जनताको जलविद्युत्मा सभामुख महरा सहभागी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनताको जलविद्युत्मा सभामुख महरा सहभागी


प्रशासन संवाददाता

६ बैशाख २०७६, शुक्रबार


काठमाडौं । सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ ।

देशका महत्वपूर्ण पदमा आसिन भएका व्यक्तिले नै सो कार्यक्रममा सहभागी भई जनतालाई सहभागिताका लागि आग्रह गर्नुले पनि त्यसको महत्व बढ्दै गएको छ । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्ने र त्यसको प्रतिफलसमेत नेपाली नागरिकलाई नै दिने लक्ष्यका साथ सरकारले शुरु गरेको सो कार्यक्रममा सभामुख कृष्णबहादुर महरासमेत जोडिएका छन् ।

सभामुख महराले बिहीबार ग्लोबल आइएमइ क्यापिटलमा हितग्राही खाता खोले । जनताको जलविद्युत् कार्यक्रमको दोस्रो चरणमा आजदेखि साधारण शेयर बिक्री शुरु भएको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको शेयरसमेत सभामुख महराले खरीद गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सभामुख महराले जनताको जलविद्युत् कार्यक्रममा सहभागी भई साधारण शेयर खरीद गरेका हुन्।

पहिलो पटक साधारण शेयर खरीद समारोहमा सहभागी भएका महराले सरकारले नयाँ कार्यक्रम शुरु गरेकोमा खुसी व्यक्त गर्दै दूरदराजका नागरिकलाई समेत सहभागी हुने उपाय खोज्न आग्रह गरे ।

सभामुख महराले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भने, ‘यो असाध्यै राम्रो कार्यक्रम शुरु गरे । सबै नेपाली नागरिकलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने बारेमा उपयुक्त विधि र विकल्प पनि खोज्नु पर्दछ ।’

सभामुख महराले रसुवागढी जलविद्युत् कम्पनीको रु एक लाख बराबरको एक हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको रु ५० हजार बराबरको ५ सय कित्ता साधारण शेयर खरीद गरी शेयर बजारमा प्रवेश गरेका हुन् ।

यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि रसुवागढीमा रु १ लाख बराबरको १ हजार कित्ता र साञ्जेनको रु ५० हजार बराबरको ५ सय कित्ता बराबरको शेयरमा आवेदन दिएका छन् ।

मन्त्री वर्षमान पुनले पनि रसुवागढीमा रु १ लाख बराबरको १ हजार कित्ता र साञ्जेनमा रु ५० हजार बराबरको ५ सय कित्ता साधारण शेयरमा आवेदन दिएका छन् । । पूर्वसभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा रु १ लाख बराबरको एक हजार कित्ता र साञ्जेनमा रु ५० हजारको ५ सय कित्ता साधराण शेयर आवेदन दिएका छन् ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उनको धर्मपत्नी राधिका शाक्यले पनि शेयरमा आवेदन दिएका थिए । माथिल्लो त्रिशुली थ्री बीको शेयरमा आवेदन गरेका प्रधानमन्त्रीले २० कित्ता शेयर प्राप्त गरेका थिए ।

सोही कार्यक्रमअन्तर्गत आज दोस्रो चरणमा रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी रु १ अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेको छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रमअन्तर्गत विभिन्न १९ आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस