नेपालमा कर्मचारीको तलब किन बढाउनु पर्छ ? « प्रशासन

नेपालमा कर्मचारीको तलब किन बढाउनु पर्छ ?


प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार १९:५०

काठमाडौँ । कर्मचारीहरूको तलब बारेको बहस हुन थालेको पनि लामै समय भई सकेको छ । कर्मचारीको तलब कति हुनु पर्छ ? कसरी निर्धारण गर्ने अनि अन्य मुलुकका कर्मचारीको तलबमानको अवस्था के छ ? लगायत विषयमा नेपालले आफ्नै एउटा अध्ययन तथा निष्कर्ष निकालेको र सो अनुसार कार्यान्वयन गरेको भने भेटिँदैन । यद्यपि निजामती सेवा ऐनमा प्रत्येक दुई वर्षमा मूल्यवृद्धिका आधारमा कर्मचारीको तलब समायोजन गर्ने उल्लेख छ र आयोगहरूले समय समयमा दिने गरेको प्रतिवेदनहरूले पुनरावलोकन गर्न सिफारिस गर्ने गरेको भए पनि सरकारले सो अनुसार अघि बढेको देखिँदैन ।

निजामती कर्मचारीको तलबमान सम्बन्धमा सामाजिक सञ्जालमा सक्रिय पूर्व सचिव भीम उपाध्यायले नेपालका कर्मचारीको तलब बढाउनु पर्ने कारणहरूबारे उल्लेख गरेका छन् । उनले कर्मचारीको वास्तविकतासहित युवालाई नेपालमै आकर्षित गर्न कर्मचारीको तलब बढाउनु पर्ने विभिन्न १६ वटा कारणहरू फेसबुकमा पोस्ट गर्दै लेखेका छन्  :

त्यत्रो समय र लगानी खर्च गरेर देश विदेशमा वर्षौँ लगाएर घुँडा धसेर १६/१६ वर्ष पढेर, तालिम लिएर, गाउँ गाउँ कुना कन्दरामा बसेर, घर परिवार त्यागेर, अध्ययन सक्याए पछि लोकसेवा लड्दै पास गरेर सुरु गरेको सरकारी जागिरमा के छन् त सुविधाहरू ?

न बस्नलाई राम्रो डेरा छ । न बालबच्चा पढाउनलाई राम्रो स्कुल छ । न खेल्ने मनोरञ्जन गर्ने कुनै साधन छ । न कुनै पुस्तकालय छ । न पत्रिका छ । न टेलिफोन-इन्टरनेट छ । न टिभी छ । न हेलिकप्टर सेवा छ, न नियमित हवाईजहाज छ । न मोटर चल्ने सडक छ । न गाडी छ । न अस्पताल डाक्टर छ । इमर्जेन्सी परेर रोगले च्याप्यो भने राम भरोसे हुनुपर्छ । सधैँ परिवारसँग अलग्गिएर, सरकारी जागिर आजसम्म खाएकाहरू अझ अलिकति दुर्गम ठाउँमा नियुक्ति पाएका अधिकॉश कर्मचारीले यस्तै जागिरे जीवन व्यतित गरेका हुनुपर्छ ।

मैले इन्जिनियरको जागिर ०४३ सालमा सुरूगर्दा एक हजार तीन सय रुपैयाँ मेरो तलब थियो त्यति बेला करिब यो एक सय डलर बराबर हुन्थ्यो त्यो पैसाले आधा तोला सुन आउँथ्यो ।

झन्डै तीस वर्षपछि विशिष्ट श्रेणीको सचिव भएर जागिर छाड्दा रू ५१ हजार तलब बुझेँ, यो ५०० डलर बराबर र १२ आना सुन किन्न सम्म पुग्छ । जागिर सुरु गर्दा एक्लो थिए, जागिरको अन्तिमतिर हुर्केका परिवार चार जनाको भयो ।

नेपालको विकट भूगोल र असुविधामा न्यून तलबको सरकारी जागिर खानु दुस्साहस सरह नै लाग्छ मलाई अहिले सम्झँदा जाजरकोट, डोटी, बैतडी, गुल्मी त्यो वेलाको ! तर अचम्म लाग्छ, , आजसम्म पनि कसरी टिक्न सकेँ ? फर्केर हेर्दा आफैलाई अचम्म लाग्छ घरीघरी ! अलिकति नयाँ पुस्ताको नजर बाट नेपाल सरकारको तलबमानलाई हेर्ने हो भने नयाँ पुस्ताले गर्ने साधारण पकेट खर्च जस्तो देखिन्छ यहॉको सरकारी तलब ।

मेरा दौँतरी ब्रिलियन्ट साथीहरू अधिकॉस विदेश पलायन भए, मलाई पनि उकास्थे विदेश आउन । तर के भयो के, गइएन, यही लडन्तभिडन्त गरियो । के गरियो, गर्न सकियो वा सकिएन वा गरिएन अहिले मतलब पनि छैन। सन्तुष्ट नै छु आजका दिनमा ! मेरो नजरमा जे कुरा राष्ट्र सेवक थियो त्यो मैले गरेँ । देश सेवालाई पारिश्रमिकसँग तुलना गरिएन अथवा थोरै पारिश्रमिकमा पनि कर्तव्यबोधको कारणले गर्दा चित्त बुझाइयो अथवा यस्तै केही भयो ।

तर दुःख लाग्छ आफ्नै बालबच्चा नेपाल बस्नयोग्य हुन छाडेको छ, नयाँ पुस्ता सरकारी जागिरमा आकर्षण देखिँदैनन् । विदेशमा मनग्यै अवसर देख्छन् किनभने नेपाल बस्नु पेसा हैन, त्याग मानिन्छ। जीवनभरि ईमान्दार बनेर अन्तिममा भीखमंगा सरह हुनुपर्छ, न आफ्नो न परिवारको भरण पोषण गर्न सकिन्छ, न अवकाश पछिको जिन्दगीलाई सुरक्षित नै पार्न सकिन्छ ! जागिरे भनेको कुनै सामाजिक इज्जत नभएको सन्न्यासी र जोगी जस्ता निरीह देखिँदै गईरहेका छन् नयाँ पुस्ताका नजरमा !

तर अहिलेका पुस्ताको सोच छ- त्याग गर्न नपरेसम्म किन त्याग गर्ने ? के का लागि गर्ने ? भन्ने भनाई पनि सही नै हो । नयाँ सोचले नयाँ पुस्ताको जीवनस्तर पनि नयाँ खाले नै बनाएको छ । उनीहरू छातीमा ठुलो देशप्रेम बोकेर बिदेशिएका छन् । देशको सम्झना गर्दै स्तरीय कमाइ गरेका छन् । केही युवाहरू पछुताएका पनि होलान्, देश भित्रै केही गर्न सकिएन भनेर तर जति पलायन भएका छन् ती व्यक्तिहरू प्राय: सन्तुष्ट छन् ।

युवालाई नेपालमै आकर्षित गर्न कर्मचारीको तलब किन बढाउने ?

१. सार्क क्षेत्रमा नेपालको तलब सबैभन्दा थोरै छ त्यसैले ।
२. नेपालको जीडीपी विगत दश पन्ध्र वर्षमा दुगुना भएर एक हजार डलर पुगेको छ त्यसैले ।
३. बजार भाउ वार्षिक ६ ५ ले बढेको छ भने मुद्रा अवमूल्यन १०५ भइरहेको छ ।
४. आगामी ५ वर्षमा जीडीपी दुगुना गर्ने र कृषि उत्पादन पनि दुगुना गर्ने सरकारको लक्ष छ ।
५. बौद्धिकवर्गलाई नेपालमा नै रोजगार दिने स्तरको तलब नहुँदा विदेश पलायन हुने भय रहन्छ ।
६. तलब कम हुँदा प्रतिभा वान र सह रिया सक्षम युवा जागिरमा आकर्षित नभई दिँदा सरकारी संयन्त्रमा पढेलेखेका ब्रिलियन्ट प्रतिभावान् युवाको कमी हुन लागिरहेको छ ।
७. न्यून तलबले अनियमित आम्दानी गर्न उक्साई रहेको र घर पायक वा अतिरिक्त आम्दानी हुने जागिर जोगाउन अनावश्यक दबाब थेग्न भ्रष्ट संस्कृति रोक्न असमर्थ बनाई रहेको छ ।
८. पर्याप्त जीविकोपार्जन गर्ने तलब दिन सक्दा मात्र ईमान्दार र सक्षम कर्मचारीले गलत तत्त्वसँग भिडेर सरकारी संयन्त्रलाई सफा राख्ने ऑट देखाउन सक्ने हुन्छ। अतिरिक्त पैसा कमाउन नेताको घरघरमा प्रिरपोस्ट पेमेन्ट गर्ने कुसंस्कार हट्नेछ। साथै कर्मचारीहरू मन्त्री नेताहरूसँग राष्ट्रहितमा ऑखा जुधाएर काम गर्न सक्नेछन् ।
९. पर्याप्त तलब भएमा मुलुक भित्रै बस्ने, अनुकूल उत्प्रेरणा जागेर घरपरिवार बूढाबूढीहरूको हेरचाह र आफू बूढाबूढी हुँदा पनि समाजको सामिप्यमा बालबच्चाको हेरचाह पाउँदा समाजमा खुसी शान्त र सुखी आदर्श महसुस गर्नेछ ।
१०. तलबमानको भिन्नता पनि सबैभन्दा तल्लो र सबैभन्दा माथिल्लो पदबिच करिब ५ देखि १० गुणा हुनुपर्छ । करियर भनेको आर्थिक दृष्टिले परिश्रमको सम्मान पनि हो । कर्मचारी हुँ भन्दा देश विदेशमा लाज मान्नुपर्ने स्केलको तलबमानले आत्म सम्मान दिँदैन ।
११. तलब भिख हैन, बौद्धिक परिश्रमको मूल्य हो । थोरै तलब हुनु परिश्रम गर्न नसक्ने, नालायक, उत्पादकत्व नभएको, कमजोर, अक्षम जनशक्ति हो भन्ने बुझाउँछ ।
१२. विदेशीको अगाडी नेपालीको बुद्धि नै हुँदैन भन्ने स्तरको तलबले आत्मसम्मान र स्वाभिमान गिराउँछ । शिर उँचा राख्न आफ्नो तलब सार्वजनिक गर्न लाज नमान्ने हुनुपर्छ ।
१३. जागिर पेसा हो र जुन कुनै पेसाले पनि जीवन परिपूर्ण पार्न सक्ने हुनै पर्छ । बलिदान, त्याग , जीवनभरि पिलन्धरे रुवाइ, पद्दलित , टीठ लाग्ने, र जसले पनि भ्रष्ट नै हो भन्ने हालको वातावरणलाई हटाइएन भने राज्य सञ्चालनको केन्द्रबिन्दु चालक रहने कर्मचारीबिना मुलुक उँभो लाग्दैन । दूध खान मन हुनेले गाईलाई हरियो घॉस र दाना पानी पर्याप्त दिनुपर्छ नत्र कर्मचारी पनि दूध थोरै दिने काठे गाईलाई सरापे जस्तो हुनेछ ।
१४. पुग्ने तलब दिइयो भने मात्र गलत, कामचोर, भ्रष्ट कर्मचारीलाई सरकारले सजाय दिन वा हटाउन नैतिक अधिकार रहने हुन्छ । कर्मचारीलाई गलत काम गरेकोमा गाली मात्र गर्ने हैन कि सही काम गर्ने पूर्वाधार पनि बनाइदिएकै हुनुपर्छ ।
१५. सरकार तलबबारे यसमा केही गर्न असमर्थ छौँ, सक्दिन भन्छ भने त्यो सरकारका अरू सबै लक्ष पनि हावादारी नै हुनेछ, त्यसमा पनि उसले केही गर्न सक्नेछैन ।
१६. चालक रूपी कर्मचारीलाई भोक भोकै राखेर हाइवेमा तीव्र गतिमा गाडी हाँक भन्दै पेसेन्जरसहित गाडीलाई त्रिशूलीमा जाक्नुसरह हो, त्यही गर भने सरह हो ।

त्यसैले निजामती सेवा ऐनमा प्रत्येक २ वर्षमा मूल्यवृद्धिका आधारमा कर्मचारीको तलब समायोजन गर्ने लेखिएको हो । तलब आयोगहरूले पनि यसै बमोजिम तलब पुनरावलोकन गर्नुपर्ने सिफारिस गरेका हुन । तर सरकारले कहिल्यै ऐन र तलब आयोगहरूका सिफारिस अनुसार तलब वृद्धि गरेको छैन ।

नेपालमा कर्मचारीको तलब निर्धारणमा यथेष्ट बेथितिहरू छन् । तल्लो र माथिल्लो पदका कर्मचारीहरूको तलबमा खासै फरक छैन । तल्लो तहको कर्मचारी र माथिल्लो तहकाबीचमा करिब २।५ देखि ३ गुणा मात्रै तलब स्केल बढी छ । औसतमा मुद्रास्फिति १० प्रतिशतको हाराहारीमा हुने गरेको छ । त्यस हिसाबले हेर्ने हो भने ३ वर्षमा कर्मचारीको तलब ३० प्रतिशतले बढाउनु न्यायसंगत हुन्छ ।

भारतमा सचिवको तलब २ लाख ७० हजार भारु छ । कार्यालय सहयोगीका तलब करिब २५ हजार छ । तर नेपालमा सचिवको तलब जम्मा ५१ हजार छ र कार्यालय सहयोगीका १८ हजार रुपैयाँ छ । यसले त कर्मचारीलाई क्षमता अनुसार पेट पाल्न पुग्ने भत्ता मात्रै भयो । तलब वृद्धि गर्दा तलब आयोगका सिफारिस लागू गर्नुपर्छ । तलबलाई निर्वाह भत्ताका रूपमा हैन, बौद्धिक पारिश्रमिकका रूपमा लिइनुपर्छ ।

नेपालमा कर्मचारीको तलब नै ज्यादै कम भयो । अर्को कुरा तल्लो तह र माथिल्लो तहका कर्मचारीको स्केल पनि उपयुक्त भएन । भारतमा तल्लो तहका कर्मचारी र माथिल्लो तहका कर्मचारीको तलबमा ५ देखि १० गुणासम्मको फरक हुन्छ । मुलुकलाई सुशासन दिने अधिकृतको नेतृत्वले हो, तर नेपालमा भने अधिकृतहरूको तलब नै जोखिम लिएर काम गर्ने खालको भएन । माथिल्लो पदमा बौद्धिक परिश्रम, साहस र आर्थिक स्वतन्त्रता हुनुपर्छ, यसका लागि तलब ह्वात्तै बढाउनुपर्छ ।

तलबमा समाजवादी समानता काम लाग्दैन, जुन देशमा बजार भाउ केहीमा कुनै नियन्त्रण र सेवा सुविधामा कुनै विशेष सहुलियत छैन । तर माथि न्यूनतम १ लाख तल २५ हजार गरेर ४ गुणा पुर्‍याउने र यसलाई ३ वर्षमा ६–१० गुणा पुर्‍याउनुपर्छ । निजामती जागिर सम्मानित हुनुपर्छ र प्रतिभावनाका लागि आकर्षक हुनै पर्छ । जीवन गुजाराका लागि हैन, बुद्धि र परिश्रमका लागि तलब हुनुपर्छ।

 

प्रतिक्रिया दिनुहोस