शुक्लाफाँटामा बाह्रसिङ्गाको सङ्ख्या घटयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शुक्लाफाँटामा बाह्रसिङ्गाको सङ्ख्या घटयो


२२ जेष्ठ २०७६, बुधबार


कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्यामा कमी आएको छ ।

सन् २०१४ को तुलनामा सन् २०१९ मा बाह्रसिङ्गाको सङ्ख्यामा ५५ ले कमी आएको हो । सन् २०१४ मा २ हजार ३०१ बाह्रसिङ्गा रहेकामा सन् २०१९ मा यसको सङ्ख्या दुई हजार २४६ मात्र रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । सन् २०१९ को अप्रिल १४ देखि २८ सम्म गणना गर्दा यसको सङ्ख्या दुई हजार २४६ मात्र रहेको पाइएको निकुञ्जले जनाएको छ ।

सन् २०१९ मा गरिएको गणनामा बाह्रसिङ्गाका वयस्क भाले ३८३, पोथी एक हजार २०८, अर्धवयस्क भाले १३९, पोथी ३१५ र पाठापाठी २०१ गरी कूल दुई हजार २४६ बाह्रसिङ्गा निकुञ्जमा रहेको प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले बताए ।

‘शून्य चोरी शिकारी रहे पनि बाह्रसिङ्गाको सङ्ख्यामा कमी आएको पाइएको छ’, उनले भने, ‘बाह्रसिङ्गाको सङ्ख्यामा कमी आउनुका प्रमुख कारण के हो, यसको खोजीका लागि निकुञ्जले अध्ययन कार्यअगाडि बढाएको छ ।’

बाह्रसिङ्गा नेपाल र भारतमा मात्रै पाइने स्तनधारी वन्यजन्तु हो । नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै यो वन्यजन्तु पाइने गरेको छ । शुक्लाफाँटा घाँसेमैदानमा विश्वमा नै सबैभन्दा ठूलो झुण्डका रुपमा रहेको बाह्रसिङ्गा अवलोकन गर्न सकिन्छ । शुक्लाफाँटाको घाँसेमैदानसहित सुन्दरीफाँटा, हरैयाफाँटा, बिचुवाफाँटा, अण्डैयापटैयाफाँटा, करैयाफाँटा र नजीकका निकुञ्ज भित्रको वन र सिमसार क्षेत्र बाह्रसिङ्गाको बासस्थानका रुपमा रहेको सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताए ।

उनका अनुसार निकुञ्जको स्थापनाकालमा अर्थात् सन् १९७६ मा बाह्रसिङ्गाको सङ्ख्या ९०० रहेकामा सन् १९९३ मा बढेर यसको सङ्ख्या एक हजार ८५० पुगेको थियो । त्यसपछि सन् २००७ मा बाह्रसिङ्गाको सङ्ख्या १ हजार ६७४, सन् २०१० मा एक हजार ७३७, सन् २०११ मा एक हजार ७४३, सन् २०१२ मा एक हजार ८२५ र सन् २०१३ मा दुई हजार १७० रहेका थियो ।

बाह्रसिङ्गा गणनाका लागि चार वटा हात्तीसहित निकुञ्ज कार्यालयका १५, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका दुई र राष्ट्रिय प्रकृति संरक्षण कोषका तीन जना गरी २० जना टोली खटिएको थियो । हात्तीमा सवार गणकहरुले टाउको गन्ती (हेड काउन्ट) का आधारमा बाह्रसिङ्गा गणनाको कार्य गरेको बताइएको छ ।

नीलगाई ८२

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नीलगाईको सङ्ख्या ८२ रहेको पाइएको छ । पहिलो पटक गरिएको गणनामा वयस्क भाले १६, वयस्क पोथी ४०, अर्धवयस्क भाले दुई, अर्धवयस्क पोथी सात र बाच्छाबाच्छी गरी ८२ वटा नीलगाई फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले जानकारी दिए ।

नीलगाई नेपाल, भारत र पाकिस्तानमा पाइने स्तनधारी वन्यजन्तु हो । नेपालको शुक्लाफाँटा, बर्दिया, चितवन, बाँके र पर्सा राष्ट्रिय निकुञ्जसहित कोशीटप्पु वन्यजन्तु आरक्षमा यसको बासस्थान रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नीलगाई बाघको मुख्य आहारा प्रजातिका रुपमा रहेको छ ।

निकुञ्जको खुल्ला सालको वन र मध्यवर्ती क्षेत्रको खेतीपाती नजीकको वन क्षेत्रमा नीलगाई पाइने गरेको छ । निकुञ्जको महाकाली किनार, पलिया, सुन्दरीफाँटा, मझगाउँ, हात्तीथला, जोनापुरी, भतपुरी, तारापुर बेलडाँडीलगायतका क्षेत्रमा नीलगाईको अवलोकन गर्न सकिन्छ ।

वनमा डढेलोबाट जोगिन वन्यजन्तुहरू मानव बस्ती र चुरे क्षेत्रमा बासस्थान खोज्दै पुग्ने गरेका छन् । यो समय वन्यजन्तुका लागि निकै सङ्कटको समय हो । प्रचण्ड गर्मीका कारण वनमा डढेलो लाग्न थालेपछि बास्थानको खोजीमा वन्यजन्तु अन्यत्र जान थालेका छन् । अहिले चुरे पर्वतको तल्लो भावर इलाकादेखि तराईको जङ्गल निकटका बस्तीमा नीलगाई भेटिन थालेको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस