दुर्गममा टेलिकमको अत्याधुनिक सेवा, उच्च हिमाली भेगमा पनि थ्रीजी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुर्गममा टेलिकमको अत्याधुनिक सेवा, उच्च हिमाली भेगमा पनि थ्रीजी


२१ जेष्ठ २०७६, मंगलबार


काठमाडौं । नेपाल टेलिकमले मुलुकका विभिन्न विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवा प्रदान गर्ने क्रमलाई तिव्रता दिएको छ ।

कम्पनीले हालै रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दुर्गम र विकट भेगहरुमा मोबाइल सेवा सुरु गरेको हो ।

कम्पनीले हालसम्म मोबाइल तथा टेलिफोनजस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट यी स्थानहरुमा हालै कम्पनीले सञ्चार सेवा पुर्याउन सफल भएको जनाएको छ । टेलकमका अनुसार हालै ४ हजार २९० मिटर उचाइमा अवस्थित रसुवाको पाङसाङ डाँडामा बीटीएस राखिएको छ ।

यसबाट लाङटाङ ट्रेकिङ रुट, गोसाइकुण्ड ट्रेकिङ रुटको केही भाग, ठूलो स्याफ्रु, भिम्सा, सिंगवा, नागथली, ग्यात्लाङ, शेर्पा गाउँ, लामा होटल, घोडा तबेला, मुन्टु, सिङडुङ, खाङजिम आदि स्थानमा मोबाइल सेवा उपलब्ध हुनेछ । यसबाट सो क्षेत्रका ५ सय घरधुरीका करिब २ हजार जनसंख्यालाई सेवा उपलब्ध हुनेछ । रसुवाकै ३ हजार २ सय ४२ मिटर उचाइमा अवस्थित लाङटाङ पदमार्गमा पनि टेलिकमले अर्को बीटीएस टावर राखेको छ । यसबाट लाङटाङ उपत्यकाका २ सय घरधुरीका करिब ७ सय जनसंख्याले सञ्चार सेवा उपभोग गर्न पाउने छन् ।

टेलिकमले ताप्लेजुङको विकट स्थान घुन्सामा पनि सेवा उपलब्ध गराएको छ । ३ हजार ८ सय २५ मिटर उचाइमा अवस्थित यस टावरमार्फत् घुन्सा, थामे, ज्याल्पा र कञ्चनजंघा बेसक्याम्प आदि स्थानमा सेवा उपलब्ध हुनेछ । यसबाट ८० घरधुरीका करिब ३ सय जनसंख्या लाभान्वित हुनेछन् ।

यसैगरी डोल्पाको मुकोट र शे–फोक्सुन्डोमा पनि हालै बीटीएस सञ्चालनमा आएका छन् । ३ हजार ३ सय १६ मिटर उचाइको मुकोटमा अवस्थित टावरमार्फत् छार्का तान्सुङ गाउँपालिकाका दुई वडा र काइके गाउँपालिकाका दुई वडा तान्छिन र खानीगाउँमा सेवा उपलब्ध हुनेछ । त्यसैगरी ३ हजार ७ सय ४ मिटरको शे–फोक्सोन्डुमा अवस्थित टावरमार्फत् शे–फोक्सुन्डोका दुई वडा र्याती र पुग्मा तथा रिग्मो, रिखे, ताप्रिजा र फोक्सुन्डो तालसम्म सेवा प्रयोग गर्न सकिने छ । दुवै टावरमार्फत् करिब २ हजार सेवाग्राहीले सेवा पाउन सक्नेछन् ।

कम्पनीले हालै मुस्ताङको घमी र छोसेरमा समेत सेवा उपलब्ध गराएको छ । घमी ३ हजार ८ सय मिटर र छोसेर ४ हजार २ सय ७० मिटर उचाइमा अवस्थित छन् । यसबाट याराघारा, घमी, ढाकमर, गर्थु, न्याम्दो, चुङजुङ र कोरला जाने रुटसम्म सेवा उपलब्ध हुनेछ । त्यसैगरी उपल्लो मुस्ताङको छुसाङमा पनि थ्रीजी मोबाइल सेवाको सुरुवात भएको छ । यहाँस्थित बीटीएसले त्यहाँका छुसाङ, जेताङ र चैले गाउँका बासिन्दालाई मोबाइल र इन्टरनेट सुविधा उपलब्ध गराउने छ ।

बीटीएस टावर स्थापनापछि यी भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएका छन् । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने कम्पनीको नीति रहेको टेलिकमले बताएको छ ।

मुलुककै अग्रणि दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मुलुकका विभिन्न विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवाहरु उपलब्ध गराउँदै आएको छ । नाफालाई मात्र ध्यानमा नराखी मुलुकभर सेवा विस्तार गर्दै आएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस