तीन अर्ब राजश्व छली गर्ने पन्ध्र जना विरुद्ध मुद्दा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

तीन अर्ब राजश्व छली गर्ने पन्ध्र जना विरुद्ध मुद्दा


प्रशासन संवाददाता

६ असार २०७६, शुक्रबार


काठमाडौं । विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करीब रु तीन अर्ब राजश्व छलेको पाइएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको ठिमि बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले कर छली गरी ठगी गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । उनीहरु विरुद्ध रु दुई अर्ब ९८ करोड ५७ लाख ५७ हजार ११५ विगो कायम गरी विगोको दुई गुणा जरिवाना र तीन वर्ष कैद सजायको माग दावीसहित काठमाण्डौ जिल्ला अदालतमा विहिबार मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

उनीहरुले विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाई) र पार्वती सूचीकारका नाममा आठ वटा फर्म दर्ता गरेर नक्कली बिजक तयार गरी राजश्व छलेको अनुसन्धानमा खुलेको मैनालीले जानकारी दिए ।

उक्त फर्मबाट गोपालप्रसाद भट्टराई र रिम्बरध्वज कार्कीले वस्तु तथा सेवाको खरीद बिक्रीको कारोवार नै नगरी झुटा बिजक बनाएर राजश्व चुहावट गरेको खुल्न आएको छ ।

यस्ता फर्महरुले बिजक मात्र जारी गर्ने गरेको, वस्तु तथा सेवाको वास्तविक खरीद बिक्री नगरी झुट्टा तथा नक्कली बिजक जारी गरेको र त्यसबाट प्राप्त हुने लाभमा सबैको समानुपातिक हिस्सेदारी भएकाले राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ बमोजिमको कसुर गरेको विभागको दाबी छ ।

राजश्व चुहावटमा फर्मका प्रोपाइटर भट्टराई र कार्कीको मुख्य संलग्नता देखिएकाले कर छली गरेको रकमको बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना तथा तीन वर्षसम्म कैद सजायको माग गरिएको छ ।

कर सहयोगी ललितराज कन्दङ्वा र गौरी मैनालीले राजश्व चुहावटमा सहयोग गरेको तथा लेखा परीक्षक जगन्नाथ गुरुङ, शरणबहादुर खड्का र टङ्कनाथ नेपालले गलत लेखा परीक्षण प्रतिवेदन तयार गरेकाले भट्टराई र कार्कीलाई हुने सजायको आधा सजायको माग दाबी गरिएको महानिर्देशक मैनालीले जानकारी दिए । उक्त घटनामा विभागले चार महीना अघिबाट अनुसन्धान थालेको थियो ।

यसअघि विभागले ८१ मुद्दामा रु १८ अर्ब ३२ करोडको बिगो तथा जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित २३८ जना विरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस