खेलकूद छाडेर व्यावसायिक मौरीपालनमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खेलकूद छाडेर व्यावसायिक मौरीपालनमा


२४ बैशाख २०७६, मंगलबार


इच्छा शक्ति र कामप्रतिको लगाव भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइलाई कुस्तीका पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र खत्रीले सही सावित गरेका छन् ।

झण्डै एक दशकसम्म कुस्ती खेलमा प्रतिष्पर्धा गरेका कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वैजनाथ टोलका नरेन्द्र खत्री पछिल्लो समय यहाँका सफल मौरीपालन व्यवसायी बनेका छन् । ४ वर्षदेखि घरमै विदेशी जातको मौरी भित्र्याएर व्यावसायिक मौरीपालन थालेका ४३ वर्षीय खत्री खेल छाडेर कृषि व्यवसायमा आउँदा कुनै पछुतो नभएको बताउछन् ।

‘देशका लागि खेलियो’, उनले भने, ‘कृषि व्यवसायबाट पनि देशलाई केही दिन सकिन्छ भनेर मौरीपालनमा लागेको हुँ ।’ खत्रीले अहिले ८० घार मौरी पालेका छन् ।

‘मौरीपालनको आफ्नै तौरतरिका छन्, सोचेजस्तो सजिलो व्यवसाय भने होइन रहेछ’, खत्रीले भने । विसं २०५४ देखि २०६५ सम्म लगातार कुस्तीको राष्ट्रिय प्रतियोगिता खेलिसकेका खत्रीले २०६५ सालमा एक वर्ष करारमा कुस्ती प्रशिक्षक भएर खलाडी उत्पादनसमेत गरेका थिए ।

खेल प्रतिष्पर्धामा रहँदासम्म उनले राष्ट्रिय स्तरसम्म पदकविहीन हुनुपरेन । विसं २०४८ देखि खेलकूदमा सक्रिय खत्रीले २०७१ सालदेखि घरमा पाँच घार मौरी भित्र्याएर मौरीपालन शुरु गरेका हुन् । “स्मृतिका गफले मात्रै देश अघि बढ्न सक्दैन’, उनले भने, ‘युवा पुस्तालाई कृषि व्यवसायमा लगाउन सक्नुपर्छ ।’

मौरीपालनसँगै मौरी उत्पादनमा समेत जोड दिएका खत्रीले रु ९० हजारभन्दा बढीमा मौरीका घारसमेत बिक्री गरेका छन् । ‘सानैदेखि मौरीप्रतिको मोहले यसतर्फ लागे’, उनले भने, ‘अहिले मौरीमालनमै दैनिकी चलिरहेको छ ।’

‘मेलिफेरा’ जातको युरोपबाट भित्र्याएको मौरी खत्रीले पालेका छन् । मौरीपालनसम्बन्धी विभिन्न तालीमसमेत लिइसकेका खत्रीले मौरीपालनबारे आधुनिक र प्रविधिबारे कृषकलाई जानकारी न्यून भएको बताए ।

‘मौरीपालनमा लाग्ने कृषकलाई राज्यले प्रोत्साहन गरे यो फष्टाउन सक्छ ।’ उनले भने, ‘मह बिक्री गर्न बजारको समस्या छैन ।’ खत्रीले वार्षिक चार क्विन्टलदेखि पाँच क्विन्टलसम्म मह उत्पादन गरिरहेका छन् ।

‘घरबाटै प्रतिकिलो रु ८०० का दरले मह धमाधम बिक्री हुँदैछ’, उनले भने, ‘मागअनुसारको मह पुर्‍याउन सकिएको छैन ।’

असोजदेखि जेठसम्म मह बनाउने उपयुक्त समय हो । मौरी चराउन जिल्लाभर लैजाने गरिएको छ । ‘अहिले केही घार मौरी जामुनको रुख भएको पिपरिया क्षेत्रमा लगेर राखेको छु’, खत्रीले भने, ‘चिउरीको मह सङ्कलन गर्न मौरीसहितको घार जोगबुढा लैजाने योजना छ ।’ खत्रीले मौरी चराउन जामुन, चिउरी, लिचीको बगैँचा, सिमलको रुख भएको चुरे क्षेत्रमा लैजाने गर्छन् ।

‘चराउन लैजाँदा बेलुकी मौरी प्याक गरेर राति नै गाडीमा लगिसक्नुपर्छ ।’ उनले भने, ‘मौरी घार भएको ठाउँबाट ५ किलोमिटर टाढासम्म चरेर फर्किन्छ ।’ एउटा घारमा ३० हजारदेखि ९० हजार मौरीसम्म हुने उनी बताउछन् । उनले स्थानीय तललगायत सम्बन्धित सरकारी निकायबाट मौरीपालन गर्न अनुदान पाएको बताए ।

‘गत वर्ष भीमदत्तनगरपालिकाले मौरीपालनतफर्ल प्रोत्साहन गर्न रु चार लाख ५० हजार दिएको थियो’, खत्रीले भने, ‘त्यसअघि जिल्ला कृषि कार्यालयबाट पनि रु ३० हजार अनुदान पाएको थिए ।’ मह विभिन्न औषधिका रुपमा प्रयोग हुन्छ ।

यो मानव स्वास्थ्यका लागि निकै फाइदाजनक छ । ‘मौरीको विष पनि हितकारी नै हुन्छ’, उनले भने, ‘वातावरणीय प्रर्यावरणमा पनि मौरीको भूमिका अहम् रहन्छ ।’रु १० लाखको लागतमा मौरीपालन थालेका खत्रीले मौरीपालनबाट खासै नोक्सानी नभएको बताए ।

पछिल्लो समयमा यहाँ मौरीपालनतर्फ किसान आकर्षित हुँदै गएका छन् । व्यवसायमा आउन चाहनेलाई स्थानीय तहले सहयोग गर्नुपर्ने उनले बताउछन् ।

मुलुकभित्रै केही गरौँ भन्ने उद्देश्य लिएका युवाले खाडी मुलुकको चर्को गर्मीमा मजदूरी गर्नुभन्दा मौरीपालन सयौँ गुणा वेश हुन्छ । उनले भने, ‘राज्यले कृषि पेशालाई प्राथमिकतामा राख्नु पर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस