खानेपानीको माग गर्दै बडिमालिका नगरपालिकाको कार्यालयमा तालाबन्दी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खानेपानीको माग गर्दै बडिमालिका नगरपालिकाको कार्यालयमा तालाबन्दी


४ असार २०७६, बुधबार


बाजुरा । खानेपानीको माग गर्दै स्थानीयवासीले बडिमालिका नगरपालिकाको कार्यालयमा आज दिउँसो ताला लगाएको छ ।

धारामा पानी नआएको करीब एक महीना बित्न लाग्दा पनि नगरपालिका र मार्तडी वृहत खानेपानी उपभोक्ता समितिले व्यवास्ता गर्दा खानेपानीको अभाव भएपछि उनीहरुले ताला लगाएका हुन् ।

हातमा रित्तो भाँडा लिएर नारा जुलुस प्रदर्शन गर्दै उनीहरुले जिल्ला सदरमुकाम मार्तडीस्थित नगरपालिकाको कार्यालयमा ताला लगाएको दुनीहाट बजार व्यवस्थापन समितिका सचिव मदन रोकायाले बताए ।

धारामा खानेपानी नआएको एक महीना बित्न लाग्दा पनि सम्बन्धित निकाय मौन बसेपछि रित्तो भाँडा लिएर नारा जुलुससहित नगरपालिकामा ताला लगाउन बाध्य भएको रोकायाको भनाइ छ ।

मासिक रुपमा खानेपानीको महसुल तिर्ने गरेको भए पनि समयमै धारामा खानेपानी नआउँदा स्थानीय र व्यापारी र होटल व्यवसायी आन्दोलित भएका हुन् । मार्तडी बजारमा बस्दै आएका होटल व्यवसायी, व्यापारी, स्थानीय, निजी तथा सरकारी विद्यालयमा खानेपानी नआउँदा समस्या भएको छ ।

खानेपानी उपभोक्ता समितिको चरम लापरवाहीका कारण खानेपानीको अभाव देखिएको आरोप उनीहरुको छ । खानेपानीका पाइपलाइन सडक निर्माणका क्रममा स्काभेटरले छेदविच्छेद बनाएपछि सदरमुकाममा खानेपानीको अभाव भएको हो ।

बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले दोषीलाई कारवाही गर्ने र खानेपानी उपभोक्ता समितिका अध्यक्षलाई तत्काल सहज रुपमा खानेपानीको आपूर्ति व्यवस्था मिलाउने बारेमा पहल गर्ने बताए ।

मार्तडी खानेपानी उपभोक्ता समितिका अध्यक्ष खडकबहादुर रावलले मार्तडी–बडिमालिका पर्यटन मार्गको सडक निर्माण भइरहेकाले सडक निर्माणका क्रममा डोजरले पाइप काटेपछि खानेपानी नआएको उल्लेख गर्दै खानेपानीको सहज व्यवस्थापनका लागि कार्य भइरहेको बताए ।रासस

प्रतिक्रिया दिनुहोस