नगरपालिकामा विपत व्यवस्थापन: व्यवस्था र अवस्था « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नगरपालिकामा विपत व्यवस्थापन: व्यवस्था र अवस्था


प्रशासन विशेष ब्युरो

२२ जेष्ठ २०७६, बुधबार


विपत भन्नाले आकस्मिक रूपमा मानवीय वा प्राकृतिक कारणले घट्ने विनाशकारी घटना घटेको अवस्था हो । भूकम्प बाढी पहिरो भूक्षय खडेरी आगलागी लडाई सुनामी हुरी महामारी आदि घटना विपतका उदाहरण हुन् ।

विपतको योजना, पूर्वतयारी, प्रतिकार्य, जोखिम न्युनीकरण, उद्धार, राहत, पुनर्स्थापना, पुनर्निर्माण जस्ता कार्यको चक्र हो,विपत व्यवस्थापन । सदैव तदारुकता रही संस्थागत तथा संरचनागत व्यवस्था गर्नु पनि विपत व्यवस्थापनकै पाटो हो ।

प्राकृतिक तथा गैरप्राकृतिक विपद्‍बाट सर्वसाधारणको जीउ ज्यान र सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्नका लागि विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्नु स्थानीय सरकारको कार्यसूची हो । यी सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रूपमा कार्यान्वयनका लागि धेरै नगरपालिकाको विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ जारी भइसकेको छ ।

नगरपालिका भित्रको विपत व्यवस्थापन सम्बन्धी कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नगर विपत व्यवस्थापन समिति गठन गरिएको छ । जसमा नगर प्रमुख संयोजक रही उपप्रमुख, कर्मचारी, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घ ,गैरसरकारी संस्था, पत्रकार, दलका प्रतिनिधि आदि सहितको प्रतिनिधित्व रहन्छ ।

लेखक कार्यरत पाँच खाल नगरपालिकामा नगर स्तरीय विपत व्यवस्थापन समिति गठन गरी हालसम्म पाँच पटक बैठक बसिसकेको छ । पाँच खाल नपा वडा नं १२ मा भएको तिज कार्यक्रमको भोजमा विषादीयुक्त खानाको कारण बिरामी परेका व्यक्तिलाई तत्काल उपचार गर्ने र उपचार खर्च जुटाउने सम्बन्धमा विभिन्न निर्णय गरिएका छन् । २०७६ ज्येष्ठ १ बसेको उक्त समितिको बैठकले नगरपालिका भित्र घट्ने आकस्मिक विपतका घटना पीडितलाई विपत व्यवस्थापन कोषबाट रु १० हजार भुक्तानी गर्ने निर्णय गरेको छ । यस कोषमा नेपाल सरकारबाट सशर्त अनुदान प्राप्त रु ५ लाख रकम रहेको छ।

धेरै नगरपालिकाको आर्थिक वर्षको वार्षिक कार्यक्रममा वातावरण तथा विपत व्यवस्थापनका लागि वन तथा भू संरक्षण, जलाधार संरक्षण, जलवायु अनुकूलन कार्यक्रम, रिचार्ज पोखरी निर्माण, फोहर मैला व्यवस्थापन लगायतका शीर्षकमा बजेट विनियोजन गरिएको छ । पाँच खाल नगरपालिकामा बजेटका त्यस्ता कार्यक्रम मध्येका ९० प्रतिशत भन्दा बढी सङ्ख्याका आयोजनाको सम्झौताका कार्य भएका छन् जसमा आधा भन्दा बढी कार्यक्रमको फरफरका भइसकेको छ । यस मध्ये फोहरजन्य विपत रोकथामका लागि ल्यान्ड फिल्ड साइट निर्माण शीर्षकमा १० लाख रुपैयाँ विनियोजन भएको छ। ल्यान्ड फिल्ड साइटको निर्माण लगायतका फोहोर व्यवस्थापनका लागि प्राविधिक अध्ययन सम्झौता भई कार्य अगाडी बढिरहेको छ । एक नगरपालिकाले अर्को नगरपालिकाको साँधमा लगेर फोहोर थुपार्ने परिपाटीको अन्त्यको लागि अन्तर नगर फोहर प्रशोधन केन्द्र निर्माणको लागि भइरहेको प्रयासलाई घनीभूत बनाउनु जरुरी हुन्छ ।

जिल्ला नापी कार्यालयबाट जोखिम आकलन गरिएका नक्सा प्राप्त गरी पाँच खाल नगरपालिकाले भूकम्प, पहिरो, आगलागी, बाढी, हावाहुरी, खाद्य प्रदूषण तथा औधोगिक जोखिमलाई क्रमशः उच्च देखि न्यून जोखिमका रूपमा पहिचान गरिएको छ । उच्च जोखिममा रहेको आगलागी नियन्त्रणका लागि दमकल खरिद प्रक्रिया यस वर्ष टुङ्गिनेछ । बाढी नियन्त्रणका लागि झिगुखोला बाँध परियोजनाको सम्भाव्यता अध्ययन गरिएको छ । साथै खोलाहरूमा बाँध बाँध्ने कार्यलाई निरन्तर रूपमा अगाडी बढाई दै आएको छ ।

प्रादेशिक स्तरमा माटो, हावा र पानीमा हुने प्रदूषण परीक्षण प्रयोगशाला स्थापनाको लागि प्रारम्भिक चरणको छलफल सम्पन्न समेत भएको छ । उक्त प्रयोगशाला स्थापना हुन सकेमा जैविक एवं रासायनिक प्रदूषणबाट हुनसक्ने विपत न्युनीकरणको लागि सहयोग पुग्दछ ।

वातावरणमैत्री दिगो विकासका लागि औधोगिक ग्राम, विशेष आर्थिक क्षेत्र, सुनकोशी खाने पानी आयोजना जस्ता ठुला आयोजनामा प्रारम्भिक वातावरणीय अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने नियमलाई पालना गरिएको छ ।

विपत व्यवस्थापनका सम्बन्धमा नगरपालिकाको संस्थागत क्षमता विकास गर्ने प्रयासलाई पूर्णता दिनु पर्ने देखिन्छ । विपतका घटना हुनासाथ खोज, उद्धार र राहत लगायतका प्राथमिक कार्यहरू तत्काल गर्नको लागि संस्थागत संयन्त्र स्वतः: परिचालित हुने अवस्था निर्माण गर्नुपर्ने हुन्छ ।

भौतिक संरचना निर्माण गर्दा भवन संहिता लगायत अन्य स्वीकृत निर्देशिका वा मापदण्डको पालना गर्न सबै नगरपालिकाका नगरवासीको सहयोग देखिएको छ ।

विपतबाट स्थानीय स्तरमा निजी तथा सार्वजनिक क्षेत्रबाट भइरहेको सेवा प्रवाहमा अवरोध आइपरेमा सोको पुनःसञ्चालनका लागि सेवा निरन्तरताको लागि धेरै नगरपालिकामा क्षमता सवलीकरण भइरहेको छ ।

स्थानीय समुदायलाई विपतप्रति जागरुक बनाउन, विपतसँग सम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपतको  घटना हुनासाथ प्रतिकार्यका लागि परिचालित हुन वडा तथा समुदायस्तरमा समावेशी विपत पूर्वतयारी तथा प्रतिकार्य समिति गठन गर्ने कार्यमा नगरहरू पछाडि परेको देखिन्छ । स्थानीय समुदायलाई विपतप्रति जागरुक बनाउने, विपतसँग सम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपतको घटना हुनासाथ प्रतिकार्यका लागि तयारी अवस्थामा राख्ने कार्य वडा स्तरबाट भएमा प्रभावकारी हुन्छ ।

नगरपालिकामा विपत व्यवस्थापन सूचना प्रणाली तथा पूर्वचेतावनी प्रणालीको विकास र सञ्चालन गर्ने कार्यमा सङ्घीय र प्रादेशिक सरकारसँग सहकार्य गर्नु पर्ने हुन्छ ।

विपतको समयमा जोखिममा रहेको समूह विशेष गरी महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्तिउपर हुन सक्ने घटना(लैङ्गिक हिंसा, बेचबिखन तथा अन्य कुनै पनि किसिमका शोषण) रोकथामको लागि विशेष सतर्कता अपनाई सचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ । विपतको समयमा स्थानीय आमसञ्चारका माध्यमहरूको भूमिका पनि महत्त्वपूर्ण रहन्छ । साथै निजी एवम् गैरसरकारी संस्था, स्थानीय स्वयंसेवक, सामाजिक परिचालक लगायत सम्बन्धित सबै पक्षको समन्वय र संलग्नतामा मात्र नगरपालिकाले विपत व्यवस्थापन गर्न सक्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस