेका हुन् ।

उपचारको क्रममा गत जेठ ३१ गते सुत्केरी भएको १४ दिनपछि अमरगढी–६ की गीता ताम्राकारको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तोडफोड भएको थियो । शल्यक्रिया गरी शिशु जन्माएकी ताम्राकारको अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए । मृतकका आफन्तसँग तीनबुँदे सहमति भएपछि त्यति बेलाको विवाद साम्य भएको थियो ।

यही असार १ गते अस्पतालमा काम गर्ने वातावरण नभएको र जतिबेला पनि आक्रमण हुने खतरा रहेको भन्दै अस्पतालमा कार्यरत ११ जना चिकित्सक बिदामा बसेका थिए ।

पटक–पटक यसखालका घटनाले अस्पतालको सेवा नियमित सञ्चालन नहुँदा टाढाबाट आउने सेवाग्रही मार्कामा पर्न थालेका छन् । आकस्मिक बाहेकका सबै सेवा ठप्प भएपछि सेवाग्राहीले अहिले सास्ती भोगिरहेका लालिका दार्चुलाका मनोज नेपालीले बताए ।

चिकित्सकको सुरक्षाको जिम्मेवारी प्रशासनले लिने हुँदा अस्पतालको सेवा पुनः सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आग्रह गरेका छन् । पटक–पटक आक्रमण हुँदा स्थानीय प्रशासनबाट कुनै सुरक्षा नपाएका कारण आफूहरु काममा फर्कन नसक्ने अस्पतालका चिकित्सक डा जीवन खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस