सुदूरपश्चिममा सवारी दुर्घटनाको सन्त्रास « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

सुदूरपश्चिममा सवारी दुर्घटनाको सन्त्रास


लोकेन्द्र विष्ट

१६ बैशाख २०७६, सोमबार


विज्ञान र प्रविधिको विकासले मानव दिनचर्या सहज बनाएको छ, सँगसँगै विनास पनि निम्तिएको छ । विज्ञान आविश्कारको कमाल विश्व जति जति यन्त्र युगन्मुख हुन थालेको छ । त्यति त्यति घटना, दुर्घटनाको प्रभाव बढ्न थालेको छ ।

अहिले यन्त्रहरुको प्रयोगले गर्दा विश्वभरी छरिएर रहेका मानवस्तीहरु नजिकिएका छन । दुरदराजका वस्तीहरु समेत शहरोन्मुख भईरहेका छन । नयाँ–नयाँ प्रविधिले संसार चमत्कारिक रुपमा परिवर्तन भएको छ । तर, जुन स्प्रीटमा विश्व सन्दर्भ प्रविधिमैत्री, यन्त्रमैत्री बन्दै छ त्यहीँ स्प्रीटमा अकल्पनीय घटनाहरु पनि भईरहेका छन ।

अविछिन्नरुपमा भएको यान्त्रिक परिवर्तनको महत्वपूर्ण उदाहरण सवारी साधन मार्फत आवागमन पनि हो । सवारी साधनहरुले हाम्रो यात्रा सहज बनाए । आफन्तजन, ईष्टमित्र अनि आत्मिय मित्रहरुलाई नजिक पारिदिए । तर, विडम्बना विश्व भरीमा कहिले हवाई यात्रामा, कहिले सडक यात्रामा अनि कहिले जल यात्रामा कहाली लाग्दा सवारी दुर्घटनाहरु हुने गरेका छन् ।

भौगोलिक विशमताबीचको विविधताले भरिपूर्ण हाम्रो मुलुकमा सडक यात्रा निकै कठिन तथा संघर्षपूर्ण रहेको छ । त्यसमा पनि सुदूरपश्चिम प्रदेश झन् विकासका हरेक दृष्टिकोणले सुदुर हुँदा यहाँको सडक यातायात सुरक्षित हुनसक्ने कल्पना कसरी गर्नु ? दिनहुँ जस्तो सवारी दुर्घटनाका समाचारहरुले सुदूरपश्चिमवासीहरुमा त्रास फैलिन थालेको छ ।

केही दिन अघि डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको शाहुखर्कमा धनगढीबाट बझाङ जाँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको निधन भयो, तीन दर्जन जति घाईते भए । त्यस्तै, रडुवा खोलामा भएको पिस जोन एकेडेमिको बस दुर्घटनामा १८ जनाको निधन भयो, दर्जन बढी घाईते भए । यति मात्रै होइन कहिले मोटरसाईकल दुर्घटनामा ज्यान गुमाउनु पर्ने त कहिले सडकमा हिँड्दा हिँड्दै सवारी साधनले किचेर । यी र यस्तै थुप्रै दुर्घटनाहरु यस क्षेत्रमा हुने गरेका छन् । जसले आम यात्रुहरुलाई सवारी साधनको यात्रा निकै असुरक्षित महशुस भईरहेको छ ।

त्यसैले यस क्षेत्रमा ट्राफिक जन्य दुर्घटना न्यूनीकरण गर्न सबै तह र तप्काका सरोकारवालाहरु सचेत हुनु आवश्यक छ । यहाँ सडक यात्रा सुरक्षा सरोकारका लागि सडक दुर्घटनाका कारण, प्रभाव र दुर्घटना न्युनीकरणका उपायको बारेमा व्याख्या गर्न जरुरी ठानिएको छ ।

सवारी दुर्घटनाका कारणहरु
दुर्घटना अकस्मात एवम् अकल्पनीय रुपमा हुने हो । यस को न भविष्यवाणी गर्न सकिन्छ न त कल्पना नै । तथापी सवारी दुर्घटनामा केही असावधानी हामीमा पनि हुने भएकाले यो अझ विकराल रुपमा देखिने गरेको छ । सवारी दुर्घटना बढ्नुमा केही कारणहरु निम्न रहेका छन् :

  • सवारी चालक : सवारी साधन सवारी चालकको पूर्ण नियन्त्रणमा रहन्छ । चालकले चाहने हो भने जस्तो परिस्थितिमा पनि सवारी दुर्घटनाबाट जोगाउन सक्छ । तर हाम्रो परिवेशमा सवारी साधन चालक पूर्ण रुपमा परिपक्व भई नसकेका, मादक पदार्थ सेवन गरी सवारी चलाउने, मानसिक रुपमा विकलांक, ट्राफिक नियम सम्बन्धमा पूर्ण जानकारी नभएका चालकहरुको संख्या बढी भएको हुँदा सवारी दुर्घटना बढेको देखिन्छ ।
  •  सडकको स्तर : सवारी दुर्घटना बढ्नुमा अर्को कारकतत्व सडकको स्तर हो । सुदूरपश्चिमका सबै जसो हाईवे, शाखा सडक, ग्रामीण एवम कृषि सडकहरु स्ट्याण्डर्ड मापदण्ड अनुरुप छैनन् । सडकको चौडाई, सडकको स्ल्याण्टेशन, कर्व डाईमिटर, अनि सडक छेउछाउका वारहरु उचित मापदण्ड नपुगी संचालित छन । साथै सवारी भारवहन क्षमता समेत उचित प्राविधिक अध्ययन नभई हचुवाका भरमा सबैजसो सडकमा सवारी साधन संचालन गरिन्छ । कालोपत्रे सडक कम मात्रामा छ, भएका पनि कहीँ–कहीँ खाल्टा खुल्टी परी निर्वाध सवारी संचालित हुन सक्ने अवस्था छैन । सडकको दुरावस्थाका कारण समेत सवारी दुर्घटना बढेका छन ।
  •  सवारी साधनको गुणस्तर : हाम्रो परिवेशमा चल्ने सवारीहरु प्रायः पाँच वर्ष पुराना र सर्भिसिङ नभएका साधनहरु बढी छन् । साथै यस्ता सवारी साधनहरुमा ईन्जिन, ब्रेक, स्टेरिङ आदिले कुनै वेला काम नगर्ने खतरा हुन्छ । यस्ता गुणस्तरहीन सवारी साधनमा सवारीको क्षमता भन्दा बढी यात्रीहरु बोक्दा दुर्घटना निम्तिने गरेका छन् ।
  •  यात्रुहरुको असावधानी : सवारीको सिट क्षमता भन्दा बढी यात्रु चढ्ने, सडक किनारा भएर हिँड्ने, यात्रुहरुमा ट्राफिक सचेतनाका अभाव, जस्ता कारणले गर्दा दुर्घटनाहरु बढेको देखिएको छ ।
  •  ट्राफिक संकेत चिन्हहरुको अपर्याप्तता : पहाडी रुटहरुमा जति मात्रामा ट्राफिक संकेत चिन्हहरु, ट्राफिक लाईट राखिनु आवश्यक थियो त्यति मात्रामा राखिएका छैनन् । संकेत चिन्हको अभावमा रातीको समयमा अन्दाजमा सवारी हाँक्दा दुर्घटना हुने गरेको छ ।
  •  कानूनको फितलो कार्यान्वयन : यातायात सम्बन्धी पर्याप्त कानून बनेका छन्, केही बन्ने क्रममा छन् तर तिनको उचित कार्यान्वयन हुन नसक्दा सवारी दुर्घटना न्युनिकरण हुन सकेका छैनन् । कानून कार्यान्वयन भन्दा पनि भनसुन वा पहुँचका आधारमा सडक संचालन अनुमति दिईनु, सवारी चालक अनुमतिपत्र वितरण कानूनी प्रकृया अनुरुप नभई पैसामा विक्री गरिनु लगायतका कार्यहरुले दुर्घटनालाई प्रश्रय दिएको छ ।

सवारी दुर्घटनाको प्रभाव
दिनप्रतिदिन सुनिने दुर्घटनाका समाचारले मानवीय मस्तिष्कलाई खल्बल्याई दिएको छ । यात्रा गर्नु पर्दा कुन बेला के होला, गन्तव्य स्थानमा पुगिएला वा नपुगिएला यावत् कुराहरु मन्थन हुने गरेका छन् । ज्यानको बाजी राखेर यात्रा गरिँदा आफन्तजन समेत चिन्ता ग्रस्त भई मनोरोगको विरामी हुनु पर्ने अवस्था छ । यति मात्रै होइन सम्पूर्ण आवागमन नै असुरक्षित महशुस हुन थालेको छ । यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव प्रदेश विकासमा समेत पर्ने गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरणका उपाय
हाल जुन संख्यामा सवारी दुर्घटना भईरहेका छन, यो अत्याधिक हो । यति धेरै दुर्घटना हुनु समग्र प्रदेशको आवागमन सुरक्षा माथिको गम्भिर प्रश्न हो । त्यसैले हामीले हाम्रो जीवन सुरक्षाको एउटा पक्ष आवागमन सुरक्षा गर्नु आवश्यक छ । यस प्रदेशको आवागमन सुरक्षाका लागि सवारी दुर्घटना न्युनिकरण गर्न निम्न उपाय अवलम्वन गर्न सकिन्छ :

  •  कम्तिमा पनि ३० बर्ष उमेर पुरा भएका, ट्राफिक नियमको जानकार, सभ्य अनि चालक अनुमति पत्र प्राप्तिको सबै चरण पार गरी अनुमति पत्र प्राप्त व्यक्तिलाई मात्रै सवारी हाँक्न दिनु पर्दछ ।
  •  सडकको स्तर अन्तर्राष्ट्रिय सडक स्ट्याण्डर्ड मिट हुने गरी बनाईनु पर्दछ, बरु थोरै मात्रामा विस्तार गर्ने नीति अपनाईनु पर्दछ, साथै भएका सबै सडकहरुको स्तरोन्नति गरिनुपर्दछ ।
  •  सवारी साधनहरु तिनीहरुको भारवहनक्षमता र कन्डिशनका आधारमा कुन ठाउँमा चलाउन उपयुक्त हुन जाँच गरी चलाउने व्यवस्था गरिनु पर्दछ ।
  •  ट्राफिक नियमका सम्बन्धमा टोल–टोल, चोक–चोक, विद्यालय–विद्यालयमा अभियानमुलक कार्यक्रम गरी सचेतना फैलाउनु पर्दछ, साथै विद्यालय शिक्षाको पाठ्यक्रममा समेत ट्राफिक नियम सम्बन्धमा विषयवस्तुहरु समावेश गरिनु पर्दछ ।
  •  ट्राफिक व्यवस्थापन सम्बन्धी वस्तुनिष्ठ एवम वैज्ञानिक आधारसहितका कानूनहरु निर्माण गरिनु पर्दछ साथै भएका कानूनको अक्षरशः कार्यान्वयनमा जोड दिईनुपर्दछ ।

अन्तमा
मानव जीवनमा जसरी यातायात व्यवस्थापनले सहज जीवन यापनमा मद्दत गरेको छ त्यसैअनुरुप यस क्षेत्रलाई बढी विश्वसनीय बनाउनु जरुरी छ । सुदूरपश्चिमको ट्राफिक व्यवस्थापनका लागि यहाँका स्थानीय सरकार, प्रदेश सरकार अनि संघीय सरकार समेत प्रतिवद्ध भई ठोस एजेण्डासहित लाग्नु जरुरी छ भने आम नागरिक समेत आफ्नो क्षेत्रबाट सचेत भई अकालमै ज्यान गुमाउनु पर्ने पीडाबाट उन्मुक्त हुनु सक्नुपर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस