विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशत वृद्धि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशत वृद्धि


प्रशासन संवाददाता

३ बैशाख २०७६, मंगलबार


जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ ।

दादुराको २ वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लुएचओको भनाई छ ।

विश्वभरबाट सङ्कलित प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सन् २०१९ को पहिलो तीन महिनामा दादुराका बिरामी ३०० प्रतिशतले बढेको पाइयो, डब्लुएचओले भनेको छ । ‘विगत दुई वर्षदेखि नै दादुराका बिरामीको संख्या बढ्दै गएको पाइएको थियो, र त्यसैको निरन्तरता अहिले पनि देखिएको छ ।’

डब्लुएचओको वक्तव्यमा भनिएको छ, ‘सङ्कलित तथ्याङ्क प्रारम्भिक विवरण हो, तर यसले बढ्दो प्रवृत्तिलाई सङ्केत गरेको छ । धेरै देशमा दादुराका बिरामी निकै ठूलो संख्यामा देखिएका छन् । विश्वका सबैजसो क्षेत्रमा दादुराका बिरामी पाइएको छ ।’

यस वर्ष विश्वका १७० देशबाट सङ्कलित तथ्याङ्कमा १ लाख १२ हजार १६३ जनामा दादुरा पाइएको छ । गत वर्ष १६३ देशको तथ्याङ्कमा २८ हजार १२४ जनामा दादुरा देखिएको थियो ।

हावाबाट सङ्क्रमण हुने दादुराबाट मानिसमा ज्वरो आउने, खोकी लाग्ने र शरीरमा राता फोकाहरु उठ्ने गर्दछ । कतिपय अवस्थामा समयमै उपचार नभए घातक हुने गर्दछ । धेरै विकसित देशमा दादुरा रोग उन्मूलन भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार दादुरा विरुद्धको पहिलो खोप ८५ प्रतिशतले कमी भएको छ भने करिब ६७ प्रतिशतले मात्र दोस्रो खोप लिने गरेका छन् ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस