संसदीय समितिद्वारा चारै राजदूतको नाम अनुमोदन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संसदीय समितिद्वारा चारै राजदूतको नाम अनुमोदन


२३ असार २०७६, सोमबार


काठमाडौं । संसदीय विशेष सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले प्रस्तावित राजदूत क्रमशः बङ्गलादेशका लागि डा वंशीधर मिश्र, कतारका लागि डा. नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावाफुटी शेर्पालाई अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित चार जना राजदूतको सुनुवाइ भएको र उनीहरुको योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि नाम सर्वसम्मतिले अनुमोदन भएको सञ्चारकर्मीलाई जानकारी दिए ।

परराष्ट्र मन्त्रालयको पत्रबमोजिम नेपालको संविधानको धारा, २९२ को उपधार १ बमोजिम संसदीय सुनुवाइका लागि पठाइएकामा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली–२०७५ को नियम २५ र २६ तथा समितिको कार्यविधि–२०७५ बमोजिम चार राजदूतको सुनुवाइपछि नाम अनुमोदित गरेको हो । मन्त्रिपरिषद्को गत जेठ २३ गते भएको बैठकले चार जनालाई प्रस्तावित राजदूतका लागि सिफारिस गरेको थियो ।

सरकारले राजदूतका लागि सिफारिस गरेका चारै जना राजदूतको आजै सुनुवाइ भएको थियो । सम्बन्धित देशका लागि प्रस्ताविज राजदूतले समितिसमक्ष आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । उनीहरुले कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाई, लगानी भित्र्याउने, पर्यटन प्रवर्द्धन तथा श्रमिकका समस्या समाधानतर्फ योजनाबद्ध कार्य अघि बढाउने योजना सुनाएका थिए ।

समितिका सदस्य सुरेन्द्र पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की, राजेन्द्र श्रेष्ठ, योगेश भट्टराई, पुष्पा भुसाल, पूर्णकुमारी सुवेदी, पर्वत गुरुङ, निरुदेवी पाललगायतले प्रस्तावित राजदूतलाई राजदूत बनेपछि गर्ने कामका बारेमा प्रश्न गरेका थिए । राजदूतमा अनुमोदन भएकामध्ये बङ्गलादेशका लागि राजदूत डा. मिश्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता छन् । उनी यसअघि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भइसकेका छन् ।

कतारका लागि राजदूत अनुमोदित भएका डा.भारद्वाज पुराना कम्युनिष्ट नेता छन् । उनले तत्कालीन झापा विद्रोहमा सक्रिय भई १२ वर्ष जेल जीवन बिताएका थिए । तत्कालीन नेकपा (एमाले) का सल्लाहकार सदस्य तथा विदेश विभाग सदस्यसमेत रहेका भारद्वाज अङ्ग्रेजी साहित्यका ज्ञाता र लेखकसमेत छन् ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाल नेपाल टेलिभिजनका पूर्वअध्यक्ष र नेपाल जेसिसका केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् । अनुसन्धान, तालीममा लामो अनुभव छ ।

त्यसैगरी स्पेनको राजदूतमा अनुमोदन भएकी दावाफुटी शेर्पा प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाकी छोरी हुन् । उनी अमेरिकामा अध्ययन गरेर हालै नेपाल नेपाल फर्केकी उनी पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको अध्यक्षसमेत छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस