स्थानीय तह लोक सेवाका लागि सम्भावित विषयगत प्रश्नोत्तर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्थानीय तह लोक सेवाका लागि सम्भावित विषयगत प्रश्नोत्तर


४ असार २०७६, बुधबार


१. नेपालको संविधानअनुसार राज्यले के कस्ता नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुनबमोजिम विशेष व्यवस्थागर्न सक्ने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
उत्तर :- नेपालको संविधानको धारा १८ (३) अनुसार राज्यले निम्न नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुनबमोजिम विशेष व्यवस्था गर्न सक्ने व्यवस्था छ :
– सामाजिक, सांस्कृतिकदृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम,
– उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत,
–किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठनागरिक,
–लैङगिक तथा यौनिक अल्पसंख्यक,
– अपाङ्गता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय,
– पिछडिएको क्षेत्र र
– आर्थिकरुपले विपन्न खस आर्य ।
यसमा ‘आर्थिक रुपले विपन्न’ भन्नाले संघीय कानुनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति सम्झनुपर्ने व्यवस्था छ ।

२. गाउँपालिकाको अध्यक्ष तथा नगरपालिकाको प्रमुखको काम, कर्तव्य र अधिकार के–के हुन् ? लेख्नुहोस् ।
उत्तर :- गाउँपालिका तथा नगरपालिकाको कार्यविभाजन र कार्यसम्पादनसम्बन्धी व्यवस्था समबन्धित कार्यपालिकाले स्वीकृत गरेको नियमावलीबमोजिम हुने र यस्तो कार्यविभाजन नियमावलीमा अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडाध्यक्ष र सदस्यको काम, कर्तव्य र अधिकार उल्लेख भएको हुनुपर्ने व्यवस्था छ । उपरोक्त बमोजिमको नियमावलीबाट पदाधिकारीको कार्यविभाजन, काम, कर्तव्य र अधिकार नतोकिएसम्मका लागि गाउँपालिकाको अध्यक्ष तथा नगरपालिकाको प्रमुखको काम, कर्तव्य, अधिकार देहायबमोजिम हुने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन– २०७४ को दफा १६ मा उल्लेख छ :
– सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
–सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने,
– वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गराउने,
–सभाको अधिवेशन आह्वान र अन्त्य गराउने,
–सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने,
– कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने,
– उपाध्यक्ष वा उपप्रमुख, कार्यपालिकाका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाई काजमा खटाउने,
– स्थानीय तहबाट गर्नुपर्ने प्रमाणित वा सिफारिस गर्ने, (वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणि हुने विषयबाहेक)
–गाउँपालिका तथा नगरपालिकाको चल अचल सम्पत्ति हेरचाह तथा मर्मत–सम्भार गर्ने गराउने,
– आम्दानी, खर्च, हिसाब र अन्य कागजात सुरक्षित राख्ने, राख्न लगाउने,
– गाउँपालिका तथा नगरपालिकाका समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने,
– सार्वजनिक सेवा प्रवाहसम्बन्धी गुनासो व्यवस्थापन गर्ने, गराउने,
– सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा उनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने,
– सभा वा कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।

३. गाउँपालिका तथा नगरपालिकाको बजेट पेस गर्ने र पारित गर्ने प्रक्रिया लेख्नुहोस् ।
उत्तरः– स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिका तथा नगरपालिकाको बजेट पेस गर्ने र पारित गर्ने प्रक्रियाबारे निम्न व्यवस्था छ :
गाउँपालिकाको उपाध्यक्ष तथा नगरपाकिाको उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यव(बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र देहायको विवरण खुलाएर गाउँसभा तथा नगरसभामा बजेट पेस गर्नुपर्ने :
वार्षिक राजस्व व्ययमा खुलाउनुपर्ने विवरण  :
क. गत आथिर्क वर्षको राजस्व र व्इवयको यथार्थ विवरण,
ख. चालु आर्थिक वर्षको अन्त सम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान,
ग. आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र आयव्यवयको अनुमानित विवरण,

यसरी पेश भएको बजेटमाथि कार्यतालिका बनाई १५ दिन भित्र छलफलको काम सम्पन्न गरिसक्नुपर्छ । छलफल भएपछि गाउँसभा तथा नगरसभाले बजेट पारित गर्न वा सुझावसहित कार्यपालिकामा पठाउन सक्ने, यसरी सुझावसहित प्राप्त भएको बजेटउपर कार्यपालिकाले पुनर्विचार गरी आवश्यक परिमार्जनसहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारणसहित गाउँसभा तथा नगरसभामा पाँच दिनभित्र पुनः पेश गर्नुपर्ने र गाउन्सभा तथा नगरसभाले यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । त्यसैगरी, पहिलो निर्वाचनबाट गठन भएको गाउापलिका तथा नगरपालिकाका पदाधिकारीले पद बहाली गरेको दुई महिनाभित्र बजेट पेस गर्न र पारित गर्न बाधा परेको नमानिने व्यवस्था छ ।


स्रोत : गोरखापत्र 

Tags :
प्रतिक्रिया दिनुहोस