गगनको प्रश्न : सांसद भएर खुसी होउँ कि नागरिक भएर दुःखी ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गगनको प्रश्न : सांसद भएर खुसी होउँ कि नागरिक भएर दुःखी ?


२१ जेष्ठ २०७६, मंगलबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको चुनौतीलाई स्वीकार गरेका छन् । सोमबार प्रतिनिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा महासचिव पौडेलले वृद्ध भत्ताका बारेमा प्रतिपक्षी दललाई दिएको चुनौतीलाई मंगलबार नेता थापाले स्वीकार गरेका हुन् ।

‘हुन त एक जना बलवान सांसद, जसले बालुवाटारको जगै हल्लाइदिने हिम्मत राख्नुहुन्छ– यहाँ उभिएर चुनौती दिनुभयो– वृद्धभत्ताका बारेमा बोल्ने हिम्मत छ ?,’ मंगलबार बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘मेरो हिम्मत छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले विदा लिँदै गर्दा ६५ वर्षको उमेरमा पाँच हजार वृद्धभत्ता पुर्याउँछु भनेर भन्दै गर्दा हचुवाको भरमा वृद्धभत्ता बढाउन पाइँदैन भनेर विरोध गरेको मात्रै होइन । कानुन बनाउँदै गर्दा ७० वर्षभित्रलाई आधार वर्ष बनाउनुपर्छ भनेर उमेर झार्न पाइँदैन भनेर कानुन संशोधन गर्न लगाउने सांसद हुँ म ।’

नेता थापाले सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र नभएर गैरनगदको प्रबन्ध गरेर पनि सामाजिक सुरक्षा गर्न सकिने बारेमा सरकारलाई सुझाव दिए । ‘सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन । गैरनगदको प्रवन्धबाट तीन हजारमात्र होइन, ३० हजारको सुविधा प्राप्त गर्ने अवस्था कसरी बनाउने भन्ने बारेमा छलफल गर्ने कुरा वान्छनिय छैन ?,’ उनले सरकारलाई प्रश्न गरे ।

बलियो सरकारले विद्धान् अर्थमन्त्री पाएर पनि देशलाई केही दिन नसकेको कांग्रेस नेता थापाको टिप्पणी थियो । ‘यत्रो बलियो कम्युनिस्ट सरकारले विद्धान अर्थमन्त्री पाउँदै गर्दा देशले के पाउने भए त सभामुख महोदय ? बाआमाले हजार रुपैयाँ, निर्वाचन क्षेत्रको कार्यक्रममा थप दुई करोड । तपाईंको नाम यिनै दुई कामले राख्नमा सन्तोष मान्न खोज्नुभएको हो भने मेरो भन्नु केही पनि छैन,’ उनले अर्थमन्त्री डा। युवराज खतिवडालाई ईंगित गर्दै भने ।

उनले प्रतिपक्षी दलको सांसदका रुपमा आफूलाई खुसी लागिरहे पनि आमनागरिकको हैसियतमा आफू दुःखी भएको बताए । ‘प्रत्यक्ष निर्वाचित सांसद हुँ म, विकासको माग मलाई पनि थाहा छ । प्रतिपक्षको सांसद भएर खुसी लागेको छ,’ थापाले भने, ‘तर, नागरिक भएर सोच्छु– फेरि अझै तीन वर्ष यही सरकारले बजेट बनाउँछ । मेरो नागरिकका रुपमा रहेको तीन वर्ष अझै खेर जाने भयो । यत्रो अनुकूलको अवसर खेर जाने भयो। नागरिक भएर दुःख लागेको छ ।’

उनले सभामुख कृष्णबहादुर महरामार्फत् अर्थमन्त्री खतिवडालाई प्रश्न गरे, ‘सम्माननीय सभामुखमार्फत् अर्थमन्त्रीज्यूलाई सोध्न चाहन्छु– सांसद भएर खुसी होउँ कि नागरिक भएर दुःखी होउँ रु म खुसी होउँ कि दुःखी होउँ अलमलमा परेको छु ।’

प्रतिक्रिया दिनुहोस