विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ : राष्ट्रपति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ : राष्ट्रपति


२६ जेष्ठ २०७६, आइतबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताएकी छन् ।

त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोडदिएकी हुन् ।

उनले ‘समृद्ध नेपाल सुखि नेपाली’को संकल्प पूरा गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएकी छन् । विश्वविद्यालयले शिक्षाका साथै आम्दानी र समृद्धिका लागि समेत काम गरेको बताइन् । विश्व विद्यालयहरु ज्ञान र अनुसन्धानका आधारमा अगाडि बढ्नुपर्ने भन्दै त्रिभुवन विश्वविद्यालयलाई अन्तर्राष्ट्रियकरणको दिशामा अग्रसर हुन आग्रह गरिन् ।

उनले विश्वमा विज्ञान र प्रविधिले भूमण्डलीकरणमार्फत विश्वलाई ग्राममा रुपान्तरण गरेको सन्दर्भमा लोककल्याणकारी न्यायोजित मानव समाज निर्माणका लागि उच्चशिक्षाले दिशानिर्देश गर्न सक्नुपर्ने बताइन् ।

विद्यार्थीहरु गुणस्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा जाने क्रमले अन्तरविषयक ज्ञान र बहुसांस्कृतिक अनुभव एवं अनुसन्धानका लागि सामयिक हुने उनको भनाइ छ ।

यस्तै, विश्वविद्यालयका उपकुलपति डा. तीर्थराज खनियाँले विश्वविद्यालयको इतिहासमा यो सम्मेलन नयाँ कोसेढुङ्गा सावित हुने बताउँदै परिवर्तित सन्दर्भमा उच्चशिक्षालाई अन्तर्राष्ट्रियस्तरको बनाउन आफूहरुले नीतिगत सुधार गरेको जानकारी दिए ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा. भीमप्रसाद सुवेदीले अनुसन्धानमुखी र गुणस्तरीय उच्च शिक्षाका लागि आयोगले सघाउँदै आएको बताए ।

शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले उपयुक्त पाठ्यक्रम, अनुसन्धान र व्यवस्थापनको संयोजनले मात्रै विश्वविद्यालय शिक्षा गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको हुने बताइन् ।

नेपालसहित विभिन्न सात मुलुकका विज्ञहरुको कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा उच्च शिक्षाका पाठ्यक्रम र अध्यापक शास्त्र, अनुसन्धान र नवप्रवर्तन तथा उद्यमीकरण र व्यवस्थापन आदिबारे अनुभव आदान–प्रदान हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस