दश हजार जनसङ्ख्यामा एक कुष्ठरोगी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दश हजार जनसङ्ख्यामा एक कुष्ठरोगी


२१ जेष्ठ २०७६, मंगलबार


डोटी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा प्रति १० हजार जनसङ्ख्यामा एक कुष्ठरोगी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कैलाली, कञ्चनपुर र अछाम जिल्लामा अझै कुष्ठरोग निवारण नभएको जनाएको छ ।

नेपालमा कुष्ठरोग निवारणको घोषणा १० वर्ष पुगे पनि सुदूरपश्चिम प्रदेशमा अझै निवारण नभएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । प्रदेशका सबै जिल्लामा कुष्ठरोगीको सङ्ख्या बढ्दै गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ मा प्रति १० हजार जनसङ्ख्यामा क्रमशः शून्य दशमलव ७ र शून्य दशमलव ६७ थियो भने गत वर्ष बढेर १.०५ कुष्ठरोगी भेटिएका हुन् । गत आर्थिक वर्षमा प्रति १० हजारमा १७८ कुष्ठरोगी देखिएका छन् । आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ मा प्रति १० हजारमा क्रमशः शून्य दशमलव ९ र १ दशमलव ११ कुष्ठरोगी रहेका थिए ।

त्यस्तै, कञ्चनपुरमा गत आर्थिक वर्षमा प्रति १० हजारमा १.४४ कुष्ठरोगी भेटिएका छन् । २०७२/७३ देखि २०७३/७४ प्रति हजारमा क्रमशः शून्य दशमलव ८ र शून्य दशमलव ९४ कुष्ठरोगी रहेका थिए । गत आर्थिक वर्षमा अछाममा प्रति १० हजार जनसङ्ख्यामा १ दशमलव १८ कुष्ठरोगी भेटिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ मा क्रमशः १ दशमलव ३ र शून्य दशमलव ८ कुष्ठरोगी रहेका थिए । छ महीनायता मात्रै सुदूरपश्चिम प्रदेशमा ४० नयाँ कुष्ठरोगी भेटिएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले बताए। उनले भने, केष्ठरोगीको सङ्ख्या सुदूरपश्चिममा वर्षेनी बढिरहेको पाइएको छ, यसको रोकथामका लागि ठोस पहल थाल्नुपर्ने अवस्था आएको छ ।’

नेपाल सरकारले २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । त्यतिबेला १२ जिल्लामा यो रोग निवारण भएको थिएन । अहिले भने १८ जिल्लामा कुष्ठरोगी भेटिएका छन् । विगतमा कुष्ठरोगीलाई अपहेलना गर्ने र उनीहरुलाई गाउँ निकाला गर्ने गरेका कारण पनि मानिस उपचार गराउन नआउने गर्नाले कुष्ठरोगको सङ्क्रमण बढिरहेको छ ।

कुष्ठरोग उपचार गरेमा निको हुन्छ भन्ने चेतना नभएका कारण बिरामी स्वास्थ्य संस्थामा नआउने गरेकाले स्वास्थ्यकर्मीले आफैँ पत्ता लगाएर उपचार गर्ने गरेको निर्देशक डा अवस्थीले बताए । ‘शरीरमा जुनसुकै रङको नदुख्ने, नचिलाउने तथा लाटो दाग देखिएमा तुरुन्त अस्पताल गई उपचार गराउनुपर्ने बताउँदै डा अवस्थीले भने, ‘पुरानो मान्यतालाई छाडेर अगाडि बढ्नु जरुरी छ ।’

उनले शुरुआती चरणमा उपचार गराएमा शरीरमा हुने क्षति रोकिने बताए । ढिलो गरी उपचार गराउँदा रोग निको भए पनि शरीरमा भएको क्षति पूर्ण नहुने उनले बताए । कुष्ठरोगको उपचार गराउन स्वास्थ्य संस्थामा ढिलो गरी पुगेका करीब ३० हजार नेपाली कुष्ठरोगका कारण अपाङ्गता भएका छन् ।

देशभर कुष्ठरोगीको सङ्ख्या बढ्दै गएपछि सरकारले सन् २०२० सम्म देशका सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । देशको संरचना परिवर्तनसँगै स्वास्थ्य क्षेत्रको संरचना फेरिएकाले काम गर्न गाह्रो भएको निर्देशक डा अवस्थीको भनाइ छ ।

नेपाल सरकारको कुष्ठरोग निवारण नीति २०१६ ले बच्चामा हुने कुष्ठरोग र कुष्ठरोगका कारण हुने अपाङ्गता शून्यमा झार्ने र कुष्ठरोगको दर प्रति एक लाखमा झार्ने लक्ष्य लिएको छ । सुदूरपश्चिम स्वास्थ्य सेवा निर्देशनालयले कुष्ठरोगको उपचार निःशुल्क गर्नुका साथै नियमित औषधि सेवन गरी निको भएका बिरामीलाई रु एक हजार यातायात खर्च दिने गरेको छ ।

कुष्ठरोगीको शल्यक्रिया गर्नु परे निःशुल्क गरिने र शल्यक्रिया गरेका बिरामीलाई थप रु सात हजार सहयोग दिने गरेको बताइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस