पुनःनिर्माण राम्रो गरेको मुलुकको सूचीमा नेपाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पुनःनिर्माण राम्रो गरेको मुलुकको सूचीमा नेपाल


१७ बैशाख २०७६, मंगलबार


पाँचखाल । अमेरिकी जनताको आर्थिक सहयोगमा यहाँ निर्माण गरिएका तीन प्राथमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ ।

पाँचखाल नगरपालिका–९ स्थित जनजागरण प्राथमिक विद्यालयमा आज आयोजित समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले ती विद्यालय भवन सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका हुन् ।

जनजागरण, गङ्गादेवी र महादेवी प्राथमिक विद्यालयका लागि बनाइएका ती भवन भूकम्प प्रतिरोधी मात्र नभई अपाङ्ता र बालमैत्रीका साथै अत्याधुनिक छन् । अमेरिकी सरकारले एशियाली विकास बैंकसँगको साझेदारीमा निर्माण गरिएका ८ भवन यसअघि नै हस्तान्तरण गरिसकेको छ ।

अमेरिकी जनताको सहयोगमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)मार्फत सात जिल्लामा २९ सुरक्षित र आवश्यक सुविधासहितको आधुनिक भवन निर्माण थालनी गरेको थियो । ती नयाँ विद्यालय भवनबाट ७ जिल्लाका ८ हजार ८०० भन्दा बढी विद्यार्थीलाई नियमित पठनपाठन र गुणस्तरीय शिक्षा लिन सघाउ पुग्नेछ । यस वर्ष सात भवन हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भूकम्पपछि बालबालिकालाई चाँडोभन्दा चाँडो विद्यालय फर्काउने प्रयास स्वरुप अमेरिकाले एक हजार ४५ अस्थायी विद्यालय भवन निर्माण गरी मन्त्रालयको सहकार्यमा शैक्षिक सामाग्रीसमेत वितरण गरेको थियो ।

विसं २०७२ को भूकम्पबाट मुलुकका २० लाखभन्दा बढी बालबालिका विद्यालय भवनभित्र रहेर पठनपाठन गर्नबाट वञ्चित भएपछि अमेरिकी सहयोगमा नयाँ भवन निर्माण गरिएपछि ९३ हजार विद्यार्थी लाभान्वित भएको बताइएको छ ।

गोर्खा केन्द्र भएर गएको भूकम्पपछिको उद्धार, राहत र सहयोगका लागि नेपाललाई अमेरिकाले १९० मिलियन डलर सहयोग गरिसकेको छ । यो रकमबाट २३ हजारलाई पुनःनिर्माणसम्बन्धी विभिन्न तालीम प्रदान गरेको र त्यसबाट ४५ हजार ५०० भन्दाबढी परिवारलाई सहयोग पुगेको बताइएको छ ।

उक्त विद्यालय भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भूकम्पबाट क्षति भएका सबै विद्यालय भवन आगामी दुई वर्षभित्र निर्माण गर्ने योजना बनाइ निर्माण कार्यलाई तीव्रता दिइएको बताए । उनले भने, ‘हालसम्म २९ हजार विद्यालय भवन निर्माण पूरा भएको छ, २१ हजार निर्माणको चरणमा छन्, बाँकीलाई पनि तोकिएको समयभित्र पूरा गर्ने गरी काम अघि बढाउने प्रयत्न भइरहेको छ ।’

नेपाल विपद्को सामना गर्नसक्ने चरणमा पुगेको उनले बताए । ‘क्रान्तिपछिको शान्ति र विनासपछिको पुनःनिर्माणको महत्वपूर्ण चरणलाई एकपछि अर्को गर्दै नेपालले कुशलतापूर्वक पार लगाउँदै अघि बढिरहेको छ । विपद्पछि राम्रो पुनःनिर्माण गरेका मुलुकको सूचीमा नेपाल पनि परेको छ’, उनले भने ।

बालबालिकालाई विद्यालय भर्नामा सरकारले जोड दिए पनि गुणस्तरीय शिक्षाको अभावमा अभिभावकको रोजाइमा नपरेका कारण सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेको बताउँदै शिक्षामन्त्री पोखरेलले आगामी दशकलाई सामुदायिक विद्यालय रुपान्तरण वर्षका रुपमा अघि बढाउने सरकारको प्रयासले कतिपय विद्यालय गौरव गर्न लायक र नमूना विद्यालय बन्ने विश्वास व्यक्त गरे।

प्रदेश ३ का प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले भौतिक संरचनाले मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने बताउँदै सार्वजनिक विद्यालयको शिक्षाको स्तर नसुधारेसम्म राष्ट्रको मूल एजेण्डा कार्यान्वयन गर्न चुनौती हुने धारणा राखे। अमेरिका र नेपालबीच ७२ वर्षदेखि सबल र चिरस्थायी साझेदारी कायम गरेर अघि बढिरहेको बताउँदै राजदूत बेरीले भने, ‘हामी एक विश्वासीलो र भरपर्दो साझेदारीका रुपमा काम गरिरहेका छौँ । यी भवन नेपालको पुनःनिर्माणमा अमेरिकी जनताको सहयोगको दीर्घकालीन प्रतिबद्धताको सच्चा प्रतिविम्ब हुन् ।’

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विद्यालयका लागि न्यूनतम पूर्वाधार, शिक्षकका लागि तालीम र आवश्यक बजेटको अभावमा सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षाको अपेक्षा गर्नु कोरा काजग मात्रै हो भने ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका आयोजना निर्देशक इमनारायण श्रेष्ठले भूकम्पछिको भवनको पुनःनिर्माणले बालिबालिकामा हामी भूकम्प प्रतिरोधी र सुरक्षित भवनमा बसेर पढन पाएका छौँ भनी बालमस्तिष्क र भावना पनि पुनःनिर्माण भएको बताए ।

भूकम्प आपतकालीन सहायता आयोजनाअन्तर्गत निर्माण सम्पन्न ती विद्यालय निर्माणमा प्रति विद्यालय करीब रु २ करोड ५१ लाख खर्च भएको बताइएको छ । आधारभूत तहको पढाइ हुने ती विद्यालयमा त्यस क्षेत्रका गरिबीको रेखामुनि रहेका दलित र सिमान्तकृत समूदायका बालबालिका अध्ययन गर्दै आएका छन् । तुलनात्मक रुपमा ती विद्यालयमा विद्यार्थीको सङ्ख्या निकै कम अर्थात प्रतिविद्यालय ५० को हाराहारीमा विद्यार्थी अध्ययनरत् रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस