विस्फोटमा परी तीनको मृत्यु, अनुसन्धान जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विस्फोटमा परी तीनको मृत्यु, अनुसन्धान जारी


१२ जेष्ठ २०७६, आइतबार


काठमाडौं । काठमाडौँमा आज साँझ भएको विस्फोटनमा परी तीन जनाको निधन भएको छ । घट्टेकुलोको सङ्गम गल्लीमा भएको सिलिण्डर विस्फोटमा परेर २६ वर्षीय रबिन केसीको मृत्यु भएको हो ।

सो घटनामा परी थप एक जना घाइते भएका छन् । घाइतेलाई स्थानीयवासीले मोटरसाइलकमा राखेर वीर अस्पतालमा उपचारका लागि लगेका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

मृतक केसी विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी)का त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता रहेको अनुमान गरिएको छ । प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार बम विस्फोटबाट घरको गारो नै चर्किएको छ भने कोठामा भएको सामानमा समेत क्षति पुगेको छ ।

घटनास्थलमा थप विस्फोटक पदार्थ रहेको आशङ्कामा नेपाली सेनाको तालीमप्राप्त टोली परिचालन भएको छ । प्रत्यक्षदर्शी शौरभ भट्टराईले ठूलो आवाजका साथ विस्फोट भएको र घरको गारोसमेत चर्किएको जानकारी दिए ।

विस्फोटमा परेर निधन भएका केसीको शरीर क्षतविक्षत भएको अवस्थामा सुरक्षाकर्मीले फेला पारेको थियो । उता सुकेधारामा भएको विस्फोटमा परी दुई जनाको ज्यान गएको छ । निधन भएकामध्ये एक जनाको घटनास्थलमा र अर्का एकको भने उपचारको क्रममा ओम अस्पतालमा निधन भएको हो ।

निधन भएकाको पहिचान खुली नसकेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । दुवै घटनास्थलमा नेपाली सेना तथा नेपाल प्रहरी परिचालित भई अनुसन्धान जारी राखेका छन् । सुकेधारा र घट्टेकुलोमा सिलिण्डर नै विस्फोट भएको पाइएको प्रहरीको भनाइ छ तर आफैँ विस्फोट भयो कि गराइयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सुकेधारा घटनामा परी घाइते भएकामध्ये ४ जनाको ओम अस्पताल चावहिल र एक जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस