नेपालको निजामती सेवामा रहेका समस्या र आगामी बाटो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालको निजामती सेवामा रहेका समस्या र आगामी बाटो


किरणचन्द्र सवेदी

२२ असार २०७६, आइतबार


१. पृष्ठभूमि
हरेक राज्यको आधार स्तम्भ निजामती सेवा वा सार्वजनिक सेवा हो। राज्य आफै हरेक नागरिकको घरदैलोमा पुग्न सक्दैन। अति दुर्गम तथा दुर्गम भौगोलिक स्थानका जनताहरुलाई शासनको अनुभूति दिलाउने काम निजामती सेवाको हो। निजामती सेवाका पहरेदारहरू हरेक अप्ठ्यारा तथा प्रतिकुल समयमा पनि नागरिकका लागि सेवा प्रवाहका लागि खटेको इतिहास हाम्रो सामु रहेको छ। राज्यले उपलब्ध गराएको सीमित तलब भत्तामा विविध अप्ठ्यारा र चुनौतीपूर्ण कार्यहरू कर्मचारीहरूले गर्दै आइरहेको यथार्थ हाम्रो सामु रहेको छ, तथापि निजामती सेवा खोटरहित दोष मुक्त भने छैन । यस भित्र रहेका केही सीमित कर्मचारीहरूका कारण सिङ्गो निजामती सेवा बद्‌नामको अवस्थामा रहेको छ भने सम्पूर्ण निजामती कर्मचारीहरू प्रति आम नागरिकहरूले हेर्ने दृष्टिकोण नै नकारात्मक रहेको छ । यस्तो प्रतिकुल अवस्था निजामती सेवाका लागि चुनौती र अवसर दुवै हो भन्ने लाग्छ । आम नागरिकको नजरमा सकारात्मक दृष्टिकोणको विकास गराउने र समग्र राज्यको विकासका लागि रक्त सञ्चारको काम गर्नु आजको आवश्यकता रहेको छ।

दलीय व्यवस्थामा विभिन्न दलहरू चुनावमा सहभागिता जनाएर राज्य सञ्चालनको गहन जिम्मेवारीमा रहेका हुन्छन् । दल पिच्छे नीति र कार्यक्रमहरू रहेका हुन्छन् । चुनावमा नागरिकहरू समक्ष गरिएका बाचाहरू पूरा गर्ने उनीहरूको इच्छा हुन्छ । चुनावमा घोषणापत्र मार्फत बाचा गरिएका विषयहरू पूरा गर्नु उनीहरूको कर्तव्य समेत रहेको हुन्छ । हरेक चुनाव पिच्छे सरकारमा रहने दल फरक पर्न सक्छ तर निजामती सेवा मात्रै यस्तो सेवा हो जुन जुनसुकै दल सत्तामा आए पनि निरन्तर सेवामा रहेको हुन्छ । त्यस कारण निजामती सेवालाई स्थायी सरकार पनि भनिन्छ । यो स्थायी सरकारले राज्य सञ्चालनमा जुनसुकै दल आएपनि निस्स्वार्थ रूपमा सहयोग गर्नु उसको कर्तव्य हुन्छ । सरकारले ल्याएका नीति योजना तथा कार्यक्रमहरुलाई सफल बनाउन अहोरात्र खट्नु निजामती सेवाको धर्म हो । सम्बन्धित पदीय जिम्मेदारी र कार्य विवरण अनुसारको काम गर्नु, जनता र आफ्नो सङ्गठन प्रमुख प्रति जबाफदेही भई पदीय मर्यादा राखी जिम्मेवारी निभाउनु नैतिक आचरण पनि हो ।

२. निजामती सेवामा रहेका समस्या
आजको दिनमा पनि सरकारी अङ्ग मध्ये कोही बढी आलोचित छ भने त्यो हो निजामती सेवा । यो यथार्थलाई सबै कर्मचारीहरूले आत्मसात् गर्नु पर्दछ । गलत नै गरेर, सही कुराको पनि प्रचार गर्न नसकेर, जागिरलाई जीवन निर्वाहको माध्यम मात्रै ठानेर, निजामती सेवामा अत्यधिक राजनीतिक हस्तक्षेपलाई निस्तेज गर्न नसकेर वा अन्य विविध कारणले निजामती सेवा अत्यधिक आलोचित अवस्थामा रहेको छ । यसरी निजामती सेवाले आम नागरिकको मन जित्न नसक्नु वा आलोचित हुनुमा निजामती सेवामा रहेका निम्नानुसारका समस्याहरू पनि हुन भन्न सकिन्छ:

  • बहुल विविधतायुक्त राज्यको विशेषता अनुरूप नै निजामती सेवामा पनि विविधता रहेको छ । निजामती सेवामा विविधता व्यवस्थापनको असल अभ्यास हुन नसक्नु ।
  • सूचना सञ्चार प्रविधिमा आज कुनै पनि देशको भौगोलिक सिमाना बाधक नभएको अवस्थामा छ । प्रविधिको विकासले सिमाविहिन विश्वको अवधारणासँग समायोजित हुन नसक्नु र परिवर्तनलाई आत्मसात् गर्न नसक्नु ।
  • निजामती सेवा सार्वजनिक सेवाको एउटा अङ्ग हो । यो कुनै पनि प्रशासक वा कर्मचारीको पैतृक सम्पत्ति वा पेवा होइन तर सीमित प्रशासकहरू यस्तो मोहबाट ग्रसित छन् जसको असर सिङ्गो निजामती सेवामा बदनामको अवस्थामा रहेको छ । आफ्नो नातेदारको पदीय हैसियतले अर्को नातेदारले सङ्गठनमा प्रमुखलाई नटेर्ने अवस्था रहेको छ। अझै सङ्गठन प्रमुखलाई अनुचित दबाब र प्रभाव दिएको समेत सुन्न पाइन्छ ।
  • सङ्गठनमा ‘हामी’ होइन ‘म’ चलनमा छ । अनि ‘राम्रा’ हैन ‘हाम्रा’ को त बिगबिगी नै छ ।
  • निजामती सेवामा रहेका पदहरूको कार्य विवरण देशको आवश्यकता र प्रकृति अनुसार पनि परिभाषित गरिएका छन् । कस्तो पदका लागि कस्तो क्षमता वा योग्यता आवश्यक पर्छ भन्ने पूर्व व्याख्या भए तापनि Right Man at Right Place को मर्मलाई आत्मसात् गरिएको छैन ।
  • दक्षिण एसियाकै न्यून तलबमान नेपालको निजामती सेवाको रहेको छ । अधिकृत स्तरको कर्मचारीको तलबमान समेत आधारभूत आवश्यकता पूरा गर्न नसकिने रहेको छ । भष्ट्रचार बढ्ने कारणहरू मध्ये यो पनि एउटा हो ।
  • कर्मचारी अझै पनि आँफुलाई शासक नै ठान्छन् । आम जनतासँग सुमधुर सम्बन्ध राख्दैनन् । मान सम्मानको अपेक्षा गर्छन् ।
  • निजामती कर्मचारीको व्यक्तिगत सम्बन्धमा रमाउने बानी छ।हाकिमहरू पनि चाकडी गर्ने कर्मचारी मन पराउँछन् ।
  • बढी प्रक्रियामुखी भन्ने आरोप मुख्यतः कर्मचारीको नभएर ऐन कानुनको व्यवस्था बमोजिम हो तथापि कर्मचारीहरू Proactive छैनन् । यथास्थितिमा रमाउने बानी छ । साना कर्मचारीले चालेको सुधारको प्रयासमा ठुलाको सहयोग रहँदैन ।
  • तीव्र राजनीतिक धुव्रीकरण छ । राजनीतिक आस्थाका आधारमा सरुवा बढुवा प्रभावित हुन्छ । ट्रेड युनियनहरू समेत राजनीतिक एजेन्डामा चल्छन् ।
  • कर्मचारीमा उत्प्रेरणाको स्तर न्यून रहेको छ। सङ्गठनमा साङ्गठनिक संस्कारको विकास भएको छैन।
  • हरेक कुरामा हाकिमको मुख ताक्ने प्रवृत्ति आज पनि छ, हाकिम रिसाउला कि वा हाकिमले ठिक नमान्लाकि भन्ने सोच व्याप्त छ।
  • सञ्चार समन्वय छैन भन्दा पनि हुन्छ । भए पनि जोडवाल आवश्यक पर्छ। वाध्यात्मक छ ।
  • प्रविधिको प्रयोग अझै व्यापक हुन सकेको छैन ।
  • भए गरेका कामहरूको अभिलेखिकरण रिपोर्टिङ र प्रचार छैन । काम भए नभएको वा केके काम भए भन्ने विषय गुपचुप नै हुन्छ ।
  • केही हदसम्म कर्मचारीमा पदीय दायित्व भन्दा बढी महत्वाकांक्षी भावना पनि पार्इन्छ ।
  • अन्वेषण र नवप्रवर्द्धनलाई स्थान छैन ।
  • निर्णय निर्माण प्रक्रिया कडा छ । निर्णय गर्नुपर्ने अधिकारीको निर्णय क्षमता कमजोर छ ।
  • कर्मचारीमा समानुभाती र विवेकपना कम छ ।
  • भइपरी आउने सङ्कट समाधान प्रणाली छैन। सङ्कट समाधानमा न्यून न्यून चासो छ ।
  • सामूहिक कार्य भावना र वातावरण छैन । को जान्ने देखिने भन्ने मात्रै सोच छ ।

३. के गर्ने त ?

१ संस्थागत सुधारीकरण
समग्र निजामती सेवाको सुधारका लागि पहिलो कार्य संस्थागत सुधारीकरण हुन सक्दछ। यस अन्तर्गत प्रविधिगत सुधार, कार्य प्रणालीमा परिवर्तन वा सुधार, सङ्गठन सुधार, प्रविधिगत प्रक्रियामा सुधार लगायत गुणस्तर व्यवस्थापन र हाल भई रहेको कार्य जिम्मेवारी वा कार्य ढाँचामा पुनर्संरचित गर्नु रहन्छ। अन्तर समूहमा कार्य वातावरणको सुधार जस्ता विषयहरू यस अन्तर्गत पर्दछन् । एक अर्का कर्मचारीमा रहेका समस्या तथा धारणाहरूका सम्बन्धमा छलफल गर्ने गर्नु पर्दछ । यसले प्रभावकारी सञ्चारको विकास हुन्छ भने एक अर्का प्रति विश्वास र भरोसा एवं काम गर्ने तरिका समेतको आदान प्रदान हुन्छ ।
संस्थागत सुधारीकरण गर्दा ध्यान पुर्‍याउनु पर्ने विषयहरुः
१. के सुधारको प्रक्रियाले कर्मचारीको क्षमता क्षमता र सक्षमतालाई वढावा दिन्छ? र सङ्गठनको मूल कार्यलाई प्रवर्द्धन गर्छ ?
यसमा
• सरकारलाई सुझाव र जानकारी दिने संयन्त्र
• सरकारी निर्णयहरूको प्रभावकारी कार्यान्वयन
• सेवा प्रवाह
• प्रशासनिक कार्यक्रम सञ्चालन जस्ता विषयहरू स्पष्ट हुनु पर्दछ।

२. के प्रस्तावित सुधार कार्यक्रमले कर्मचारी र आम जनता वा सरकार बिचको विश्वास बढाउनमा मद्दत गर्छ ?
३. सुधारको स्पष्ट उद्देश्य के छ र यसको मापन कसरी गर्न सकिन्छ ?
४. सुधारको कार्य राजनीतिक रूपमा समेत सम्भाव्य छ ?
२ मानव संसाधन व्यवस्थापनमा सुधारीकरण

माथि समस्यामा उल्लेख गरिए अनुसार नेपालको निजामती सेवामा विविधता व्यवस्थापनको असल अभ्यास हुन सकिरहेको छैन । विविधता व्यवस्थापनमा पहिलो नजर जानु पर्दछ । कर्मचारीको कार्यसम्पादन मूल्याँकनलाई अव व्यवस्थापनमा ढालिनु पर्दछ । असल काम गर्ने र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई उत्ति वेलै पुरस्कृत गर्ने व्यवस्था गर्नु पर्दछ। कर्मचारीलाई उसको Immediate Boss बाट प्राप्त भएको प्रत्येक कामको छुट्टा छुट्टै मूल्याङ्कन गरी Reward गर्ने व्यवस्था हुनु पर्दछ भने कार्य सम्पादनमा कमजोर हुने वा आशातीत काम नगर्नेलाई सोही अनुसारको व्यवस्था गर्नु पर्दछ ।

नेपालको निजामती सेवामा ठुलो सङ्ख्यामा काम नगरी तलब खानेको सङ्ख्या रहेको छ। त्यसको उचित व्यवस्थापन हुनु पर्दछ । हाल निजामती सेवाले निकाली रहेको परिणाम राम्रो सँग काम गर्ने हो भने हालको आधी कर्मचारीहरूले नै गर्न सक्दछन् । भनेको अहिले भइरहेको निजामती कर्मचारीको आधी सङ्ख्या नाम मात्रका छन् वा बेकामै छन् । यस्तो समस्याको समयमै समाधान निकाली हाल्नु पर्दछ ।

मानव संसाधन व्यवस्थापनमा ध्यान दिनु पर्ने अर्को पक्ष कर्मचारीको समूह निर्माण र गतिशीलता कस्तो छ भन्ने हो । समूहमा काम गर्न सक्ने समूहको उचित परिचालन गर्न सक्ने, समूहलाई सहजिकरण गर्न सक्ने क्षमता संगठनलाई नै पुनर्संरचित गर्न सक्ने जस्ता क्षमता कर्मचारीमा हुनु हो । यस्ता विषयहरूमा कर्मचारीहरूको ज्ञान सीप र क्षमतामा विकास हुनु पर्दछ। त्यसै गरी कर्मचारीमा द्धन्द्ध तथा विवाद समाधान गर्न सक्ने क्षमताको विकास हुनु पर्दछ । समय समयमा तालिम लिने र दिन सक्ने हुनु पर्दछ । संस्थागत रूपान्तरण गर्न सक्ने सांस्कृतिक परिवर्तन गर्न सक्ने तथा कुशल रणनीतिक व्यवस्थापक भएमा मात्रै नेपालको निजामती सेवामा सुधार आउँदछ ।

४. उच्च कार्यसम्पादन भएका सार्वजनिक सेवाका विशेषताहरुः
१. नयाँ परिवर्तन (Innovation)
२. पारदर्शिता (Transparency)
३. जबाफदेही (Accountability)
४. सहयोग समन्वय (Collaboration)
५. प्रमाण जानकारी विश्लेषण (Evidence-Informed Analysis)
६. सार्वजनिक राजनीतिक प्रतिबद्धता (Public Political Commitment)

५. निष्कर्ष
देशको राजनीतिक अवस्था लगायत समग्र वस्तुस्थितिले नीति तर्जुमा एवं कार्यान्वयनमा समेत प्रभाव पार्दछ। नीति कार्यान्वयनको प्रमुख कर्ता सार्वजनिक सेवा वा निजामती सेवा हो । यसको उच्च प्रदर्शनबाट नै देशको छवि राम्रो देखिने लगायत जनताहरूमा सेवा प्रभावहको अनुभूति हुने गर्दछ । यसको सक्षमता नभएसम्म सेवामा गुणस्तरीयता आउँदैन भने सुधारको प्रक्रिया समेत अवरुद्ध हुन जान्छ। निजामती सेवाको कमजोर प्रदर्शनमा केवल कर्मचारी मात्रै दोषी छैनन्। बहुसरोकारयुक्त क्षेत्र भएकोले सुधारको प्रक्रियामा हरेकको साथ सहयोग र समन्वयको आवश्यकता पर्दछ । भनिन्छ, निजामती सेवाको विकल्प छैन तर यत्ति मात्रै होइन निजामती सेवामा सुधारको पनि विकल्प छैन। एक मात्र विकल्प भनेको नै सुधार हो।

Tags :
प्रतिक्रिया दिनुहोस