अध्यक्ष तिमिल्सिनासमक्ष दुई प्रतिवेदन प्रस्तुत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अध्यक्ष तिमिल्सिनासमक्ष दुई प्रतिवेदन प्रस्तुत


२२ असार २०७६, आइतबार


काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले समितिका दुई वटा अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि आज बुझाएका छन् ।

दिगो विकास तथा सुशासनका क्षेत्रमा योजनाबद्ध ढङ्गबाट काम अघि बढाएर दिगो विकासको लक्ष्य प्राप्त गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य गर्ने सन्दर्भमा प्राप्त सुझाव उक्त प्रतिवेदनमा समेटिएको सभापति भट्टले जानकारी दिए ।

सातै वटा प्रदेशमा गरिएको अन्तरक्रियामा प्राप्त सुझाव, समितिले गरेको भ्रमणको उद्देश्य, कार्यक्रम र उपलब्धि, भावी सोच र प्रस्तावित कार्यक्रमको निचोड र सुझाव उक्त प्रतिवेदनमा समेटिएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना र बारपाक सुलिकोट गाउँपालिकाको समितिका सदस्यले गरेको स्थलगत अवलोकन भ्रमण प्रतिवेदनमा आयोजनाको हालसम्मको प्रगति र कार्ययोजनाबारे प्राप्त सुझाव समावेश गरिएको छ ।

समितिले बारपाकमा भूकम्पछि निर्माण गरिएको भौतिक संरचनाको अवस्था र पूर्वाधार निर्माणका लागि जनताले पाएको राहतका विषयमा छलफल गरेको थियो । समितिले प्रदेशस्तरमा गरेको अवलोकन भ्रमणमा दिगो विकासका लक्ष्यलाई नेपालको सबै तहको राष्ट्रिय स्वामित्वलाई प्रबल बनाएको पाइएको तथा त्यहाँका समस्या र भावी कार्यक्रमबारे सुनिश्चित गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन ग्रहण गर्दै अध्यक्ष तिमिल्सिनाले दिगो विकासको लक्ष्य प्राप्त गर्ने प्रतिवेदनमा समेटिएका सुझावसहितका विषयवस्तुलाई कार्यान्वयन गरिने बताए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस