स्वास्थ्यको समायोजनमा यति धेरै गुनासो किन ? यस्ता छन् कारण « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

स्वास्थ्यको समायोजनमा यति धेरै गुनासो किन ? यस्ता छन् कारण


मधुकरमणि आचार्य

६ बैशाख २०७६, शुक्रबार


समायोजन

सङ्घीयता कार्यान्वयनको प्रमुख कडी भनेको कर्मचारीतन्त्र हो । कर्मचारीको विकल्प भनेको नै सुधारिएको कर्मचारीतन्त्र हो । राज्यले लिएका सम्पूर्ण नीति नियम कार्यान्वयन गर्ने संयन्त्र मानिने कर्मचारी समायोजन जटिल मानिँदै आएकोमा २०७५/१२/१४ गते कर्मचारी समायोजन समाप्त भएको घोषणा भएको १२ दिनपछि २०७५/१२/१४ गतेको निर्णायक अनुसार समायोजन भएका सम्पूर्ण स्वास्थ्य सेवाका कर्मचारीको सूचना प्रकाशित गरियो । २०७५/९/९ मा दरबन्दी स्वीकृत गरी २०७५/९/११ को सूचना बमोजिम २०७५/९/११ देखि २०७५/१०/२ सम्म उत्साहका साथ फारम भरी समायोजनको व्यग्र प्रतीक्षामा बसेका र समायोजन भई सरकारले खटाएको ठाउँमा जान लालायित कर्मचा•री आफ्नो दरबन्दी रिक्त हुदाँहुदैँ फाजिल बस्नु परेको, फारम नभरेको ठाउँ जानु परेको, पद हटाएको, कतै पदगत त कतै तहगत गरिएको, कसैलाई दुई तह सम्मको जिममेवारी दिँदा कसैको एक तह कमको जिम्मेवारी घटाइएको कारण समग्र समायोजन भएर जान लागेका कर्मचारी सङ्कटमा परेका छन् । यसमा उजुरी दिनेको सङ्ख्या उल्लेखनीय ढङ्गले बढेको छ । के हो त चुरो कुरो ? के के समस्याले गुनासो सङ्ख्या बढेछ त ? समाधान के होला ? लगायत विषयमा छलफल गर्न जरुरी छ ।

समायोजनमा समस्या आउनुको कारण

♦ दरबन्दी संरचनामा परिवर्तन आउनु : सङ्घ प्रदेश र स्थानीयको पदगत दरबन्दी २०७५/९/९ मा स्वीकृत भएर २०७५/९/११ देखि २०७५/१०/२ सम्म २१ दिनको म्याद राखी सूचना प्रकाशन भएकोमा विभिन्न समूहको दबाबमा २०७५/९/२९ मा दरबन्दी संरचना परिवर्तन भएर म्याद सकिएपछि तहगत नाम दिइएको दरबन्दी संरचना २०७५/१०/५ मा सार्वजनिक भएकाले समायोजन हुँदा रोजेको ठाउँ फरक परेकाले समायोजनपछि समस्या देखिएको हो ।

♦ सी अहेब छैटौँलाई हेपिएको महसुस : स्तरवृद्घिले चौथो तहमा नियुक्त अहेब छैटौँ तहमा पुगेको भए पनि चौथो तहमा काम गर्दाको हीनताबोध अनि २०५३ सालमा नियुक्ति पाएकाले हेल्थ असिस्टेन्टमा दिन नपाउँदा २०६३ पछि नियुक्त पाएका अहेब लोकसेवा समान तहमा दिन पाउने व्यवस्थाबाट आएर आफ्र्र्रनै हाकिम हुँदा नैराश्यता उत्पन्न भएको थियो । यसरी पदस्थापनको लागि सजिलोको लागि पदगत र तहगत सुझाव दिए । दुई किसिमको संरचना घातक भयो ।

♦ सङ्घ प्रदेश र स्थानीयको दरबन्दी फरक हुनु : सङ्घ ,प्रदेश र स्थानीयको प्राथमिक स्वास्थ्य केन्द्रमा पदगत नाम दिइएको जहाँ जस्तै सिअहेब छैटौँ भन्दा हेल्थ असिस्टेन्ट पाँचौँ सिनियर रहने व्यवस्था तर स्थानीयको स्वास्थ्य चौकीमा र पालिका स्वास्थ्य शाखामा हेल्थ असिस्टेन्ट पचौँ भन्दा सिअहेब छैटौँ सिनियर रहने व्यवस्था । यसको असर हिजो सम्म चौथो तहमा पदाधिकारी रहेको सिअहेब छैटौँ अधिकृतमा समायोजन हुँदा जनस्वास्थ्य अधिकृत पद नाम पाएको सातौँ तहको प्राथमिक स्वास्थ्य केन्द्रमा पदगत भनेर हेल्थ असिस्टेन्ट पदमा र वर्षौँ देखि हे अ ५/ ६/ ७ मा कार्यरत सिअहेब छैटौँ सङ्घ ,प्रदेश र स्थानीयको प्राथमिक स्वास्थ्य केन्द्रमा पदगत भन्दै अहेब पदमा समायोजन गर्दा घटुवा महसुस हुनु ।

♦ अहेबको पदमा हेअ लाई समायोजन गर्नु : २०७५/९/२९ मा स्वीकृत दरबन्दी अनुसार समायोजन गरिएको छ । जहाँ ६ तह रिक्त भए ५ तह हेल्थ असिस्टेन्टबाट पूर्ति गरिने भनिएको छ भने ५ तह रिक्त भए ४ तह अहेब बाट पूर्ति गरिने भनिएको छ । सोही ५ तह भन्नाले ५ तहका अहेब/सि अहेब बुझिन्छ भनिएको छ । अहेब/सि अहेब भनिएको पदमा हेल्थ असिस्टेन्ट लाई समायोजन गर्दा अहेब/सि अहेब को पद रिक्त थोरै देखिदा ज्येष्ठ हुँदाहुँदै पूर्वको पश्चिम अनि दक्षिणको उत्तर समायोजन भएर ५० वर्ष काटेका पद नाम अहेबलाई काम गर्न समस्या अनि उर्जावान अहेब अनमी लाई वितृष्णा पैदा र हेल्थ असिस्टेन्टलाई घटुवा महसुस भएको ।

♦ स्वार्थ अनुकूलको पद सिर्जना : स्थानीय समायोजन गर्दा सी अहेब र हेल्थ असिस्टेन्ट ६ तहलाई अधिकृत पद सिर्जना गरिएको छ । अनमी ६ तहलाई अधिकृत नभनी अनमी भनिएको छ । अनमी ४ र ५ तहलाई पनि अनमी भनिएको छ । तर अहेब ४,५ र हेल्थ असिस्टेन्ट ५ तहलाई सहायक भनिएको छ । सङ्घ ,प्रदेश र स्थानीयको प्राथमिक स्वास्थ्य केन्द्रमा लोकसेवा सिफारिस हुँदा दिएको पद उल्लेख छ । यसरी विभेद गर्दा कर्मचारीको आत्मसम्मानमा ठेस पुगेको देखिन्छ ।

♦ दरबन्दी कटौती : आज भन्दा ५ वर्ष अघि ८२२ स्वास्थ्य चौकी भएकोमा हाल ४,०१७ स्वास्थ्य चौकी छन् । अहिले सम्म कार्यान्वयन भएको संरचनामा १ हेअ, २ अहेब (पहाडी र हिमाली जिल्लामा ) ३ अहेब (तराई र काठमाडौँ उपत्यकामा) र २ अनमीको व्यवस्था छ । चौथो तहमा नियुक्त अहेब अनमी ५ वर्षमा पाँचौँ र अर्को ८ वर्षमा छैटौँ हुने व्यवस्था छ । धेरै नयाँ स्वास्थ्य चौकी निर्माण हुँदा पदपूर्ति भएका अहेब अनमीको चौथो तहको दरबन्दी तहगत भनेर १ जना राख्दा फाजिल धेरै अहेब अनमी ४ तहका पर्नुपर्‍यो भने तराई र काठमाडौँ उपत्यका स्वास्थ्य चौकीमा ५ तह अनमी र पहाडी र हिमाली जिल्ला स्वास्थ्य चौकीमा ६ तह अनमी दरबन्दी हटाउँदा नचाहेको ठाउँमा समायोजन हुनु परेको छ । वैज्ञानिक दरबन्दी नहुँदाको परिणाम भए पनि दोष सफ्टवेयरलाई लगाइएको छ ।

♦ नेतृत्वको कमजोर निर्णय क्षमता : स्वास्थ्य मन्त्रालयको नेतृत्वले नयाँ दरबन्दी संरचना हेअ र सी अहेब विवादको समाधानको उपाय भनेका थिए तर कार्यान्वयन नहुँदै झन् समस्या निम्तयायो । यसले समग्र प्रणाली फेल गरायो ।

♦ लोकसेवा प्रक्रियाको विपरीत निर्णय :  स्वास्थ्य सेवामा समान तह र पदमा लोकसेवा दिन पाउने व्यवस्था छ । अहेब ५ तहबाट आन्तरिक लोकसेवा दिई हेअ भएका र लोकसेवा नदिएको वा दिएर पनि असफल भएकाको एउटै दरबन्दीमा समायोजन भएकाले निजामती सेवाको विशेषता योग्यता प्रणालीलाई खिल्ली उडायो भने हेअ ५/६/७ हिजो सम्म पदाधिकारी भई स्वास्थ्य चौकी प्रमुख भएकालाई विना प्रक्रिया र कारण उनीहरूका सहायक अहेब ४/५/६ मा पदाधिकारी भएकाको मातहतमा राख्ने गरी समायोजन गरियो ।

♦ तहगत प्रणालीको गलत व्याख्या : स्वास्थ्य सेवा ऐन २०५३ बनेदेखि स्वास्थ्य सेवा तहगत प्रणालीमा थियो । स्वास्थ्य सेवा फरक प्रकृतिको भएकाले लामो समय सम्म रहँदा नैराश्यता नआओस भनी यो प्रणाली ल्याइएको हो । सङ्घमा अरू सेवा , समूह श्रेणीगत हुँदा पनि स्वास्थ्य सेवा तहगत प्रणालीमा छ । पद लाई श्रेणीगत भनेर गरिएको जालसाझी हो । यस प्रणालीमा जुन तहबाट स्तरवृद्यि भए पनि जहाँबाट भएको हो सोही तहको काम गर्नु पर्छ । लोकसेवाबाट बाहेक पदपूर्ति गर्न पाइदैंन । स्वास्थ्य बाहेकको अन्य समूहमा पनि नासु पाँच वर्ष भन्दा कम काम गरेकालाई प्रदेश र स्थानीयमा पाँच तह नासु पाँच वर्ष भन्दा बढी काम गरेकालाई प्रदेश र स्थानीयमा छैटौँ तहमा समायोजन गरे पनि जिम्मेवारी एउटै हुन्छ । अधिकृत सरह मानिने सातौँ र आठौँ तहको दरबन्दी र जिम्मेवारी एउटै हो भने उपसचिव सरह मानिने नवौँ र दशौँको पनि जिम्मेवारी एउटै हुन्छ । स्वास्थ्य सेवामा पनि सङ्घ र प्रदेशमा यहीँ अनुसार राखिएको छ । स्थानीयमा फरक तहको फरक जिम्मेवारी र प्रक्रियाबिना पदपूर्ति गर्दा समस्या भएको हो । नगरपालिकामा अधिकृत ७ तह अधिकृत राखिनु र उपमहानगरपालिका महानगरपालिकामा अधिकृत ७/८ तह अधिकृत राखिनु भनेको जालझेल हो र फाइदा अनुसार व्याख्या हो । तहगत प्रणाली भन्दै पद नै स्वास्थ्यको स्थानीय तहमा नराख्न खोज्नु हास्यास्पद छ ।

पद र तह अनुसार धेरै समायोजनमा समस्या के के छन् त ?

क्र स पद र तह समस्याकारण
अहेब ४फाजिलदरबन्दी ९/२९मा कटौती
अनमी ४फाजिलदरबन्दी ९/२९मा कटौती
 अहेब ५रोजेको ठाउँ नपाउनुअहेबको पदमा हेअ ५समायोजन
 अनमी ५रोजेको ठाउँ नपाउनुदरबन्दि ९/२९मा कटौति
सिअहेब ६ पद नामरोजेको ठाउँ नपाउनुएउटा स्वा चौ मा ३ जना सम्म भएकोमा १ जना राख्नुको परिणाम
सिअहेब ६ पदस्थापितसङ्घ र प्रदेशमा घटुवा गरी समायोजनपदगत राखिनु
 हेअ ५स्थानीयमा घटुवा गरी समायोजन र पद सहायक बनाइएकोहेअ को सेवा सुविधा कटौती प्रयास
 हेब ५रोजेको ठाउँ नपाउनुदरबन्दी ९/२९मा कटौती
 जनस्वास्थ्य अधिकृत पद नाम प्रा स्वा के मा घटुवा गरी समायोजन पदगत राखिनु

कसरी समाधान गर्ने त

♦  फारम भर्दाको दरबन्दी अनुसार समायोजन गर्ने:  एउटा प्रकृतिको विज्ञापनमा छनोट प्रक्रिया निकालेर पछि फारम भरसकेपछि अर्को किसिमको छनोट प्रक्रिया अपनाउनु हदैँन । फारम भर्दा र समायोजन गर्दा फरक दरबन्दी संरचनाले कर्मचारीलाई फारम भर्दाको दरबन्दी संरचना अनुसार समायोजन गर्दा सबैलाई न्याय प्रदान गर्छ । पछि समयानुकूल संशोधन गर्न सकिन्छ । दुई चार जनाको स्वार्थले सिङ्गो सिस्टम फेल गराउन हुँदैन ।

♦ लोकसेवा दिन वञ्चित छैटौँ लाई विशेष पदस्थापन गर्ने : पाँचौँ तहले समान तहमा आन्तरिक लोकसेवा दिन पाउँदा र जेष्ठतामा समायोजन हुँदा सिअहेब छैटौँ तहले नपाउँदा राज्यबाट हेपिएको महसुस गरेका छन् । उनीहरूको सङ्ख्या २,००० जति छ । यो सङ्ख्या व्यवस्थापन नहुँदा स्वास्थ्य संस्थामा द्घन्द रहेको छ । १,२०० स्वास्थ्य चौकी यस आर्थिक वर्ष भित्र निर्माण गर्ने सरकारको लक्ष्य छ र भवन निर्माण भइरहेको छ भने ७५३ स्थानीय तहमा दरबन्दी थप भएको हुँदा व्यवस्थापन विशेष पदस्थापन मार्फत गर्न सकिन्छ । रिक्त पदमा हेअ पूर्ति गर्न सकिन्छ । आगामी वर्षमा २,००० बढी स्वा चौ स्थापना हुँदा नयाँ आउने हे अ लाई समेत सहज हुन्छ । द्घन्दरत दुवै पक्षलाई जीत महसुस हुन्छ । अन्य पदमा पनि सोही मुताबिक व्यवस्थापन गर्नुपर्छ । लोकसेवा पदपूर्ति निरन्तर हुन्छ । नत्र अहेब अनमी फा जिल भएको अवस्था अनि हेअ पदमा सिअहेब छैटौँ पद स्थापना गर्दा लोकसेवा खुल्ने सम्भावना नभई लोकसेवा तयारीमा रहेकालाई समेत मानसिक असर पर्छ । हेअले पनि पद अनुसारको जिम्मेवारी पाउँछन् ।

माथि उल्लिखित क्रियाकलाप अपनाएमा स्वास्थ्यको समायोजन पछि देखिएको समस्या हल गर्न गरिन्छ । कारण नबुझी सफ्टवेयरलाई दोष दिनु लाटी नाच्न जान्दिन आँगन टेढो हो । स्वास्थ्य सेवा बाहेक अन्यमा समस्या नदेखिनु , स्वास्थ्यमा पनि सातौँ तह माथि समस्या नआउनु , अपवाद बाहेक हेअ र स्टाफ नर्समा समेत ठाउँ रोजाइमा समस्या नआउनु तर अहेब र अनमी बढी पीडित हुनु भनेको दरबन्दी संरचना परिवर्तन मूल जड हो । छैटौँ तहलाई व्यवस्थापन गर्ने नाममा हतारको परिणाम हो । समायोजन संशोधन गरेमा वा अर्को लिस्ट निकालेमा यो कुरा बुझी अघि बढ्नु जरुरी छ । यति गर्दा पनि समस्या परे समायोजन शाखामा उजुरी दिन सक्छन् । नेतृत्वले हलो अड्काएर गोरु चुटी समाधान हुँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस