नासु पदस्थापनको एक हप्ते सकस, हात लाग्यो शून्य ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नासु पदस्थापनको एक हप्ते सकस, हात लाग्यो शून्य !


सञ्जय नेपाल

१९ जेष्ठ २०७६, आइतबार


म सञ्जय नेपाल । २०६५ सालमा नेपाल प्रशासन सेवाको नायव सुब्बा(नासु) पदमा निजामती सेवामा प्रवेश गरेको हुँ। ११ वर्षको जागिरे जीवनमा नौ वर्ष ख वर्गको भौगोलिक क्षेत्रको जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पतालमा काम गरेँ भने दुई वर्ष उपत्यकामा काम गरेँ ।

म एक अपाङ्गता भएको कर्मचारी हुँ । मेरो अपाङ्गता पी आइ एस मा अशक्तता विवरण भन्ने ठाउँमा मजाले खुलाइएको छ । हाल सिन्धुपाल्चोक जिल्लाको एक नगरपालिकाको प्रशासन शाखा हेर्ने गरी काम गरिरहेको अवस्थामा समायोजन ऐन २०७५ अनुसार स्वैच्छाले सङ्घ रोजेँ । तर के थाहा सङ्घ रोज्नु नै जागिरे जीवनको भुल भयो भन्ने कुरा ।

मेरो समायोजन पत्र कार्यालयमै आयो, खुसी नै भइयो । तर पदस्थापनलाई महाभारत भई रहेछ । मेरो स्थानमा स्थानीय तह रोजेर एक तह बढुवा भई सहकर्मी आए पश्चात् मैले तत्कालै जिम्मेवारी हस्तान्तरण गरी सो को जानकारी मन्त्रालयमा दिई सकेँ ।

निजामती सेवामा ज्येष्ठताको ठुलो महत्त्व हुन्छ । समायोजन ऐनले पनि ज्येष्ठतालाई महत्त्व दिएको छर्लङ्गै छ । आफू भन्दा ३ वर्ष, ४ वर्ष कनिष्ठ कर्मचारी एक तह वृद्धि भई आइसक्दा पनि हामीलाई सङ्घको कुनै कार्यालयमा पदस्थापन नगरी ढिलाइ भईहँदा कता कता नमज्जा महसुस हुँदो रहेछ ।

कनिष्ठ सचिव मुख्य सचिवमा बढुवा हुँदा वरिष्ठले राजीनामा दिए जस्तो मैले राजीनामा दिन पनि सकिनँ । छोड्ने मनसाय राखेको कार्यालयमा मलाई जबरजस्ती राखिँदा खै मैले कुन मुखले हाँसी हाँसी जनताको सेवा गर्न सक्छु जस्तो लागेर आउँदो रहेछ । यही अन्यौलता बिच मैले मिति २०७६ सालको ज्येष्ठ ३ देखी १० गतेसम्म घर बिदा स्वीकृत गराई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदस्थापनको लागि भनसुन गर्न जाने विचार गरेँ ।

–जेठ ३ गते शुक्रवार भयो । सामान्यको कर्मचारी प्रशासन शाखामा को रहेछन् भनी भेटघाट गर्ने काम गरेँ । सचिवज्यूलाई भेट गर्न खोजेँ, भेट पाउन सकिनँ ।

४ गते शनिवार वर्तमान सरकार निकट रहेका ट्रेड युनियनका नेताजीहरू जो सँग म दशौँ वर्षदेखि परिचित छु, भेटघाट गरी पदस्थापनमा सहयोगको लागी अनुरोध गरेँ । आश्वासन पनि पाएँ ।

५ गते आइतबार मन्त्रालयको कर्मचारी प्रशासनमा बुझ्दा गृह मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत सरुवा भई जाने भए निवेदन दिनु भन्ने सूचना पाएँ । जीवनका ९ वर्ष गृह अन्तर्गत जागिर खाई सकेको र भूमि व्यवस्थामा जान मन नभएकोले निवेदन दिइन ।

६ गते सोमबार पनि मन्त्रालयमा सहसचिवज्यूलाई कुर्दैमा बित्यो । केही काम भएन ।

७ गते मङ्गलवार आधिकारिक ट्रेड युनियनका नेताहरूलाई आफैले मन्त्रालयमा पु¥याएँ र भन्न लगाएँ । नेताजीहरूले सहजरुपमा भनी दिएको छ गएर हाकिमलाई भेट्नु काम हुन्छ भने । केही आशा पलायो ।

८ गते बुधवार सहसचिवज्यूलाई भेट गरेँ, कुरा राखेँ । अत्यन्त व्यस्तताका वबचमा पदस्थापन सम्बन्धी कुरा मलाई हैन कर्मचारी प्रशासनको उप सचिवलाई राख्नुस् भन्नुभयो र सोही बमोजिम अपाङ्गता भएका निजामती कर्मचारी समाज नेपालका अध्यक्षलाईसमेत साथ लिई भेटेर उपसचिव ज्युलाई अनुरोध गरियो । जहाँ जाने इच्छा हो त्यहाँको सहमति लिई आउनुस् भन्ने कुरा भयो । हस् भनेर हिँडे यद्यपि अहिले पदस्थापनलाई सहमति नचाहिने कुरा थाहा थियो ।

९ गते बिहीबार उपत्यकामा रिक्त रहेका कार्यालयहरूमा सहमति माग्न दौडधुप गरेँ । सबै कार्यालयहरूले कि पहिले नै कसैलाई सहमति दिई सकेका वा अहिले सहमति दिनै नसकिने कुरा गरे । निराश भएँ ।

१० गते शुक्रवार निजामती अस्पतालको ओपिडीको लाइनमा थिएँ, हाकिमले फोन गरेर भने कि पदस्थापनको पत्र लिई आउनुस्, रवाना लिएर जानुस् हैन भने रिक्त भएको वडाको जिम्मेवारी सम्हाल्नुस् । यसरी सङ्घमा समायोजन भइयो भन्दैमा बिदा लिएर बस्न पाइन्न । हस् भनी कुरा टुग्याएं ।

शुक्रवारै मेरो स्थानीय तहको जिम्मेवारी हस्तान्तरण भएको पत्र, अपाङ्गता परिचय पत्र, समायोजन पत्र तथा अपाङ्गता भएका कर्मचारीहरूलाई उनीहरूको सुविधा अनुरूप पदस्थापन गरिने मन्त्रालयको नीति भएको स्मरण पत्र सहित निवेदन लेखेर जहाँ पदस्थापन गर्दा मन्त्रालयलाई उपयुक्त लाग्छ त्यहाँ पदस्थापन गर्नुस् भनी कर्मचारी प्रशासनका उप सचिवलाई निवेदन दिएँ ।

कर्मचारीहरूको ठुलो घेराका बिच उप सचिवज्यूले सबै कुरा ओल्टा ई पल्टाई हेर्नु भो र कुनै इच्छा लागेको कार्यालय तोकेको भए हुन्थ्यो भन्नु भो । मैले भनेको ठाउँमा सरुवा हुँदैन त्यही भएर जहाँ भए पनि पदस्थापन गर्दिनुस् भने । ठिक छ दर्ता गराउनुस् भनी तोक लगाइदिनु भो ।

शुक्रवार दर्ता गराई मन्त्रालयबाट फर्के । बडा तनावको स्थिति बन्यो । यसो सम्झेँ । नचिनेको कोही छैन । काम नगर्ने कोही भन्दैन । सबैले तपाइ जस्ताको पदस्थापन त हुनु पर्ने हो भन्छन् । उपत्यका भरी पदहरू खाली नै खाली देखिरहेको छु । पदस्थापन चाहिँ भइरहेको छैन । अचम्म छ ।

बेलुकी मैले चिनेका सबै कर्मचारी नेताहरूलाई एक हप्तासम्म मन्त्रालय धाउँदा पनि काम हुन नसकेकाले दुःखी भएको म्यासेज पठाएँ । उत्तर आएन । म जस्ता कर्मचारीकै लागी भनेर नेता भएका तिनले म्यासेज हेरे की हेरेनन् थाहा पाइएन । खैर, आइतबारबाट हाकिमको निर्देशन बमोजिम वडाको जिम्मेवारी वहन गर्न फर्किसकेँ ।

कर्मचारी हुँ, पाएको जिम्मेवारी म त पुरा गर्छु । हेरौँ सम्बन्धितले कहिले गर्छन् । अरू उपाय पनि त छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस