आज नभए भोलि, भोलि नभए पर्सि खतराको घन्टी बज्न सक्छ : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज नभए भोलि, भोलि नभए पर्सि खतराको घन्टी बज्न सक्छ : अध्यक्ष प्रचण्ड


२४ बैशाख २०७६, मंगलबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुले परम्परागत संसदीय प्रणालीको अभ्यास गर्ने र एक अर्कालाई निषेध गर्दै लड्ने बेला भइनसकेको बताएका छन् ।

आन्दोलनबाट प्राप्त उपलब्धीलाई एक दशकभन्दा बढी रक्षा गर्न नसकेको विगत स्मरण गर्दै उनले फेरि पनि खतरा आउन सक्ने बताए ।

राजनीतिक नेतृत्व आन्दोलन गर्न, परिर्वतनका निम्ति संघर्ष र बलिदान गर्न र त्याग तथा तपस्याका कीर्तिमान बनाउन सक्षम भएको तर, प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, त्यसमार्फत जनतालाई सन्तुष्ट बनाउने र परिर्वतन अनुकुल राज्यका संरचनाहरुलाई प्रशिक्षित गर्ने, रुपान्तरण गर्न राजनीतिक नेतृत्व चुकेको उनको विश्लेषण छ ।

उनले भने, ‘राज्यका सबै संरचनालाई राजनीतिक परिर्वतन अनुकुल बनाउने क्षमता राजनीतिक नेतृत्वले प्रदर्शन गर्न सक्यो कि सकेन भनेर हे¥यो भने उत्साहवर्धक चित्र हाम्रो अगाडि आउँदैन ।’

‘यो पटक यो परिस्थितिलाई दोहोरिँदैन भनेर विश्वास गर्न सक्ने आधार हामीसँग छ त ? कि दिनप्रतिदिन परिर्वतन डाइलुट हुँदै र राज्य संरचनाका अन्य अवयवहरुले राजनीतिक नेतृत्वलाई भुत्ते बनाउन सक्ने र कहिँ न कहिँ पुरातन वा परम्परागत सोच र शैली हावी हुने खतरा छ ? यो प्रश्न अब हल भइसक्यो । अब केही हुन सक्दैन भन्ने अवस्था अझै छैन’ प्रचण्डले भने ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने प्रक्रियामा यो एक वर्षका अनुभवलाई हेर्दा थुपै जटिलता देखिएको बताए । परिर्वतन सुदृढ हुँदै जान्छ । विकास, समृद्धि हुन्छ भन्ने विश्वास जनतामा बढेको छ वा घटेको घट्दै गएको छ भन्ने अझै टुंगो लागिनसकेको भन्दै जनता धैर्यताका साथ हेरिरहेका र सरकार र पार्टीहरुले प्रयास गर्दैछ भन्ने विश्वास लिएको बताए ।

उनले जसरी विगतका परिर्वतनहरु रक्षा गर्न सकेनौं, अब त्यो स्थिति हुने छैन भन्ने विश्वास दिलाउन दलहरु एकजुट हुनुपर्ने बताए । उनले भने,‘हिजोको जस्तै त्याग, तपस्या र बलिदान गर्ने संकल्न नगर्ने हो भने खतराको घन्टी बज्न सक्छ । आज नभए भोलि, भोलि नभए पर्सि खतरा आउन सक्छ ।’

अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रम ठूलो आकांक्षासहित आएको बताए । उनले भने,‘आश्वासनको पुलिन्दा जस्तो भनेर शंका गरेको छ । त्यसो भन्नु प्रतिपक्षको धर्मभित्र छैन । त्यसलाई सकारात्मक चुनौतीका रुपमा लिएर सम्पूर्ण रुपमा कार्यान्वयनका लागि जिम्मेवार हुनुपर्ने ठान्छु ।’

प्रतिक्रिया दिनुहोस