झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स


१६ बैशाख २०७६, सोमबार


काठमाडौं । फोहर खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले आज वाटर एम्बुलेन्स पठाएको छ ।

खानेपानीमन्त्री बिना मगरले झाडापखाला क्षेत्रमा खानेपानी शुद्धिकरणका लागि आज ‘वाटर एम्बुलेन्स’ पठाइएको जानकारी दिए ।

मुसिकोट नगरपालिका–४ स्थित दजाकोट क्षेत्रमा पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात वाटर एम्बुलेन्स पठाएको हो ।

झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानीमन्त्री मगरले आधुनिक उपकरणसहितको उक्त सवारी पठाइएको बताए ।

पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्युब र ब्लिचिङ पाउडरलगायतका सामाग्री बोकेर विभागको विज्ञ टोली दजाकोट गएको छ ।

स्थलगत रुपमै पानीको गुणस्तर परीक्षण गरी पिउन हुने या नहुने भन्ने तथ्य उक्त वाटर एम्बुलेन्सबाट पत्ता लाग्ने छ । वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको प्रयोगशाला समेत जडान गरिएको हुन्छ । उक्त प्रयोगशालामा पानीको गुणस्तर परीक्षण गरिन्छ ।

विगत केही दिनदेखि झाडापखाला फैलिएका कारण गुल्मीको दजाकोटमा एकको मृत्यु भएको छ भने २ सय मानिस बिरामी परेका छन । ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने लगायतका समस्याले दजाकोटमा समस्या देखिएको छ ।

पानीका कारण रोगव्याधी फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपाय अपनाइने पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस