मनसुन मध्यक्षेत्र प्रवेश : अधिकांश स्थानमा वर्षाको सम्भावना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मनसुन मध्यक्षेत्र प्रवेश : अधिकांश स्थानमा वर्षाको सम्भावना


७ असार २०७६, शनिबार


काठमाडौं । बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ ।

वर्षा हुने गतिविधि क्रमशः बढ्दै जानेछ । “अबको एक ÷दुई दिनमा मनसुन पश्चिम क्षेत्रसम्म पुग्ने छ”, मौसमविद् शान्ति कँडेलले भने ।

आज देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशको तराईका भू–भागमा र पश्चिमी नेपालमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । दिउँसोपख मध्य भू–भागका केही क्षेत्रबाहेक देशका अन्य भू–भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार देशका पूर्वी र मध्य भू–भागमा सामान्यदेखि पूर्ण बदली रही देशका पश्चिमी भू–भागमा आंशिक बदली रही पूर्वका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव ८ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४० दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस