सभामुखले बोल्न समय उपलब्ध नगराएको कांग्रेसको आरोप « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सभामुखले बोल्न समय उपलब्ध नगराएको कांग्रेसको आरोप


४ असार २०७६, बुधबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्नका लागि समय माग गरेकोमा सभामुख कृष्णबहादुर महराले बोल्न समय उपलब्ध नगराएको आरोप लगाउँदै आपत्ति प्रकट गरेको छ ।

कांग्रस संसदीय दलको कार्यालयद्वारा जारी विज्ञप्तिमा विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सदनको ‘वेल’ घेर्नुपर्ने अवस्था सिर्जना भएको तथा सदनमा प्रमुख प्रतिपक्ष दलका नेतालाई नै बोल्न समय नदिनु सभामुखको गैरउत्तरदायी कार्य भएको भनी टिप्पणी गरिएको छ ।

प्रधानमन्त्री युरोप भ्रमण जाँदा सदनलाई कुनै जानकारी नदिएको र भ्रमणको पाँच दिनपछि मात्र राष्ट्रपति कार्यालयको पत्रबाट सदनलाई प्रधानमन्त्रीको युरोप भ्रमणबारे जानकारी भएको काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी सो पार्टीले मङ्गलबार प्रतिनिधिसभा बैठकमा भएको घट्नाको व्यवहारले ‘सरकार बहुमतको, संसद् प्रतिपक्षको’ भन्ने मान्यता कार्यान्वयन नभएको भनी टिप्पणी गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सभामुखले बैठक अघि नबढाई सोझै प्रधानमन्त्रीलाई बोल्न निम्त्याएर प्रतिपक्षी स्वरलाई निषेध गर्न खोज्दा संसद्मा द्वन्द्व भएको आरोप लगाएका छन् ।

संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्नुपूर्व प्रतिपक्षी नेताले आम नागरिकका चासोका विषयमा कुरा राखिसकेपछि प्रधानमन्त्रीले त्यसउपर आवश्यक सम्बोधन गर्दा लोकतान्त्रिक, व्यवहारिक र हार्दिक हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस