काम बिना भुक्तानी दिइन्न : प्रमुख प्रशासकीय अधिकृत पाण्डेय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काम बिना भुक्तानी दिइन्न : प्रमुख प्रशासकीय अधिकृत पाण्डेय


१७ बैशाख २०७६, मंगलबार


डोटी ।आर्थिक वर्ष ०७५/०७६मा गाउँपालिकाले तय गरेका चालु र पुँजीगत योजनाका ५८ प्रतिशत कार्य सम्पन्न भइसकेको बडी केदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक पाण्डेले बताए ।

उनले भने ‘गाउँपालिका अन्र्तगत तय गरेका योजनाहरूका धेरै सम्पन्न भई सके धेरै योजनाको भुक्तानी गई सकेको छ केही योजनाहरूको अन्तिम चरणमा छन् तर अहिलेसम्म कुनै ठाउँमा बिना काम भुक्तानी गएको छैन र जादैन्’।

गाउँपालिकाले सम्पादन गर्ने कार्यमा सम्पन्न पश्चात् योजनाको सार्वजनिक सुनुवाइ, उपभोक्ता समितिको कार्य सम्पन्न निवेदन, प्राविधिक कार्य सम्पन्न प्रतिवेदन, वडा अध्यक्षको कार्य सम्पन्न सिफारिस र अन्तिममा गाउँपालिका स्तरीय अनुगमन समितिले अनुगमन पश्चात् प्रतिवेदन पेस गरीसकेपछी मात्र भुक्तानी दिने गरेको र अहिलेसम्म कुनै ठाउँबाट पनि काम नभई भुक्तानी लियो भन्ने जन गुनासो नआएकोसमेत प्रशासकीय अधिकृत पाण्डेले बताए ।

कुनै पनि योजनाको लागि बजेट विनियोजित भईसकेपछी कार्य सम्पन्न पश्चात् भुक्तानी प्रक्रियामा जनप्रतिनिधिको काम नभएको बडी केदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । उनले भने ‘हाम्रो काम भुक्तानी दिनुहोस् वा दिनु हुन्न भन्ने होइन बस्ती स्तरबाट आएका आवश्यकतामा आधारित योजनाहरूलाई बजेट विनियोजित गर्ने, काम भयो की भएन भनेर हेर्ने हो त्यो भन्दा अन्य बिल भपाई मिलाउने, काम नगरी भुक्तानी दिनु पर्छ भन्ने होइन ।’

काम नगरिकन कुनै कर्मचारीलाई भुक्तानी दिनु होस भनेर दबाब नदिएको र काम नभएको ठाउँमा काम अनुसारको भुक्तानी दिन सुझाव दिएको समेत अध्यक्ष चन्दको भनाई छ ।

गाउँपालिकामा चलिरहेका सम्पूर्ण योजनाहरूको अनुगमन पश्चात् मात्र भुक्तानीको लागि सिफारिस गर्ने गरेको गाउँपालिकाकास्तरीय अनुगमन तथा सहजिकरण समितिका संयोजक एवंक बडी केदार गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा भाटले बताइन् ।

‘ठुला रकममा बनिरहेका योजनाहरूमा म आफै जाने गरेको छु सबै ठाउँ पुगेकी छु केही सानातिना योजनाहरूमा वडा अध्यक्ष अन्य सदस्यज्यूहरूलाई पठाउने गरेकी छु मैले कडा साथ भनेकी छु जति काम भएको छ त्यति मात्र सिफारिस गर्न र भुक्तानीको लागि अगाडी बढाउन भनेकी छु’ उनले भनिन्

यस आर्थिक वर्षमा गाउँपालिकाले विनियोजित गरेको चालु तर्फ वार्षिक बजेट १६ करोड ७४ लाख ४० हजार ५ सय मध्ये ११ करोड ७४ लाख ३० हजार ९ सय ७६ हुन आउने ७० दशमलव १३ प्रतिशत खर्च भइसकेको छ भने करिब ३० प्रतिशत मात्र बाँकी छ । त्यसैगरि पँुजिगत तर्फ वार्षिक बजेट १४ करोड ३९ लाख २५ हजार ९ सय बिस मध्ये ६ करोड ३८ लाख ११ हजार ६ सय ६० हुन आउने ४४ दशमलव ३९ प्रतिशत खर्च भइसकेकोसमेत गाउँपालिकाले जनाएको छ । जिल्लाका अन्य स्थानीय तहको खर्च ब्य भार हेर्दा सबैभन्दा बढी कार्यान्वयन भएको देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस