प्रदेशसभामा विनियोजन विधेयकमाथि छलफल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेशसभामा विनियोजन विधेयकमाथि छलफल


प्रशासन संवाददाता

६ असार २०७६, शुक्रबार


Shankar pokhrel

खस्यौली । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभामा प्रस्तुत गरेको विनियोजन विधेयक, २०७६ माथि छलफल भएको छ ।

खास गरी आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा केन्द्रित रहेर छलफल गर्ने कार्यसूची रहे पनि प्रदेशसभाका सदस्यले समसामयिक तथा राजनीतिक विषयमा नै केन्द्रित रहेर छलफलमा भाग लिएका छन् ।

नेपाली कांग्रेस प्रदेश नं ५ का संसदीय दलका उपनेता वीरेन्द्र कनौडियाले बजेटमा नयाँ मौलिकता नभएको दाबी गर्दै बजेट कनिका छरे जस्तै छरिएको आरोप लगाए । उनले भने, ‘बजेट निष्पक्ष र समानुपातिक वितरण हुन आवश्यक छ ।’

नेकपा संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठले विरोध गर्दैमा विकास नहुने उल्लेख गर्दै जनताको दिगो विकास र तत्कालीन विकासलाई ध्यानमा राखेर बजेट वितरण भएको बताए । सदस्य श्रेष्ठले बजेटमा रचनात्मक सहयोग गर्न आग्रह गरे ।

प्रदेशसभाका सदस्य अष्टभुजा पाठकले बजेट समावेशी नभएको बताए । प्रदेशसभाका सदस्य दिपेश थारुले विपद् व्यवस्थापनमा बजेट न्यून भएको उल्लेख गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्युनीकरणका लागि पनि बजेट आवश्यक भएको बताए ।

प्रदेशसभा सदस्य रमा अर्यालले प्रतिपक्षको आवाज नसुनेको आरोप लगाउँदै प्रतिपक्षको विषयलाई सम्बोधन गर्दा सरकार लक्ष्यमा पुग्ने बताए । प्रदेशसभाका सदस्य नारायण आर्चायले विपद् व्यवस्थापनमा योजना बनाउन आग्रह गर्दै कारागारको अवस्था अव्यवस्थित भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस