विस्तार भएकै दिन खानेपानीको पाइपलाइनमा क्षति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विस्तार भएकै दिन खानेपानीको पाइपलाइनमा क्षति


३१ बैशाख २०७६, मंगलबार


बेत्रावती । नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पुर्‍याइएको छ । विदुर नगरपालिकामार्फत विनियोजित रु एक लाख एक हजार लगानीमा सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप गए राति काटिएको हो ।

घट्टेखोला मुहान गरेर आमथाङको बाँझोगाउँस्थित बस्तीमा ल्याइएको खानेपानीको पाइप विभिन्न स्थानमा टुक्रा–टुक्रा बनाएर काटिएको वडाध्यक्ष दलबहादुर तामाङले जानकारी दिए । उनका अनुसार सोमबार दिनभर लगाएर गाडिएको पाइप गए राति २५ भन्दा बढी टुक्रा बनाएर क्षति पुर्‍याइएको छ । उक्त पाइपलाइनमा क्षति बनाउन सोही स्थानका असहमति राख्ने व्यक्तिको संलग्नता हुनसक्ने उनको अनुमान छ ।

खानेपानी योजनाका लागि घट्टेखोला मुहानबाट पानी ल्याउन सोही स्थानका अन्य बस्तीका बासिन्दाले असहमति जनाउँदै आएका थिए । विरोधका बीच योजना कार्यान्वयनमा ल्याएलगत्तै क्षति पुर्‍याइएकाले यसअघि उक्त योजनामा विवाद गर्ने स्थानीय व्यक्तिमाथि अनुसन्धान गरिने प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस