सेवा निवृत्त जीवन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सेवा निवृत्त जीवन


पुष्प राज श्रेष्ठ

२५ असार २०७६, बुधबार


सारांश
सबै  संघ, सङ्गठन वा संस्थाहरूमा नियुक्त भएका कर्मचारी वा कामदारलाई एक दिन सेवाबाट निवृत्त हुनै पर्दछ । नियमित कामबाट अवकाश लिएपछिको समय र अवस्थासित आफूलाई समायोजन गर्न उनीहरूको लागि कठिन हुन सक्तछ । यस्ता कर्मचारीलाई विभिन्न शारीरिक र मानसिक समस्याले सताउन सक्छ । त्यसैले आफूलाई उपयोगी काममा व्यस्त राखेर आफ्नो बाँकी जीवनलाई सहज, सरल र शांतिपूर्ण बनाउनुकासाथै समाज तथा राष्ट्र्रलाई योगदान गर्ने उपायका बारेमा हरेक कर्मचारीले समयमै विचार गर्नु आवश्यक छ ।

विषय प्रवेश
जुनसुकै सङ्गठनमा नियमित कामकाज गर्ने जुनसुकै तहको कामदार वा कर्मचारी होस्, उसले एक निश्चित अवधिपछि नियमित काम वा सेवाबाट अवकाश (Retirement) लिनु पर्ने हुन्छ । युवावस्थामा सेवामा प्रवेश गरेपछि सङ्गठनको लागि कर्मचारीले आफूलाई तोकिएको कामकाज गर्दछ । आफ्नो ऊर्जा, ज्ञान, सिप, क्षमता र दक्षताको उपयोग गर्दछ । उमेर ढल्कँदै जाँदा अनुभव बढ्दै गएपनि स्वाभाविक रूपमा उसको शारीरिक र मानसिक क्षमतामा क्रमशः: ह्रास आउँछ । त्यसैले विभिन्न सङ्गठन वा संस्थाहरूले विभिन्न आधारबाट कामदारहरूलाई अवकाश गर्ने गर्दछ । अवकाश भइसकेपछिको बाँकी जीवनलाई निरर्थक र बोझमय हुनबाट जोगाउन कर्मचारीहरूले बेलैमा विचार पुर्‍याउनु पर्दछ ।

अवकाशको उमेर
दण्डस्वरुप सेवाबाट कुनै समयमा बर्खास्त गर्न सकिने बाहेक कर्मचारीहरूलाई उमेर र पदावधि गरी दुई आधारमा अनिवार्य अवकाश गर्ने प्रावधान रहेको पाइन्छ ।

उमेरको हिसाबबाट हेर्दा सर्वोच्च अदालतको प्रधान न्यायाधीश र न्यायाधीशहरूको उमेर ६५ वर्ष पूरा भएपछि र उच्च अदालत तथा जिल्ला अदालतका मुख्य न्यायाधीशहरूको उमेर ६३ वर्ष पुगेपछि ती पदहरू रिक्त हुने व्यवस्था रहेको छ । निजामती सेवा तर्फ कर्मचारीहरूको उमेर ५८ वर्ष पूरा भएपछि अनिवार्य अवकाश हुने व्यवस्था छ । स्वास्थ्य सेवा तर्फका कर्मचारीहरूको अनिवार्य अवकाशको उमेर ६० वर्ष रहेको छ । विश्वविद्यालय तर्फ ६३ वर्षको उमेरलाई अनिवार्य अवकाशको उमेर मानिन्छ । प्रहरी सेवा तर्फ पद अनुसार ५० देखि ५८ वर्षको उमेरमा अनिवार्य अवकाश गर्ने व्यवस्था रहेको पाइन्छ । छोटकरीमा भन्नुपर्दा नेपालमा औसतमा ५० देखि ६५ वर्षको उमेरमा अनिवार्य अवकाश गर्ने प्रावधान रहेको पाइन्छ ।

पदावधिको दृष्टिकोणले हेर्दा सर्वोच्च अदालतका प्रधान न्यायाधीशको ६ वर्षको हुने, निजामती तर्फ मुख्य सचिव पदमा ३ वर्ष र सचिव पदमा (विशिष्ट श्रेणीका जुनसुकै पदाधिकारी) ५ वर्ष सेवा अवधि पूरा भएपछि अनिवार्य अवकाश हुने प्रावधान रहेको छ । प्रहरी सेवा तर्फ एस. पी. पदमा १० वर्ष र आई. जी. पी. पदमा ४ वर्ष सेवा गरेपछि अनिवार्य अवकाश गरिन्छ ।

निवृत्तिभरण प्राप्त गर्ने सेवा अवधि पुगेका र ५० वर्ष उमेर पूरा भएका कर्मचारीहरूले राजपत्रमा सूचना प्रकाशित भएको अवस्थामा स्वैच्छिक अवकाशको लागि निवेदन दिन सकिने व्यवस्था निजामती सेवा ऐन, २०४९ मा रहेको छ । यस व्यवस्था अनुसार पटक पटक कर्मचारीहरूलाई स्वैच्छिक अवकाश गर्ने गरिएको पाइन्छ ।

सामान्यतया जुनसुकै संस्थामा काम गर्ने कर्मचारीहरूले आफ्नो घरायसी वा अन्य कुनै पनि कारणले आफूले सेवाबाट अवकाश लिन चाहेमा आफ्नो राजीखुशीले राजीनामा दिएर पनि अवकाश लिन सक्छन् । असंगठित उद्योग तथा कारखानाहरूमा काम गर्ने कर्मचारीहरूको सेवा अवधि नतोकिए पनि रोजगारदाता र कामदारको इच्छामा अवकाश हुने गर्दछ ।

अवकाशको भय र सेवा निवृत्त भएपछि सिर्जना हुने समस्याहरू
सामान्यतया सबैजसो कर्मचारीहरूलाई अवकाशपछि कसरी जीवन व्यतित गर्ने होला भनेर धेरथोरै चिन्ता लाग्ने गर्दछ । अवकाशको पत्रमा अवकाश पाउने कर्मचारीको बाँकी जीवन आनन्दमय, सुख र शान्तिपूर्वक व्यतित होस् भनेर कामना गरिएको हुन्छ । बिदाइको अवसरमा पनि कार्यालयको प्रमुख तथा सहकर्मी साथीहरूले यस्तै भाव प्रकट गर्दै शुभकामना व्यक्त गर्दछन् । तर अवकाश हुनेको मन भने दु:खी भएको हुन्छ । भविष्यका दिनहरू सम्झेर उसलाई कष्ट हुन्छ ।

सेवा निवृत्त जीवन (Retired life) भनेको मानिसको अन्तिम भूमिका निर्वाह गर्ने अवधि (Inning) भए पनि आरम्भमा यस अवधिमा अधिकांश मानिस असहज महसुस गर्छन् । शक्तिको उपयोग गरी सर्वसाधारण जनता र सेवाग्राहीहरुलाई थर्काउने वा यसो गर्नै पर्ने, हप्कीदप्की तप्की गर्ने वा गर्नै पर्ने, चाकरी खोज्ने प्रवृत्ति भएका विशेषगरी गृह प्रशासनका कर्मचारी र प्रहरीहरू नोकरीबाट अवकाश भएपछि मान, सम्मान नपाइने भो भनेर चिन्तित हुन्छन् । सरकारी आवास, गाडी, निजी र घरायसी कामहरू गरिदिने कार्यालय सहयोगी कर्मचारीहरूको सेवा सुविधाहरू छुट्ने भए भनेर मन सानो गरेका हुन्छन् । गैरकानुनी तवरबाट अतिरिक्त आम्दानी गर्ने विभिन्न कार्यालयहरूमा बसेका कर्मचारीहरू अवकाशको कल्पनासम्म गर्न डराउँछन् । पारिश्रमिक बाहेक नियमपूर्वक अतिरिक्त भत्ता प्राप्त हुने कार्यालयमा काम गर्नेहरू समेत अब अतिरिक्त आम्दानी नहुने भो भनेर चिन्तित हुन्छन् ।

देशमा अत्यन्त न्यून सङ्ख्यामा किन नहोस्, आफ्नो घरको कामकाजभन्दा कार्यालयको कामलाई महत्त्व दिएर बढी समय दिने र ईमानदारीपूर्वक काम गर्ने कर्मचारीहरू अझै पनि देशमा छन् । त्यस्ता कर्मचारीहरूलाई झन् बढी समस्या भएको देखिन आएको छ । कार्य बोझ बढी हुने कार्यालयमा दिनभर परिश्रमकासाथ काम गर्ने कर्मचारीहरू पनि नोकरीबाट हटेपछि घरमा बिना काम कसरी घरमा बस्ने होला भनी छट्पटाउने गर्छन् । उनीहरूलाई घरको सामान्य कामकाज गर्ने बानी परेको हुँदैन ।

नयाँ अवस्थामा आफूलाई अनुकूलन (Adjustment) गर्न अवकाशप्राप्त कर्मचारीहरूलाई गाह्रो हुन्छ । बढी सकेको उमेरको कारणले शारीरिक रूपले कमजोर भइसकेको अवस्थामा मानसिक समस्याहरू पनि थप हुँदै जान्छन् । कतिपयले आफूलाई छिमेकी वा समाजसँगमात्र होइन, आफ्नै घर परिवारभित्र घुलमिल गर्न पनि गाह्रो भएको उदाहरणहरू छन् ।

काम नगरी बस्नेहरूलाई मानसिक शान्ति नहुने सम्भावना अत्यधिक हुन्छ । उनीहरूलाई चिडचिडापनले (Irritation) सताउन थाल्छ । झिना मसिना कुरामा पनि झडंग भएर रिसाउने बानीको विकास हुन्छ । रक्तचाप (Blood Pressure) बढ्ने सम्भावना धेरै हुन्छ । यस्ता मानिस घरका सदस्यहरूसित झगडा गरिरहन्छन् ।उनीहरूमा नैराश्य पन (Frustration) देखा पर्न सक्छ । कालान्तरमा गहिरो उदासीपन वा अवसान (Depression) सम्म पुगेका मानिस प्रशस्त भेटिन्छन् ।

बाँकी जीवनलाई सहज बनाउने उपायहरू
हरेक कर्मचारीहरूले अवकाश हुनुभन्दा केही समय अगावै आफूलाई मानसिक रूपले तयार गर्नु पर्दछ । अवकाशलाई सहजतासाथ स्वीकार गर्नु पर्दछ । सेवा निवृत्त अवधिलाई कसरी सफल र आनन्दमय बनाउने भनेर कार्यालय तथा सङ्घ-संस्थाहरूमा काम गर्ने सबैले बेलैमा विचार गरेर राम्रो योजना बनाउनु पर्दछ ।

विकसित मुलुकहरूमा अवकाशको जीवनलाई कसरी सहजतासाथ बिताउने भनेर परामर्श प्रदान गर्ने परामर्शदाता (Counselor) हुन्छन् । नेपालमा पनि नोकरीबाट हटिसकेका कर्मचारीहरूलाई आर्थिक रूपले सहज होस् भनेर विभिन्न बिमा कम्पनीहरूका केही योजना (Scheme) छन् । निम्न उपायहरूमध्ये आफूलाई उपयुक्त हुने उपायको अवलम्बन गरेर नोकरी पछिको अवधिलाई पनि सहज मात्र होइन, सार्थक (Fruitful) तुल्याउन सकिन्छ ।

  • जीवनका अधिकांश आवश्यकताहरू पूरा गर्ने सबभन्दा महत्त्वपूर्ण साधन भनेको पैसा हो । दैनिक जीवनमा आवश्यक पर्ने सामान र साधानहरु खरिद गर्न तथा जीवनलाई आनन्दमय तुल्याउन आर्थिक रूपले सक्षम हुनु जरुरी छ । नेपालका सरकारी, अर्ध सरकारी तथा गैरसरकारी निकायहरूले आफ्ना कर्मचारीहरूलाई उपदान, निवृत्तिभरण, औषधि उपचार खर्च, कर्मचारी संचयकोष, नागरिक लगानी कोष, जीवन बिमा, सञ्चित गरेर राखेको बिदा बापतको रकम उपलब्ध गराएर सेवा पछिको जीवनलाई सहज बनाउन मद्दत गर्दछन् । त्यसैले सेवाबाट हटिसकेपछि प्राप्त भएका यस्ता रकम र आजसम्म कमाई गरेर सञ्चित गरी राखेको बैङ्क ब्यालेन्सलाई विवेकपूर्ण र बुद्धिमत्तापूर्वक प्रयोग गर्नु पर्छ । फजुलखर्ची (Profuseness ) हुनु हुँदैन ।
  • नेपालको अधिकांश परिवारमा बाबु-आमाको कमाई वा अंश खाने तर उनीहरूको उमेर खस्कदैं गएपछि उनीहरूलाई उचित सम्मान नदिने, रेखदेख नगर्ने, यथोचित पालन-पोषण तथा आवश्यक औषधोपचार नगरिदिनेजस्ता कुरा तितो सत्यको रूपमा स्थापित भएको छ । काठमाण्डौंको पशुपतिनाथ लगायत देशको विभिन्न जिल्लाहरूमा रहेका वृद्धाश्रमको अवलोकन गर्दा वृद्धहरूको विषयमा धेरै कुराहरू जान्न र बुझ्न सकिन्छ । त्यसैले अवकाश पछिको जीवनलाई सहज गराउन आफू आर्थिक रूपले यथासक्य सुदृढ भई राख्नु जरुरी छ ।
  •  जीवनको लामो अवधि र ऊर्जा काममा लगानी गरिसकेको हुँदा अब बाँकी रहेको जीवनको अवधि आराम गरी बिताउँछु भन्ने पनि प्रशस्त छन् । उनीहरू अब कुनै काम नगरी आनन्दको जीवन बिताउन चाहन्छन् । यसलाई नराम्रो भन्न सकिन्न । जसरी आफ्नो जीवनमा शान्ति र आनन्द आउँछ त्यसरी नै जीवन बिताउनु उचित हुन्छ । यहाँ ख्याल गर्नु पर्ने कुरा के हो भने आफ्नो आनन्दको लागि परिवारका अन्य सदस्यमाथि बोझ बन्नु हुँदैन ।
  •  सकारात्मक दृष्टिकोण अपनाउनु पर्छ । जीवनलाई सरल बनाउनु पर्छ । सरल जीवन जिउनेहरू दीर्घायु हुन्छन् । केही मानिस अध्यात्मतर्फ आकर्षित हुन्छन् । धर्म-कर्म र भजन-किर्तनमा पनि रमाउँछन् । नेपालका एक पूर्व प्रधान न्यायाधिक अवकाशको लगत्तै भारतको हरिद्वार गई स्थायी तवरले उतै बस्नु भएको सुनिन्छ ।
  •  यस उमेरसम्म आई पुग्दा अधिकांशको शरीर कमजोर भइसकेको हुन्छ । विभिन्न साध्य / असाध्य रोगले आक्रमण गरिसकेको हुन्छ । त्यसैले धुमपान र मद्यपानको बानी रहेछ भने त्याग गर्नु पर्दछ । नित्य हलुका शारीरिक व्यायाम, योग, ध्यान गर्नु अति उत्तम हुनेछ । रुचि र आफ्नो शारीरिक क्षमता अनुसार ब्याडमिन्टन, टेबल टेनिस, गल्फ लगायतका खेलहरू खेल्नु उचित हुन्छ । पार्कहरू रहेछन् भने नियमित रूपले जान सकिन्छ । समय बिताउने उद्देश्यले बिना पैसाको भए पनि तास र कौडाजस्ता खेल खेल्नु उचित मान्न सकिन्न । किनभने यस्ता खेलको लत लागेपछि धेरै समय खेर जान्छ । घर परिवारको लागि समय दिन सकिँदैन ।
  • नोकरीमा व्यस्त रहँदा कर्मचारीहरू छिमेकी र समाजबाट टाढा रहेको हुन सक्छ । नोकरी छुटेपछि पर्याप्त समय छुट्ट्याएर उनीहरूसित सम्बन्ध पुर्न स्थापित गरेर क्षतिपूर्ति गर्न सकिन्छ ।
  •  आर्थिक रूपले सम्भव भएसम्म स्वास्थ्य पर्यटन, धार्मिक पर्यटन वा प्राकृतिक दृश्यावलोकनको लागि देशभित्र वा बाहिरका विभिन्न स्थानहरूमा जानु पर्छ । यसबाट जीवनमा पुर्नताजगी प्राप्त गर्न सकिन्छ ।
  •  सामाजिक कार्यहरूमा योगदान गर्ने अवसरबाट चुक्नु हुँदैन । यस्ता कार्य गर्दा सेवाबाट निवृत्त भएका कर्मचारीको पुन: समाजीकरण (Socialization) हुन्छ । उसले आफ्नो जीवनमा आनन्दको अनुभूति गर्छ ।
  •  नोकरीबाट अवकाशप्राप्त गरिसकेकाले आफ्नो घर परिवारको लागि प्रशस्त समय दिनु पर्छ । यस उमेरसम्म नाति-नातिनीको रूपमा परिवारमा नयाँ सदस्यहरूको आगमन भई सकेको हुन्छ। उनीहरूको हेरचाह र रेखदेख गरिदिनु पर्छ । उनीहरूलाई विद्यालयसम्म पुर्‍याउन र त्यहाँबाट घरमा लिएर आउने गर्दा राम्रो हुन्छ । यसो गरेमा आफ्नो छोरा, छोरी तथा बुहारीले आफ्नो काममा ध्यान केन्द्रित गर्न पाउँछन् । यसबाट परिवारका सदस्यहरूबिच माया, ममता र स्नेहमा श्री वृद्धि हुनुकासाथै पारिवारिक एकता सुदृढ हुन्छ ।
  •  घरमा अलिकति खालि जग्गा छ भने विभिन्न किसिमका फुलहरू रोप्नु र स्याहार गर्नुपर्छ । प्रांगारिक वा जैविक मल तथा यस्तै कीटनाशक औषधिहरूको प्रयोग गरेर सागसब्जी रोपी करेसा बारीमा आफूलाई व्यस्त राख्न सकिन्छ । यसबाट घरको सुन्दरतामा वृद्धि हुन्छ, ताजा र हानिरहित साग सब्जी खान पाइन्छ । आफ्नो शारीरिक तन्दुरुस्ती कायम रहन्छ र थोरै भए पनि पैसाको बचत हुन्छ ।
  •  सेवाबाट निवृत्त भैसकेका केही पूर्व कर्मचारीहरू पुन: कुनै नियमित काम गर्दछन् । आफ्नो ज्ञान, सीप, अनुभव र योग्यताको सदुपयोग गर्नु राम्रो कुरा हो । लोकसेवा आयोग, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न संवैधानिक निकायहरूमा नेपालको निजामती सेवा, न्याय सेवा तथा अन्य विभिन्न सेवामा काम गरी अवकाशप्राप्त गरेका पूर्व कर्मचारीहरूले सेवा गरेको र गरिरहेको पाइन्छ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुन प्रधान न्यायाधीश वा न्यायाधीशको पदबाट सेवा निवृत्त भएको र महालेखा परीक्षक पदमा नियुक्त हुन विशिष्ट श्रेणीको पदमा काम गरेको हुनु पर्ने भनी नेपालको संविधान, २०७२ मा उल्लेख भएकै छ । विभिन्न घटनाहरूको छानबिन गर्न गठन हुने आयोग / समितिहरू र विभिन्न विषयक्षेत्रका समस्याहरू समाधान गर्न वा सुधार गर्न सुझावहरू पेस गर्ने गठन हुने आयोग / समितिहरूमा पनि अवकाशप्राप्त पदाधिकारीहरूलाई नियुक्त गर्ने परम्परा रहेको छ । केही प्रशासकहरू विभिन्न देशका राजदूतमा नियुक्त भएर सेवा गरेका र गरिरहेका छन्।
    चिकित्सा सेवामा रहेकाहरू पनि अवकाशपछि निजी प्रतिष्ठान वा क्लिनिकहरूमा काम गर्न मन पराउँछन् । यसबाट उनीहरूले नाम र दाम दुवै कमाउँछन् । बिरामीहरूको सेवा गरेर आफूले लिने आत्मसन्तुष्टि त बोनस नै हुने भयो ।
    केही प्रबुद्ध व्यक्तिहरू विभिन्न प्रतिष्ठानहरूमा प्रशिक्षकको रूपमा कार्य गरेर आफ्नो अनुभव नयाँ पिँडीलाई हस्तान्तरण (Transfer) गरी राष्ट्रको हितमा योगदान गर्छन् ।अवकाशप्राप्त चिकित्सकहरूले निजी क्लिनिक खोलेर बिरामीहरूको सेवा कार्यलाई निरन्तरता दिने गरेका छन्।अवकाश लिएका केही कर्मचारीहरू राजनीतिक क्षेत्रमा प्रवेश गरेका धेरै उदाहरण नेपालमा देख्न पाइन्छ ।
  •  अध्ययनको लागि समय दिनु पनि अत्यन्त राम्रो मानिन्छ । आफ्नो रुचि अनुसार विज्ञान, व्यवस्थापन, इतिहास, भूगोल, धर्म, संस्कृति, यात्रा संस्मरण, महान् व्यक्तिहरूको जीवनी वा उनीहरूले लेखेका पुस्तकहरूको अध्ययन गरेर समयको सदुपयोग गर्दा राम्रो हुन्छ । पुस्तक खरिद गर्न नसकिने भए पुस्तकालयमा गएर अध्ययन गर्न सकिन्छ ।आफैले पुस्तक लेखेर समय व्यतित गर्न सकिन्छ । धेरै पूर्व प्रशासकहरूले पुस्तक लेखेर प्रकाशन गरेका छन् ।अचेल पुस्तक पढ्ने बानी घटिसकेको हुँदा कम्प्युटर, ल्याप टप, मोबाइलजस्ता साधनहरूबाट ज्ञान प्राप्त गर्न सकिने भएको छ ।
  •  देशभित्र अहिले विकास निर्माणका कार्यमा र विभिन्न सरकारी कार्यालयहरूमा व्यापक आर्थिक भ्रष्टाचार हुने गरेको छ । मानवाधिकार उल्लङ्घन, मिसावटयुक्त र गुणस्तरहीन वस्तु तथा सेवाको खुलेआम बिक्री वितरण, वातावरण प्रदूषण लगायतका थुप्रै समस्याहरू छन् । जातीय विभेद, छुवाछुत, छाउपडी प्रथा, मानव तस्करी (Human Trafficking), बाल विवाहजस्ता सामाजिक समस्याबाट देश अझ मुक्त हुन सकेको छैन । यस्ता विषय क्षेत्रमा आफ्नो क्षमता र योग्यता अनुसार जनचेतना अभिवृद्धि, अनुगमन, निरीक्षण वा प्राविधिक सहयोग गर्न समाज र देशको सेवा गर्न सकिने अवसरहरू छन् ।
  •  देशका विभिन्न स्थानहरूमा अहिले पूर्व कर्मचारीहरू र बौद्धिक जमातको सङ्गठनहरू रहेका छन् । विभिन्न सामाजिक संस्थाहरू पनि क्रियाशील छन् । ती सङ्गठनमा आफूलाई पनि आबद्ध गरेर आफ्नो अनुभवको सक्दो उपयोग गर्न सकिन्छ ।

निष्कर्ष
सेवाबाट निवृत्त भएका लगायत सबै मानिसले शान्ति, समुन्नति र आनन्दमय जीवन व्यतित गर्नको लागि सकारात्मक सोच राख्नु पर्छ । शारीरिक र मानसिक समस्याहरू आफू नजिक नआउन् भन्न खातिर नोकरीको नियमित कामबाट बिदा भए पनि नयाँ भूमिकामा आफूलाई प्रस्तुत गरिहाल्नु पर्छ । सक्रिय जीवन बिताउनु पर्छ, राम्रोको सङ्गत (सत्सङ्ग) गर्नुपर्छ । कार्यालयको कामले गर्दा आफ्ना अधुरा रहेका व्यक्तिगत कामहरू, इच्छा र आकाङ्क्षाहरू पूरा गर्ने अर्कै भूमिका र ढङ्गबाट समाज र देशको सेवा गर्ने अवसरको रूपमा यस अवधिलाई लिँदा राम्रो हुन्छ । मानसिक शान्तिको लागि अध्यात्मतिर लाग्नु पनि उपयुक्त नै हुन्छ । रुढीवादी नहुँदा राम्रो । सम्भव भएसम्म परोपकार गर्ने । कसैको कुभलो नगर्ने ।अवकाशप्राप्त लगायत सबैले यी कुराहरूलाई मनन गर्ने :- यो संसारमा तिम्रो के छ र ? तिमीले के लिएर आएका थियौ र के लिएर जान्छौ ? आज तिम्रो जे छ त्यो हिजो अरू कसैको थियो र भोलि अरू कसैको हुनेछ । हिजोको समय बितिसक्यो, भोलि कसैले देखेको छैन, त्यसैले आजको समय आनन्दकासाथ जिउनु पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस