सहकारीहरूको साझा पेट्रोलपम्प बन्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सहकारीहरूको साझा पेट्रोलपम्प बन्यो


४ बैशाख २०७६, बुधबार


जिल्लाका २९६ सहकारीको लगानीमा भरतपुरको बाइपासरोडमा साझा पेट्रोलपम्पको निर्माणकार्य सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको जिल्ला सहकारी सङ्घको जग्गामा पेट्रोलपम्प निर्माण गरिएको हो । सङ्घले पम्प निर्माणको संयोजन गरेको छ ।

सङ्घका अध्यक्ष टीकाराम भट्टराईका अनुसार यही वैशाख ८ गतेबाट पम्प सञ्चालनमा आउने छ । पम्प निर्माणका लागि हालसम्म रु तीन करोड लगानी भइसकेको उनले बताए । सञ्चालनमा आउँदै गर्दा दुई ट्याङ्कर र तेल खरीद गर्दा लागत मूल्य करीब रु पाँच करोड पुग्ने उनले बताए ।

पेट्रोलपम्प निर्माण समितिका संयोजक भक्तिराम अधिकारीका अनुसार एउटा सहकारीको रु २५ हजारदेखि पाँच लाखसम्म शेयर रहेको छ । अत्याधुनिक प्रविधिबाट पम्प निर्माण गरेको बताउँदै उनले पेट्रोल र डिजेल गरी एक लाख चार हजार लिटर क्षमता रहेको बताए ।

एक बिघा क्षेत्रफलमा फैलिएको पम्पमा अपाङ्गमैत्री शौचालय, भान्छाघर, ग्रोसरी, ज्याकवास, हावा भर्ने ठाउँलगायत सबै सुविधा रहेको छ । सोही क्षेत्रमा २२ सटरसमेत निर्माण गरी यात्रुलाई सेवा दिन लागेको अधिकारीले बताए । एक वर्षअघि निर्माण थालिएकामा हालै मात्र आयल निगमद्वारा सञ्चालन अनुमति दिएपछि पम्प आउँदो साताबाट सञ्चालन गर्न लागिएको हो । निजी क्षेत्रका पेट्रोलपम्पको संस्थामा सदस्य नबन्ने र सकेसम्म सस्तो मूल्यमा इन्धन बिक्री गर्ने तयारी सङ्घले गरेको छ । चौबीसैँ घण्टा पम्प सञ्चालन गरिने जनाइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस