प्रवलीकरणप्रति लाभग्राहीले देखाएनन् चासो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रवलीकरणप्रति लाभग्राहीले देखाएनन् चासो


१४ बैशाख २०७६, शनिबार


गलकोट । विसं २०७२ को भूकम्पमा सामान्य क्षति पुगेका घरलाई जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले प्रवलीकरण (रेक्ट्रोफिट) को तयारी गरे पनि लाभग्राहीले चासो देखाएका छैनन् । आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले प्रवलीकरणका लागि सर्वेक्षण गरेका जिल्लाका ८२ लाभग्राहीले प्रवलीकरणका लागि चासो नदिएका हुन् ।

आयोजनाका अनुसार ८२ प्रवलीकरणका लाभग्राहीमध्ये ५१ घरले सम्झौता गरेर पहिलो किस्तावापतको ५० हजार लगेका छन् भने ३१ घर सम्झौता गर्न आएका छैनन् । सरकारले भूकम्पपछि पूर्ण लाभग्राही र प्रवलीकरण गर्न मिल्ने दुई प्रकारमा सर्वेक्षण गरेकोमा पूर्ण लाभग्रहीले घर निर्माणमा चासो देखाए पनि प्रवलीकरण गर्नुपर्ने लाभग्राहीले बेवास्ता गरेको आयोजना प्रमुख इञ्जिनीयर रामाशिष साहले बताए ।

भूकम्पछिको पुनःनिर्माण झण्डै ५० प्रतिशत बढी प्रगति भएको यस जिल्लामा हालसम्म एउटा घरसमेत प्रवलीकरण नभएको साहको भनाइ छ । “३१ लाभग्राही प्रवलीकरणको सम्झौता गर्नै आएनन्”, साहले भन्नुभयो, “सम्झौता भएका घरले पहिलो किस्ता लगेर प्रवलीकरणमा चासो नदेखाउँदा काम गर्न समस्या भएको छ ।”

सरकारले पूर्णरूपमा घर क्षति पुगेकालाई पूर्ण लाभग्राही तथा सामान्य क्षति पुगेकालाई प्रवलीकरणमा समावेश गरेर अनुदानको कार्यक्रम ल्याएको छ । पूर्ण लाभग्राहीले तीन किस्तामा रु तीन लाख पाउनेछन् । प्रवलीकरण लाभग्राहीले दुई किस्तामा रु एक लाख पाउनेछन् ।

भूकम्पमा सामान्य क्षति पुगेकालाई प्रवलीकरण गरेमा भूकम्प प्रतिरोधी बनाउन सकिने प्राविधिक बताउँछन् । प्राविधिकलाई विशेष किसिमको तालीम प्रदान गरेर प्रवलीकरणका लागि लाभग्राहीको घरमा पठाउने तयारी गरिरहेको भए पनि लाभग्राहीले त्यसो गर्न नचाहेको आयोजना कार्यान्वयन एकाइले जनाइको छ ।

जिल्लामा निजी आवासका पुनःनिर्माणका लागि दुई हजार ३७५ ले निवेदन दिएकामा दुई हजार ११३ ले योजना सम्झौता गरी प्रथम किस्ता लगेका छन् । एक हजार ३९ ले दोस्रो किस्ता र ६१५ लाभग्राहीले अन्तिम किस्ता लगेको अयाजना कार्यान्वयन एकाइका नायबसुब्बा चुर्ण कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार २६२ ले निजी आवास पुनःनिर्माण गर्न सम्झौता गर्नै नआएको र एक जनाले सम्झौतापछिको रु ५० हजार रकम फिर्ता गरेका छन् । यस्तै छुट तथा पुनःसर्वेक्षणका लागि हालसम्म ७०६ लाभग्राहीले निवेदन दिएको बताइएको छ । एकाइका अनुसार जिल्लामा ४० विद्यालय, एक गुम्बा, तीन एकीकृत बस्ती तथा बुर्तिवाङ–खुङ्गा हुँदै बोङगादोभानको ९.८ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छन् ।

ढुङ्गाले लागेर वृद्धको मृत्यु

बागलुङको निसीखोला गाउँपालिका–२ बायाखोलास्थित एक वृद्धको माथिबाट खसेको ढुङ्गाले लागेर शुक्रबार साँझ मृत्यु भएको छ । घर नजिकैको बासघारीमा बाँस काट्ने क्रममा ६५ वर्षका बुद्धबहादुर कार्की अचानक माथिबाट आएको ढुङ्गाले लागेर गम्भीर घाइते भएका थिए । घाइते कार्कीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस