घुस लिएको आरोपमा शिक्षाका सब–इञ्जिनीयर पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घुस लिएको आरोपमा शिक्षाका सब–इञ्जिनीयर पक्राउ


१७ असार २०७६, मंगलबार


काभ्रेपलाञ्चोक । विद्यालयको भवन निर्माणका क्रममा घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकमा कार्यरत सब–इञ्जिनीयरसहित दुई जनालाई आज पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी उपरीक्षकको नेतृत्वमा आएको टोलीले सब–इञ्जिनीयर धनवीर भगत र उनका सहयोगी शिक्षाकै पूर्वकर्मचारी सब–इञ्जिनीयर निरजकुमार चौधरीलाई कार्यालयबाटै दिउँसो पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाले काभ्रेपलाञ्चोकको एक विद्यालयमर्मत सम्पन्न भएपछि कागजात मिलाउन विद्यालय व्यवस्थापन समितिबाट एक लाख ५० हजार घुस लिएको आरोपमा भगत र चौधरीलाई शिक्षा विकास तथा समन्वय एकाइ धुलिखेलबाट पक्राउ गरिएको बताए ।

शिक्षा विभाग सानो ठिमीमा कार्यरत भगत केही महीनादेखि मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकाको विद्यालय मर्मतको जिम्मेवारीमा काम गर्दै आएका थिए । भगतले घुस नलिई काम नगरेको भन्ने गुनासो आयोगमा आएपछि अनुसन्धान तथा पक्राउ गर्न प्रहरी उपरीक्षको नेतृत्वमा आयोग टोली धुलिखेल पठाइएको प्रवक्ता कोइरालाले बताए ।

भगतले चौधरीमार्फत घुस रकम लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोग टोलीका एक सदस्यले जानकारी दिएका छन् । उनका अनुसार भगतले सोमबार काठमाडौँस्थित एक बैंकमा घुस वापतको रकम जम्मा गर्न लगाएका थिए । बैंकमा रकम जम्मा भएको भौचरसहित घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस