लोक सेवाको परीक्षा पास गर्ने अचुक उपाय « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

लोक सेवाको परीक्षा पास गर्ने अचुक उपाय


महेश पाण्डे

१९ असार २०७६, बिहिबार


lok-sewa-tayari-

जीवन निर्वाहका विभिन्न विकल्पहरू रहेका हुन्छन् । सबैले आफ्नो आफ्नो क्षमता, योग्यता र सीप बमोजिमको पेसा, व्यवसाय अपनाएका हुन्छन् । त्यसमा कुनै निकाय, संस्था वा सरकारी कार्यालयहरू जागिरकालागि उत्तम विकल्प हुन सक्छन् । यस्ता विकल्पहरूमा पछिल्लो समय सरकारी जागिर धेरैको आकर्षणको केन्द्र बन्दै गएको छ । स्थायित्व, सेवाको सुरक्षा, भविष्यको योजना लगायतका सुविधाहरूले गर्दा तलबमान अन्य निजी तथा गैर सरकारी संस्थाहरूको तुलनामा कम भए पनि जागिरका लागि सरकारी सेवाले महत्त्व पाउँदै गएको यथार्थ हो । अझै पनि निजामती सेवा तर्फ प्रवेशको लागि चेतना अर्थात् ज्ञानको कमी हुनु, भौगोलिक विकटता तथा सूचनाको कमीले गर्दा निजामती सेवामा पहुँच स्थापित हुन नसके पनि पछिल्लो समयमा गरिएको समावेशी लगायतका व्यवस्थाले सरकारी सेवामा प्रतिस्पर्धाको लागि अवसर नपाएका गुन्जनहरु बिस्तारै कम हुँदै गएका छन्  ।

निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उमेद्वार चयनका गर्न परीक्षा लिने काम लोक सेवा आयोगले लिने प्रावधान नेपालको संविधानले गरेको छ । लोक सेवा आयोग प्रतिको भरोसा, विश्वसनीयता र साखले गर्दा दूर दराजमा रहेका व्यक्तिहरू समेत निष्पक्ष प्रतिस्पर्धाका लागि एक मात्र रोजाइ लोक सेवा आयोगको परीक्षालाई बनाएका कारण बजारमा योग्य जनशक्तिको हरेक वर्ष वृद्धि हुँदै गएको छ । हजारौँ व्यक्तिबाट सीमित व्यक्तिले मात्र सेवामा प्रवेश गर्ने अवसर पाउने हुँदा लोक सेवा परीक्षा पास गर्नु एक चुनौती नै बनेको छ । जहा इच्छा त्यहाँ उपाय भने जस्तै कडा परिश्रम र मेहनत गर्ने व्यक्तिहरू सेवामा प्रवेश गर्ने सम्भावना प्रबल हुन्छ । प्रस्तुत लेख विषयगत लेखमा कसरी पढ्ने र लेख्ने बारेमा केन्द्रित रहेको छ । यसका लागि तल उल्लिखित केही उपायहरूलाई मनन गर्नु जरुरी छ :

१) लोक सेवाको परीक्षा एक तपस्या नै भएकोले अध्ययन गर्नु अगाडि आफूमा आत्मविश्वास, धैर्यता र निरन्तरता हुनु जरुरी छ । म सक्छु र गर्छु भन्ने दृढ सङ्कल्प लिएर मात्र लोक सेवाको तयारी गर्नुपर्छ अन्यथा शुरुमै अन्य विकल्प चयन गर्नु उत्तम हुन्छ ।

२) लोक सेवाको परीक्षा सबैको रोजाईको विषय भएकाले आफूलाई कसरी फरक रूपमा प्रस्तुत गर्न सकिन्छ भनी थप अध्ययन गर्नु पर्छ ।

३) कुनै पनि विषय वस्तुको अध्ययन गर्दा त्यसको अवधारणा, अर्थ, परिभाषा, उद्देश्य, विशेषता, समस्या, समस्याका कारणहरु, प्रभाव, समस्यासँग सम्बन्धित मौजुदा नीतिगत तथा संस्थागत व्यवस्थाहरू तथा सुझावहरूको ढाँचामा अध्ययन गर्दा बढी भन्दा बढी पाठ्यक्रम समेटिन्छ ।

४) पाठ्यक्रममा उल्लिखित विषयहरूको बारेमा स्पष्ट हुन जरुरी छ । जबसम्म अबधारणात्मकरुपबाट विषयवस्तुउपर परिचित हुन सकिँदैन तबसम्म परीक्षामा लेख्ने खुराक उपलब्ध हुन सक्दैन । यो नै सबैभन्दा महत्त्वपूर्ण र अचुक उपाय हो कि हरेक विषयवस्तुउपर स्पष्ट भई यो भनेको के हो भनी अर्थ लगाउन सक्ने हुनुपर्छ ।

५) बजारमा धेरै पाठ्यपुस्तक, गाइड तथा सोलुसन सामग्रीहरू उपलब्ध छन् । सूचनाको overload भयो भने पनि अध्ययनलाई हानी हुन सक्छ । त्यसैले शुद्ध तथ्याङ्क र आधिकारिक स्रोतको खोजी गर्नु जरुरी छ । उपयुक्त पाठ्यसामग्रीको छनौट गरी कुनै एकलाई आधार बनाउनु पर्छ र अन्यलाई सन्दर्भको रूपमा उपयोग गर्दै अध्ययनमा थप निखार ल्याउनुपर्छ ।

६) रेडियो सुन्ने, टिभी हेर्ने, पत्र पत्रिका पढ्ने र दैनिक घटनाहरू डायरीमा नोट गर्ने बानी बसाल्नुपर्छ । पत्रिकाका बिचार तथा दृष्टिकोण स्तम्भमा उल्लिखित लेखहरूलाई सम्भव भएसम्म दैनिकरुपमा अध्ययन गरी आफ्नो पाठ्यक्रमसँग मिल्ने गरी आबद्ध गर्दा प्रभावकारी हुन्छ जसबाट परीक्षामा लेख्ने खुराकमा वृद्धि हुन्छ ।

७) विभिन्न संस्थाहरूले सञ्चालन गरेका ट्युसन कक्षाहरू पनि लिने प्रवृत्ति बढ्दो छ । यो आफैमा खराब भने होइन । यसले एक खालको बजारको अवस्था बुझ्न र केही नयाँ बिचार सृजना गर्न मदत गरे पनि अध्ययन गर्ने आफै हो । उपत्यका बाहिर यस्तो सुविधा कम भएकाले बाहिर बसेर तयारी गरेका प्रतिस्पर्धी पनि डराउनु हुँदैन । पाठ्यक्रममा आधारित रहेर अध्ययन गर्ने हो भने जहा रहे बसे पनि आफूलाई अब्बल रूपमा प्रस्तुत गर्न सकिन्छ । जबसम्म आफू नै अध्ययनमा कटिबद्ध बन्न सकिँदैन तबसम्म अमृत नै ल्याएर पिलाए पनि त्यो कामयाब हुन सक्दैन ।

८) लेखाइ एक कला हो । पढेर मात्र हुँदैन, बुझ्नु पर्छ, बुझेर मात्र हुँदैन लेख्न सक्नुपर्छ लेखेर मात्र हुँदैन समयमा लेख्न सक्नुपर्छ त्यसैले समयको पावन्दीलाई ध्यान दिई सबै प्रश्नलाई सन्तुलित रूपमा लेख्नुपर्छ । उत्तर लेख्दा सङ्गठित, सिलसिलेवार, विषयवस्तुको स्पष्टता, सकारात्मक सोच र आत्मविश्वासका साथ प्रस्तुत गर्दा उत्तम हुन्छ ।

९) परीक्षामा उत्तर लेख्ने बेलामा बढी दोधार हुने अवस्था भनेको समूहीकरण गरेर लेख्ने वा सिधै बुँदामा लेख्ने भन्ने कुरामा हुन्छ । सकिन्छ भने समूहीकरण (clustering) गरेर लेख्दा बुदाहरु छुटेन सम्भावना कम हुन्छ । यसमा मुख्यतया नीतिगत, संरचनागत/प्रक्रियागत, व्यवस्थापकीय र व्यवहारगतरुपमा बुदाहरुलाई अलग गरी लेख्दा प्रभावकारी हुन्छ । यदि यसो गर्न सकिँदैन भने पनि आत्तिनु पर्दैन, बुँदाहरुलाई माथिका समूह सम्झेर सिलसिलेवाररुपमा लेख्दा पनि राम्रो हुन्छ ।

१०) उत्तर लेख्नु अगाडि प्रश्नलाई राम्रोसँग अध्ययन गरी उक्त प्रश्न कुन पाठ्यक्रमसँग आबद्ध हो आकलन गर्न सक्नुपर्छ । प्रश्नमा अरू प्रश्न पनि जोडिएर आउने भएकोले त्यसलाई break  गरी underline गर्नुपर्छ । त्यसपछि हरेक जोडिएका प्रश्नको अंकभार बमोजिम छुट्टै शीर्षक दिएर लेख्नुपर्छ ।

११) लोकसेवाले जहिले पनि तथ्यलाई विश्वास गर्छ त्यसैले उत्तर लेख्दा पृष्ठभूमि लामो बनाउने तर्फ लाग्नु हुँदैन । सिधै प्रश्नमा प्रहार गरी प्रत्यक्ष्य उत्तर लेख्नुपर्छ । बुँदागत रूपमा उत्तरलाई प्रस्तुत गर्दा प्रभावकारी हुन्छ । सकिन्छ भने चित्र, तथ्याङ्क वा उदाहरणलाई आधार बनाई उत्तरलाई मौलिक रूपबाट प्रस्तुत गर्न सकेमा लोक सेवाको परीक्षाको लागि उत्तम मानिन्छ ।

१२) उत्तर लेख्दा सरल, छोटो वाक्यमा, दोहोरो अर्थ नलाग्ने गरी लेख्नुपर्छ जसले गर्दा उत्तर पुस्तिका जाँच गर्नेलाई विश्वास कायम गर्न सहज हुन्छ । कहिले काहि प्रश्नले दोहोरो उत्तर पनि मागेको हुनसक्छ । जस्तै सार्वजनिक प्रशासनका सुधारका उपायहरू उल्लेख गर्नुहोस् भनी १० नम्बरको प्रश्न आयो भने प्रश्नले सुधारका उपाय भन्दा अगाडि समस्या पनि छ भन्ने स्पष्ट बुझ्नु जरुरी छ र समस्या उल्लेख नगरी सुधारका उपाय मात्र लेखेमा पुरा नम्बर आउन सक्दैन ।

१३) हरेक प्रश्नको उत्तर लेखे पछि अन्तिममा निष्कर्ष लेख्नु अनिवार्य हुन्छ । निष्कर्ष नै समग्र प्रश्नको सार भएकाले यो लेख्दा होसियारीपूर्वक प्रश्नलाई समेटने गरी सकारात्मक तथा आत्मविश्वासका साथ उत्तरको बिट मार्नुपर्छ ।

हरेक व्यक्तिको पढ्ने तरिका आ आफ्नै हुन्छ तर पढ्दा विषयवस्तु मेल खानेगरी, सुत्रबद्ध तरिकाले वा चित्र बनाएर अध्ययन गर्दा थप प्रभावकारी हुन्छ । सरकारी वेबसाइट, विभिन्न आयोग र समितिका प्रतिवेदनहरू, पोर्टल, आर्थिक सर्वेक्षण, संविधान, निजामती सेवा ऐन तथा पाठ्यक्रमसँग सम्बन्धित ऐन, स्थानीय तह सम्बन्धी ऐन र सो सम्बन्धी व्यवस्था, नियम, बजेट, नेपाल सरकारका नीति तथा कार्यक्रम आदिलाई मुख्य रूपमा अध्ययन गर्नुपर्छ । यसका अलावा सोपान मासिक, अन्तर्राष्ट्रिय मञ्च चैतन्य मञ्च, प्रशासन, कामाद, निजामती पत्रिका तथा विभिन्न मन्त्रालयले निकाल्ने जर्नलहरूलाई आधार बनाउनु पर्छ । विभिन्न सन्दर्भलाई आधार बनाएर आफ्नो व्यक्तिगत नोट बनाउन सकेमा परीक्षाको समयमा अत्यन्तै प्रभावकारी तथा समयको बचत हुने हुँदा यसमा ध्यान दिनु जरुरी छ । मन मिल्ने साथीहरुसग सम्बन्धित विषयहरूमा छलफल गर्ने, लेखेर एकले अर्काको जाँच गर्ने, सोध्ने आदि उपाय अपनाउँदा समेत अध्ययनमा निखार आउँछ ।

माथि उल्लिखित उपायहरूलाई मनन गरी दैनिक समय तालिका बनाउँदै अध्ययन गर्नुपर्छ । एकपटकको असफलतालाई नजिर बनाइ निराश हुनुहुँदैन । पटक पटकको प्रयासलाई आत्मविश्वासका साथ आत्मसात् गर्दै अगाडि बढ्न सकेमा असम्भव भन्ने केही हुँदैन । सफलता प्राप्त गर्नका लागि त्याग जरुरी भएको हुँदा सम्झेको बखत लोकसेवा पढ्छु भन्ने सोच राख्नेहरू कहिल्यै सफल हुन सक्दैनन् । कडा तपस्या, दृढ सोच, सकारात्मक भावना, आत्मविश्वास, निरन्तरता र प्रतिबद्धता लोक सेवा परीक्षा पास गर्ने अचुक मन्त्र हुन जसले तपाइको सोचलाई सफलतामा बदल्न निश्चित सहयोग गर्नेछ, शुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस