दाङमा पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

दाङमा पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै


२२ असार २०७६, आइतबार


दाङ । पर्याप्त वर्षा नहुँदा पश्चिम दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुनसकेको छैन । आज असारको २२ गतेसम्म यहाँ बढीमा २२ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको छ । तुलसीपुर उपमहानगरपालिकाका अधिकाश वडा, दङ्गीशरण, बबई र शान्तिनगर गाउँपालिकाको धेरै खेत बाँझै रहेको छ ।

कतिपय ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीऊ पनि मर्न थालेको छ भने केही ठाउँमा किसानले जसोतसो गरेर धानको बीऊसम्म राखेका छन् । कतिपय ठाउँमा भने अझै बीउ पनि नराखेको बताइएको छ ।

छिटफुट रुपमा दाङमा वर्षा भए पनि खोलामा भेल आउने गरी अझै पानी परेको छैन । पश्चिम दाङको शान्ति नगर गाउँपालिका–७ धनौराका ४० वर्षीय भानु चौधरीले कुुलोमा केहिले पानी आउला र रोपाइँ गरौँला भनी कुरेर बसेको बताए । उनले भने– ‘खेत जोतेर ठिक्क पारेको छु, ब्याड पनि रोप्ने भइसक्यो तर कुलोमा पानी छैन ।उनले असार महीना बित्नै लाग्दासमेत पानी राम्रोसँग नपरेकाले यस पटक धान उत्पादन राम्रो नहुने सम्भावना बढेको बताए ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१३ ढकनाका ५० वर्षीया रेशमी भट्टराईले पनि पर्याप्त पानी नहुँदा धान रोप्न नसकेको बताए । समयमा पानी नपरेपछि धानको बीऊ बोरिङको पानी प्रयोग गरेर राखेको बताउँदै उनले आफ्नो अधिकांश खेत आकासेपानीको भरमा रहेकाले पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न नपाएको गुनासो गरे

तुलसीपुर नगरपालिका–६ रजौराका ५५ वर्षीया ज्ञानु चौधरीले पनि पानी नहुँदा अहिलेसम्म एक कठ्ठा जमीनमा पनि धान रोप्न नसकेको बताए । कृषि ज्ञान केन्द्र घोराहीले दाङमा हालसम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले दाङको देउखुरी, क्षेत्र, घोराही नगरपालिकाका विभिन्न वडा, तुलसीपुर नगरपालिकाका केही वडामा धान रोपाइँ भएको बताए ।

उनले सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सम्पन्न भए पनि अन्य ठाउँमा भने हुन नसकेको बताए । उनले धेरै ठाउँमा किसानहरुले ब्याड राखी, खेत जोतिसकेका र एक/दुई दिनमा वर्षा हुने लक्षण देखिएको छ, वर्षा भएपछि रोपाइँ धमाधम हुने उनले ले बताए ।

बस्नेतका अनुसार दाङमा अधिकाश किसानले राधा ४, हर्दिनाथ, रामधन, सुख्खा १, सुख्खा ३, मनसुली जातको धानखेती गर्ने गरेका छन् । दाङमा ३९ हजार हेक्टर जमीनमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ । त्यसमध्ये केही जमिनमा सिँचाइ कुलो नहुँदा आकासे खेतीको भरमा समेत हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस