घुसको बिलौना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

घुसको बिलौना


दान बहादुर सुनार

२१ असार २०७६, शनिबार


व्यंग
दुई अक्षरले बनेको “घुस” म निकै चर्चा कमाउन सफल भएको छु । पत्र पत्रिका, रेडियो, टिभी लगायतका समाचार माध्यममा मेरो खुबै चर्चा हुन्छ । पत्रकारहरूको लागि त म मसला नै बन्छु । जतिसुकै चर्चा कमाउन सफल भए पनि मेरो कुनै ठेगान छैन । एक ठाउँमा शान्तसँग मैले बस्न पाएको छैन ।

कहिले यता, कहिले उता, कहिले तल, कहिले माथि के कुन ठाउँमा मेरो प्रयोग हुन्छ, त्यसको कुनै ठेगान छैन । जहाँ जसरी भए पनि मलाई प्रयोग गरिएको छ । मैले पनि चुप लागेर दुनियाँको स्वार्थ पुरा गर्नपछि लागिरहनु पर्ने, कस्तो विडम्बना ! भित्री रूपमा म जति प्यारो छु, बाहिरी रूपमा म त्यो भन्दा बढी बदनाम भएको छु । मेरो न्वारान पनि कसले गरिदिएको रहेछ, कस्तो साइतमा मेरो नामकरण भएको रहेछ, मेरो नाम सुन्ने बित्तिकै मान्छेले छिःछि गरेर मलाई हेला गरेर हिड्छन ।

नेतादेखि कर्मचारी, ठेकेदार, व्यापारीसम्म मलाई यति माया गर्दछन् कि सायद उनीहरू मेरा सच्चा प्रेमी नै हुन । गहिरो लभ नै पर्‍यो कि जस्तो लाग्छ। तर Valentine Day जस्तो मेरो कुनै Day हुँदैन । One side Love पर्‍या जस्तो मेरो पछि दगुरेका दगुर्‍यै हुन्छन् । म भने भाग्दै हिँड्छु । दुनियाँको सामुन्ने मेरो बदनाम नहोस्, कसैले मेरो नाम सुन्ने बित्तिकै छिःछि नगरोस भनी आफ्नो इज्जत जोगाउन लुकी लुकी हिँड्ने गरेको हुन्छु । तर के गर्ने मसँग One side Love गरिरहेकाहरू पनि मलाई लुकी लुकी नै भेट्न मन पराउँदा रहेछन् ।

खुला ठाउँमा र सबैले देख्ने ठाउँमा म कहिल्यै छाती फुलाएर हिँड्न नपाउने रहेछु । मेरो प्रयोग त अँध्यारो कोठा, होटेलका कोटिहरूमा, ट्वाइलेटमा तथा बजारका गोप्य गल्लीहरूमा हुँदो रहेछ । कति बेला सोच्छु मैले पनि आफ्नो अधिकारको लागि लड्नुपर्छ, स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउनुपर्छ । खुल्ला रूपमा हिँड्न र बोल्न पाउनु पर्दछ । तर मेरो साथ दिने कोही भेटिँदैनन् । लोकतन्त्रमा अरूले अधिकार पाउने मैले भने लुकी लुकी चोर जस्तै हिँड्नुपर्ने ।

ती घुस्याहा भनाउँदा नेता, कर्मचारीहरू मेरो स्वतन्त्रता र सम्मानका लागि किन लडुन्, जबकि तिनीहरूले मलाई अँध्यारो कोठी र कुना कन्दरामा मात्र भेट्न मन पराउँदछन् । मलाई एकान्त ठाउँमा बलात्कार गर्न पल्केका ती भ्रष्ट्राचारीले मेरो पक्षमा किन आवाज उठाउन त ?

कस्तो विडम्बना मसँग लुकी लुकी एकतर्फी माया गरिराख्ने ती भ्रष्ट्राचारीहरुले आफ्नो नामको अगाडि मेरो नाम झुण्ड्याई सच्चा प्रेमी प्रेमिकाको पहिचान किन दिँदैनन् ? यदि मसँग सच्चा प्रेम गर्थे भने त आफ्नो नाम घुस्याहा कर्मचारी, घुस्याहा नेता, घुस्याहा ठेकेदार, घुस्याहा व्यापारी राखेर रवाफ देखाई हिँड्नुपर्ने !

कस्तो अचम्मको लीला छ मेरो, अफिसमै पनि टेबुलमाथिबाट खुलेर मलाई कसैले लिँदैनन् । टेबुल मुनिबाट लुकेर मलाई लिने, फायलको भित्र लुकाएर, ट्वाइलेटको कोठामा पसेर, रक्सी भट्टीमा गल्लीका कुना कुनामा मलाई प्रयोग गर्न पल्केका नरपिचासहरु तपाईँले मलाई यति खेलौना बनाउँदासम्म मैले टुलुटुलु हेरेर बस्नुपर्ने ? तिमीहरूले गर्नसम्म मलाई शोषण गर्दा, त्यसको बदलामा के दिन्छौ त ?

तिमीहरूको कारणले म कति बदनाम भएको छु यसको बयान गरी साध्य छैन । मन्त्रीहरूले कानुन मिचे, पदको दुरुपयोग गरे मेरै कारणले, ठेकेदारले गुणस्तरीय काम गरेनन् मेरै कारणले, कर्मचारीले फायल अड्काउने, काम नगरिदिन, जनतालाई दुःख दिने मेरै कारणले, हेर्दा हेर्दा त सानो कामको लागि पनि मेरो प्रयोग हुन थाल्यो । अब त सबैले प्रयोग गर्ने भाषा नै भइसक्यो, घुस बिना केही काम हुँदैन ।

आखिर म नै रहेछु सबै कामको बिगाडतन्त्र राष्ट्र डुबाउने, ढुकुटी रित्ताउने, कर्मचारीतन्त्र बिगार्ने, नेता बिगार्ने, विकास हुन नदिने, कालोबजारी गर्ने लगायतका कार्यमा मेरै पो हात रहेछ । साँच्चै म त महान् खलनायक पो रहेछु । तर मैले चाहेको थिएन । म खलनायक हुन पाउँ भनेर, मलाई कुनै रहर पनि थिएन यतिसम्म बिगाडतन्त्र बन्ने । मलाई यतिसम्म बदनाम गराउने, मलाई खलनायक बनाउने अरू नै हुन । मलाई लुट्नसम्म लुटे, शोषण गरे, ठुला ठुला महल खडा गरे, चिल्ला कारमा हिँडे, ठुला ठुला भुँडी बनाए, 5 Star होटेलमा बसी ह्विस्की, रेड लेभल सँगै मासुका चोक्टा तानेर मोजमस्ती गरी हिँडे अनि बदनाम चाही मैले हुनुपर्ने । स्रष्टाले पनि कस्तो वरदान दिएका, मैले यतिसम्म के बिगारेको थिए र ?

अब भने म पनि न्यायको लागि लड्छु, अड्डा अदालतमा धाउँछु, आफ्नो सम्मान, स्वतन्त्रता र अधिकारको लागि मुद्दा दायर गर्दछु । यो लोकतन्त्रमा मैले पनि सम्मानपूर्वक बाच्न पाउनु पर्दछ, स्वतन्त्र भई हिँड्न पाउनु पर्दछ । यति गर्दा पनि न्याय पाएन भने मेरो मुक्तिका लागि म यमराजको शरणमा जान्छु । जबसम्म मेरो अन्त्य हुँदैन, मेरो मुक्ति हुँदैन, तबसम्म यो देशमा सच्चा लोकतन्त्र स्थापना हुन सक्दैन, देशमा सुशासन आउँदैन, कानुनको शासन स्थापना हुन सक्दैन, दण्डहीनता र भ्रष्ट्राचारले प्रश्रय पाउँछन्, कालोबजारी मौलाउँदै जान्छ । तसर्थ यो देशको उज्जल भविष्य, यो देशमा जनताको संवृद्धिको लागि र नेपाल आमाको शिर ठाडो पार्नका लागि भए पनि म यो देशबाट बिदा हुन चाहन्छु ।

मलाई यो देशमा न्याय मिल्दैन भने म यमराजको शरणमा गएर आफ्नो र यो देशको मुक्ति दिलाउन चाहन्छु । म जति बदनाम र तिरस्कृत भएको छु, त्यो मेरो कारणले होइन । मलाई बदनाम गराउने यो देशका शोषक, सामन्त, भ्रष्ट, दलाल र राक्षसी मानसिकता भएका नरपिचासहरु हुन ।

अब म भगवानसँग प्रार्थना गर्न चाहन्छु, अब मेरो अन्त्यसँगै यी भ्रष्ट, सामन्त र दलाल नरपिचासरुको पनि अन्त्य होस । नेपाल र नेपाल आमाको श्राप लागोस्, देश डुबाउनेहरू सबैको अन्त्य होस।

मेरो अन्त्यसँगै जबसम्म मेरो पछि लाग्ने भ्रष्ट्राचारीहरुको अन्त्य हुँदैन, तबसम्म यो देशमा सुशासन र संवृद्धि आउँदैन। तसर्थ म घुसको अन्त्यसँगै घुस्याहा र भ्रष्ट्राचारीको पनि अन्त्य होस भनी भ्रष्ट्राचारीको अन्त्यको कामना र यो देश र जनताको दिर्घायुको लागि प्रार्थना गर्दै बिदा हुन चाहन्छु । नमस्कार । जय होस् ।

प्रतिक्रिया दिनुहोस