वामपन्थी नेता अधिकारी उपचारका लागि काठमाडौँमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वामपन्थी नेता अधिकारी उपचारका लागि काठमाडौँमा


२९ बैशाख २०७६, आइतबार


चितवन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । फोक्सोमा क्यान्सरको सङ्क्रमण देखिएपछि अधिकारीको गत पुसयता यहाँको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो ।

अधिकारीका ज्येष्ठ सुपुत्र एवं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि शनिबार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल लगिएको हो । अधिकारीको फोक्सो र मुटुको बीच भागमा सेकाउनुपर्ने भएकाले यहाँका चिकित्सकको परामर्शमा त्यहाँ लगिएको हो ।

वि.सं. २०१२ मा गोर्खाको अजिरकोट गाउँपालिकामा जन्मेका अधिकारी वि.सं. २०३२ बाट पूर्णकालीन रूपमा कम्युनिष्ट आन्दोलनमा लागेका थए । जनयुद्धका समयमा उनको टाउकाको मूल्य २५ लाख तोकिएको छोरा नारायणले बताए । माओवादी पार्टी विभाजनसँगै उनी वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतले अस्पतालमै आएर स्वास्थ्यलाभको कामनासहित सहयोगको आश्वासन दिएका थिए ।

परिवारका सबै सदस्य राजनीतिमा पूर्णकालीन रुपमा लागेकाले हाल उपचारमा समेत आर्थिक समस्या भएको बहिनी शान्ता अधिकारीले जानकारी दिए । सरकारले सहयोगको आश्वासन दिए पनि हालसम्म प्राप्त नभएको र प्रक्रियामा रहेको जानकारी पाएको उनले बताए । अधिकारीका छोरा नारायण पार्टीको गोर्खा जिल्ला इन्चार्ज छन् भने बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस