भादगाउँ । भक्तपुर नगरपालिकाको जारी पाँचौँ नगरसभा बैठकले आज दुई निर्देशिका र कार्यविधि पारित गरेको छ । नगरसभाले विधायन समितिले पेश गरेको भक्तपुर नगरपालिकाको विपद् व्यवस्थापन कोष परिचालन निर्देशिका २०७६ र खेलकूद प्रशिक्षक सम्बन्धी कार्यविधि २०७६ सर्वसम्मत रुपमा पारित गरेको हो ।
नगरसभाद्वारा पारित निर्देशिका र कार्यविधिमाथि नगर सभासद् बलराम न्हिसुतु, राजेन्द्र माक, श्यामसुन्दर माता, सिद्धिराम अवाल, गोविन्द दुवाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । उनीहरुको जिज्ञासामाथि विधायन समितिका संयोजक हरिराम सुवालले विपद् व्यवस्थापन कोषको प्रयोग र खर्चबारे प्रष्ट पारेका थिए ।
यस्तै नगरको युवा तथा खेलकूद समितिका संयोजक श्यामकृष्ण खत्रीले हाल नगर खेलकूद समितिले छ विभिन्न खेलको प्रशिक्षण सञ्चालन गरिरहेको जानकारी दिए । युवालाई छाडा संस्कृति विरुद्ध सचेत पार्न कार्यविधिले सहयोगी भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे।
नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र आइपर्ने विपद् व्यवस्थापनका लागि प्राप्त कोष परिचालन गर्न विपद् व्यवस्थापन कोष परिचालन निर्देशिका तयार गरेको बताए ।रासस







