प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकार प्रयोग गर्न पाउनुपर्छ : अध्यक्ष तिमिल्सिना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकार प्रयोग गर्न पाउनुपर्छ : अध्यक्ष तिमिल्सिना


१२ बैशाख २०७६, बिहिबार


काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न संघीय सरकार सहयोगी बन्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो धारणा व्यक्त गरेका हुन् ।

संविधानमा उल्लेखित प्रदेश तथा स्थानीय तहका अधिकार संघीय सरकारबाट नियन्त्रित भए भन्ने गुनासो आउन थालेको बताउँदै उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहबीच केही शक्ति टकराब हुन सक्छन् ।

यसलाई छलफलमार्फत समधान गर्नुपर्छ ।’ संविधानअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भन्नेमा सिद्धान्तत कुनै समस्या नभएको अध्यक्ष तिल्सिनाले बताए । ‘अहिलेको परिवर्तित व्यवस्था सक्रिय राजनीतिक दलहरुकै योगदानबाट प्राप्त भएको हो,’ उनले भने, ‘त्यसैले सिद्धान्तत सबैले स्विकार गरेको यो व्यवस्थालाई व्यवहारमा कार्यन्वयन गर्न समन्वय जरुरी छ । त्यसका लागि सहजिकरण गर्न राष्ट्रिय सभा तयार छ ।’

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभामा तीन तहको समन्वय सम्बन्धि विधयेक दर्ता भएको जानकारी दिँदै सो विधयेक पास भएपछि केही सहज हुने अपेक्षा राखे ।

राष्ट्रिय सभा स्थानीय तह, जिल्ला समन्वय र प्रदेश सभाको प्रतिनिधित्व गर्ने सदन भएकाले राष्ट्रिय सरोकार समितिमार्फत सात वटै प्रदेशमा यस्तो अन्तक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए । यस्तो कार्यक्रमले तीन तहको समन्वयमार्फत स्थानीय तह र प्रदेशलाई व्यवहारिक रुपमा कसरी बलियो बनाउने भन्ने अनुभव आदानप्रदान भएको बताए ।  त्यसैगरी उनले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन पनि प्रदेश तथा स्थानीय तहका प्रतिनिधिको सुझाव आवश्यक रहेको औंल्याए ।

एक अर्को प्रशंगमा राजनीतिक दलहरु मिलेर समाजवाद उन्मुख संविधान जारी गरेको बताउँदै अध्यक्ष तिमिल्सिनाले यसको कार्यन्वयनमा पनि सबै एक हुनुपर्ने धारणा राखे । उनले संविधान कार्यन्वयनको पहिलो चरणका रुपमा तीन तहको चुनाव सम्पन्न भई सरकार बनेको र दोस्रो चरणमा ऐन निर्माणको काम तिब्र गतिमा भइरहेको जानकारी दिए ।

अध्यक्ष तिमिल्सिनाले वैशाख १६ गतेदेखि संसदको अधिवेशन सुरु हुने जानकारी दिँदै अब पनि कानुन निर्माणको कामले निरन्तरता पाउने बताए ।

कार्यक्रममा राष्ट्रिय सभाअन्तर्गत विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले अन्तक्रियाबारे प्रकाश पारेका थिए भने सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले स्वागत मन्तब्य राखेका थिए ।

राष्ट्रिय सभाका सदस्य, प्रदेश नं ३ का सभामुख, प्रदेश मन्त्री, उपसभामुख, सांसद, प्रदेश ३ अन्तर्गतका स्थानीय तहका प्रतिनिधिलगायत सहभागी कार्यक्रममा संविधानसभा सदस्यद्वय रमेश लेखक र खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस