आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन


२१ बैशाख २०७६, शनिबार


काठमाडौं । “मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।”

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’ 

आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औँसीका दिन मनाइने पर्व आज आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

आजको दिन दिवंगत आमाको सम्झनामा काठमाडौंस्थित मातातीर्थमा ठूलो मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ ।

कसरी भयो मातातीर्थको उत्पत्ति ?

धेरै वर्ष पहिले त्यस ठाउँमा गाईबस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेको रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।

कथाअनुसार पहिलोचोटी रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेहरूले औँसीका दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाइ त्यसको नाम मातातीर्थ राखे ।

प्रत्येक वर्ष आजकै दिन आमा नहुनेहरूले मातातीर्थमा गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउँदै गर्दा यस ठाउँमा मातातीर्थ मेला लाग्न थाल्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस