सर्पदंश उपचार केन्द्र माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सर्पदंश उपचार केन्द्र माग


२३ असार २०७६, सोमबार


भद्रपुर । झापाको दुर्गम क्षेत्र भनेर चिनिने कचनकबल गाउँपालिकामा स्थानीयवासीले सर्पदंश उपचार सेवा माग गरेका छन् । सर्पले डसेका बिरामीले उपचारका लागि टाढा धाउनु पर्दा ज्यान जाने जोखिम भएको जनाउँदै स्थानीय ठाउँमै सर्पदंश उपचार केन्द्र स्थापना गरिनुपर्ने कचनकबलवासीको माग छ ।

गत वर्षको असार २२ गते कचनकबल गाउँपालिका–३ की १५ वर्षीया स्वस्तिमा भट्टराईको सर्पले डसेर मृत्यु भएपछि कचनकबलवासी झस्किएका छन् । आफ्नै ठाउँमा उपचार केन्द्र भए स्वस्तिमाको अकालमा ज्यान जाने थिएन भनेर स्थानीयवासी बनियानी बजारमा उपचार केन्द्र स्थापनाको अभियानमा जुटेका छन् ।

गर्मीयाम शुरु भएसँगै झापामा सर्पको बिगबिगी शुरु भइसकेको छ । कचनकबलबाट नजिक भनेको मेचीनगरको चारआलीस्थित सर्पदंश उपचार केन्द्र नै ५० किलोमिटर टाढा पर्दछ । कनकाई र दमकमा रहेको सर्पदंश उपचार केन्द्र त्यो भन्दा टाढा छ । कचनबल–७ स्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम गुरुङ सरकारले दक्षिण झापाको दुर्गम भेगका लाखौँ नागरिकलाई सर्पको डसाइबाट अकालमा ज्यान जान नदिन बनियानीमा सर्पदंश उपचार केन्द्र स्थापना गर्नुपर्ने बताउँछन् ।

बनियानी बजारमा चिया पसल सञ्चालन गर्दै आएका उमेश भट्टराईले विगत १५ वर्षदेखि स्थानीयवासीले कचनकबल क्षेत्रमा सर्पदंश उपचारको आवश्यकता औँल्याउँदै आए पनि जनताको मागको सुनुवाइ नभएको गुनासो व्यक्त गरे । स्थानीय युवाले ‘दक्षिण क्षेत्रमा सर्पदंश उपचार केन्द्र चाहियो’ भन्ने भित्तेलेखनसमेत गरेर सरकारी निकायको ध्यानाकर्षण गर्दै आएको सर्पदंश उपचार केन्द्र स्थापनाको अभियानकर्मी भट्टराई बताउँछन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापामगरले स्थानीयवासीको माग भए पनि गाउँपालिकासँग साधनस्रोत न्यून भएकाले आफ्नै बलबुतामा सर्पदंश उपचार केन्द्र स्थापना सम्भव नहुने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी कचनकबलका गाउँ समिति अध्यक्ष रविचन्द्र ओझाले प्रदेश र सङ्घीय सरकार गुहारेर भए पनि सर्पदंश उपचार केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस