ह्विलचियरको सहारामा पत्रिका वितरण « प्रशासन

ह्विलचियरको सहारामा पत्रिका वितरण


प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार १०:२६

भजनी । काम गर्नका लागि शारीरिकरूपमा राम्रो भएर मात्रै हुँदैन, इच्छाशक्ति पनि चाहिन्छ । घरको आर्थिक अवस्थाले पनि काममा प्रेरित गरेको हुन्छ । त्यसको उदाहरण बन्नुभएको छ कैलालीको भजनीका रामदयाल चौधरी । राम्रोसँग बोल्न पनि आउँदैन, ह्विलचियरको साहारा । वैशाख जेठको तराइको गर्मी, कमजोर आर्थिक अवस्था, एक हजारका लागि एक महीना काम गर्नुपर्ने बाध्यता छ ३२ वर्षीय उनलाई ।

भजनी नगरपालिका–१ शिविर बस्तीमा घर छ । माटोले पोतेको खरले छाएको सानो घर । घरमा चार सदस्य आमाबुवा, भाइ र आफू । आमाबुवा दिनभरि मजदुरी गर्छन् । त्यहीबाट आएको पैसाले रामदयालको परिवार पालिएको छ । चार भाइमध्ये रामदयाल जेठा तर जन्मजातकै अपाङ्ग छन् । रामदयालले भजनी बजारमा कान्तिपुर पत्रिका वितरण गर्छन् । पत्रिका वितरण गरेवापत चौधरीले महीनाको एक हजार पाउँछन् ।

कच्ची सडकमा ह्विलचियर चलाएर पत्रिका ग्राहककोमा पुर्‍याउनु चुनौतीपूर्ण छ । तर, उनी मनभित्रका पीडा लुकाएर मन्दमुस्कानमा ग्राहककहाँ पुग्छन् । पसलमा पत्रिका पु¥याउन पुगेका रामदयाललाई देखेर व्यापारी पनि चकित हुन्छन् । “ठूलो काम गर्न सक्दिनँ, ह्विलचियरको सहाराले भए पनि पत्रिका भने बाँडिरहेको छुँ, घरमा बसेर पनि आमाबुबाको बोझ मात्र भएजस्तो लाग्छ ।” उनले भने, “महीनाको एकै हजार आए पनि आफ्नो खर्च त टर्छ । मनमा भएका तनाव त हट्छन् । त्यही भएर पनि पत्रिका वितरणको काम शुरु गरेको हुँ ।”

भजनीको महुन्याल माध्यमिक विद्यालयबाट १२ कक्षासम्मको अध्ययन गर्नुभएका रामदयालले एसएलसीमा ८३ प्रतिशत ल्याएर विद्यालयको दोस्रो बनेका थिए । उनले सोही विद्यालयबाट ११ कक्षा निःशुल्क पढ्न पाए पनि १२ कक्षामा आर्थिक अवस्थाकै कारण पढ्न नसकेको बताए । “पढ्ने रहर छ तर, पैसा छैन पढेर जागिर पाउँला भन्ने आशा पनि छैन”, रामदयालले भने, “जसरी पनि जिन्दगी चल्दोरहेछ, चलाउनु पर्दोरहेछ, कोही भएर पनि गर्न चाहँदैनन् गर्न चाहनेसँग केही छैन ।”

स्थानीय मदरल्यान्ड इङ्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल खडक बुढाले रामदयालको कामबाट आफू प्रभावित भएको बताए । “म कक्षामा विद्यार्थीलाई पढाउँदै गरेको हुन्छु ह्विलचियरमा रामदयाल पत्रिका ल्याएर आउँछन्, एक मनले दया लाग्छ”, उनले भने, “मान्छेमा इच्छाशक्ति हुनुपर्दोरहेछ, काम ठूलो सानो हुँदैन, काम छैन भनेर दिन काट्ने युवालाई रामदयालले पाठ सिकाएका छन्, युवाहरूले रामदयालबाट केही सिक्न जरुरी छ ।”

शिविरमा रामदयालसँगै हुर्केका साथी अधिकांश अशिक्षित छन् । अशिक्षाका कारणले अरुको मजदुरी गरेर परिवार पाल्नु उनीहरुको दैनिकी हो । काम भए काम गर्न जाने, नभए गाउँमै रक्सी खाने, तास खेल्ने गरेको देखेर रामदयाललाई समय फजुलमा खर्च गरेको जस्तो लाग्छ । “काम नभए अरु केही पनि गर्न सकिन्छ, साथीलाई रक्सी र तासमा लागेको देख्दा दुःख लाग्छ”, रामदयालले भने, “यदि मेरो खुट्टाले सकुशल काम गर्न सकेको भए के–के न गर्थेँ जस्तो लाग्छ ।” रासस

प्रतिक्रिया दिनुहोस