सिकलसेल बिरामीको निःशुल्क उपचार गर्दै उपमहानगर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सिकलसेल बिरामीको निःशुल्क उपचार गर्दै उपमहानगर


प्रशासन संवाददाता

३ असार २०७६, मंगलबार


घोराही । घोराही उपमहानगरपालिकाले सिकलसेल एनिमिया रोगको प्रारम्भिक जाँच गर्ने भएको छ । यही असार ११, १५ र १६ गते घोराहीका तीन स्थानमा सो रोगको प्रारम्भिक जाँच गर्ने उपमहानगरको स्वास्थ्य शाखाले जानकारी दिएको हो ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समेत उक्त रोगका बिरामीलाई निःशुल्क उपचार गर्ने कार्यक्रम ल्याएकामा सोहीअनुरुप आफ्नो क्षेत्रभित्र सिकलसेलका बिरामीको तथ्याङ्क सङ्कलनका लागि निःशुल्क शिविर आयोजना गरिएको उपमहानरले जनाएको छ ।

स्वास्थ्य शाखाले रामपुर, नारायणपुर र सौडियारमा एक/एक दिन शिबिरमार्फत स्वास्थ्य जाँच गर्ने योजना बनाएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए ।

प्रायः थारू समुदायका व्यक्तिमा उक्त रोग देखिएकाले सोही समूदायलाई नै प्राथमिकतामा राखेर जाँच गरिने उनको भनाइ थियो । तीन दिनमा करीब एक हजार व्यक्तिको प्रारम्भिक जाँच गर्ने र आवश्यक परामर्श तथा उपचार गर्नुपर्ने भए सम्बन्धित अस्पतालमा पठाइने गरी तयारी भएको उपमहानगरपालिकाका डा. प्रभात रिजालले जानकारी दिए ।

नेपालमा थारू समुदायमा देखिने उक्त रोग वंशाणुगत कारणले हुने गरेको डा.रिजालले बताए । उनका अनुसार अहिले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकलसेल बिरामीको निःशुल्क उपचारको व्यवस्था भए पनि नियमित नभएको बिरामीले गुनासो गरेपछि उपमहानगरले सिकलसेल बिरामीको जिम्मेवारी लिएको हो ।

नगरप्रमुख नरुलाल चौधरीले सो रोगका विषयमा सचेतना र उपचारमा सरकार प्रतिबद्ध रहेको हुँदा आफूहरुले सिकलसेलका बिरामीको उपचारलाई प्राथमिकतामा राखेकोे जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस