चितवन । भारतबाट आँप बोकेर चितवन आएको भारतीय ट्रकमा तोडफोड भएको छ । नारायणगढ क्षेत्रपुरस्थित महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमाथि तोडफो गरिएको हो ।
विहान तीन बजे आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपी ४१ ए टी २६९१ नम्वरको भारतीय मालबाहक ट्रकमा तीन जना युवाले तोडफोड गरेका हुन् । स्कुटरमा आएका ती युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् ।
उनीहरुले पेट्रोल छर्किएर आगो लगाउने प्रयाससमेत गरेको बताइएको छ ।
पाँछ टन आँप रहेको ट्रकमा तोडफोड गर्दै आगजनीको प्रयास समेत भएपछि व्यापारीहरुले प्रतिकार गरेका थिए । आक्रमणकारीहरु स्कुटरमै फरार भएको चितवन प्रहरीले जनाएको छ ।
तोडफोड कार्यमा संलग्नहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
चितवनकै सबैभन्दा ठूलो यो तरकारी बजारमा सीसीटीभीसमेत छैन ।







